Siddartha Bank
Prabhu Mahalaxmi

बीमा क्षेत्रको सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिम मूल्याङ्कनका निष्कर्ष सार्वजनिक, संस्थागत सुशासन सुदृढ बनाउन निर्देशन

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 25 19:44
बीमा क्षेत्रको सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिम मूल्याङ्कनका निष्कर्ष सार्वजनिक, संस्थागत सुशासन सुदृढ बनाउन निर्देशन
United Ajod

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धीकरण, आतंकवादी क्रियाकलापमा वित्तीय लगानी तथा आमविनाशका हातहतियारको प्रसारमा वित्तीय लगानी निवारण (AML/CFT/CPF) सम्बन्धी राष्ट्रिय जोखिम मूल्याङ्कन (NRA) तथा बीमा क्षेत्रको क्षेत्रगत जोखिम मूल्याङ्कन (SRA) का प्रमुख निष्कर्ष सार्वजनिक गरेको छ।

Siddartha Bank
EBL
Nepal Life

प्राधिकरणले उक्त निष्कर्ष सरोकारवाला तथा सूचक संस्थाहरूसम्म पुर्‍याउने उद्देश्यले मंगलबार, मंसिर ८ गते ‘Dissemination of Key NRA and SRA Findings’ विषयक कार्यक्रम आयोजना गरेको हो। ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा सम्पन्न कार्यक्रममा बीमा क्षेत्रका नियामक, सरकारी निकाय तथा बीमकका प्रतिनिधिहरूको सहभागिता थियो।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले स्वागत मन्तव्य दिँदै नेपाललाई वित्तीय कारबाही कार्यदल (FATF) को ग्रे लिस्टबाट बाहिर निकाल्न बीमा क्षेत्रको क्षेत्रगत जोखिम मूल्याङ्कनका निष्कर्ष सरोकारवाला तथा सूचक संस्थाहरूसम्म पुर्‍याउनु महत्वपूर्ण रहेको बताए। उनले सम्पत्ति शुद्धीकरण निवारणलाई संस्थागत सुशासन र प्रतिष्ठासँग जोड्दै सञ्चालक समिति तथा प्रमुख कार्यकारी तहबाटै प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटाले नेपाललाई FATF को उच्च निगरानी सूची (Jurisdictions Under Increased Monitoring) बाट बाहिर निकाल्न सन् २०२७ जनवरीसम्म निर्धारित कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए। राष्ट्रिय जोखिम मूल्याङ्कन (NRA) २०२६ ले सम्पत्ति शुद्धीकरणसम्बन्धी समग्र जोखिम मध्यम उच्च (Medium High) देखाएको सन्दर्भमा उनले अन्तरनिकाय समन्वय, सूचना आदानप्रदान तथा संयुक्त निरीक्षणलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा बीमकका सम्पत्ति शुद्धीकरण निवारण उपसमितिका संयोजक तथा सञ्चालक र प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता थियो। कार्यक्रममा अर्थ मन्त्रालयको आर्थिक नीति तथा विश्लेषण महाशाखाका सहसचिव देवराज जोशी, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकाल र वित्तीय जानकारी इकाइ (FIU) का प्रमुख वासुदेव भट्टराईलगायतले मन्तव्य राखेका थिए।

कार्यक्रममा तीनवटा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिएको थियो। प्राधिकरणका उपनिर्देशक पदमप्रसाद सोडारीले बीमा क्षेत्रको क्षेत्रगत जोखिम मूल्याङ्कन (SRA) का प्रमुख निष्कर्ष प्रस्तुत गरेका थिए। त्यस्तै, सम्पत्ति शुद्धीकरणसम्बन्धी विज्ञ तथा नेपाल राष्ट्र बैंकका निर्देशक हरिकुमार नेपालले राष्ट्रिय जोखिम मूल्याङ्कन (NRA) का मुख्य निष्कर्षबारे विस्तृत प्रस्तुतीकरण दिएका थिए। वित्तीय जानकारी इकाइका प्रतिनिधि कमल पौडेलले goAML प्रणालीमार्फत पेस गर्नुपर्ने प्रतिवेदनसम्बन्धी विषयमा जानकारी गराएका थिए।

कार्यक्रममा प्रश्नोत्तर तथा अन्तरक्रिया सत्रसमेत सञ्चालन गरिएको थियो। उक्त सत्रमा नेपाल राष्ट्र बैंकका निर्देशक हरिकुमार नेपाल, वित्तीय जानकारी इकाइका प्रमुख वासुदेव भट्टराई, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकाल र प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी प्यानलिस्टका रूपमा सहभागी थिए। छलफलको सहजीकरण प्राधिकरणका उपनिर्देशक पदमप्रसाद सोडारीले गरेका थिए।

कार्यक्रमको समापन गर्दै प्राधिकरणका अध्यक्ष राजन विक्रम थापाले बीमा क्षेत्रलाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिए। उनले संस्थागत जोखिम मूल्याङ्कन नियमित रूपमा अद्यावधिक गर्ने, अनुपालन अधिकृतलाई आवश्यक स्वतन्त्रता तथा स्रोतसाधन उपलब्ध गराउने र कर्मचारीको क्षमता अभिवृद्धि गर्ने कार्यमा ध्यान दिनुपर्ने बताए।

त्यसैगरी, वास्तविक धनीको पहिचान तथा शंकास्पद कारोबार प्रतिवेदन (STR) प्रणालीलाई गुणस्तरीय र प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए। अनुपालनलाई केवल नियामकीय दायित्वका रूपमा सीमित नराखी संस्थागत संस्कारका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो।

अध्यक्ष थापाले NRA तथा SRA मार्फत पहिचान भएका क्षेत्रगत जोखिमको प्रभावकारी सम्बोधन र कार्यान्वयनमा जोड दिँदै संस्थागत सुशासन सुदृढ बनाउन बीमकका सञ्चालक समिति तथा उच्च व्यवस्थापनलाई जिम्मेवार हुन निर्देशन दिए। नेपाललाई FATF को ग्रे लिस्टबाट बाहिर निकाल्न सबै सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको पनि उनले बताए।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया