इन्द्र रिजालको दाबी विवादमा नेपाल लाइफः ‘चिकित्सकीय राय र कानुनी प्रक्रिया अनुसार निर्णय गरेका हौँ’
- BFIS News
- 2026 Nov 25 20:21
काठमाडौं। नेपाल लाइफमा बीमा गरेर घातक रोग (Critical Illness–CI) अन्तर्गत १५ लाख रुपैयाँ दाबी भुक्तानी नपाएको भन्दै बीमित इन्द्र बहादुर रिजालले सर्वोच्च अदालतमा विचाराधिन मुद्दाको बर्खिलापमा गएर कम्पनीका लाखौ बीमित समक्ष भ्रम फैलाउने काम गरेका छन्। कम्पनीलाई अनावश्यक सोर्स फोर्स मार्फत दवाव दिदै आएका रिजालले विभिन्न सञ्चार माध्यम मार्फत कम्पनीको छवीमै प्रभाव पार्ने गरी दुष्प्रचार गरिरहेका छन्।
स्याङ्जाका इन्द्र बहादुर रिजालले १५ लाख रुपैयाँको बीमा दाबी भुक्तानी नपाएको विषयमा नकारात्मक प्रचार हुन थाले पछि कम्पनीले आफ्नो धारणा समेत सार्वजनिक गरिसकेको छ। कम्पनीले व्यक्तिगत आग्रह वा दबाबका आधारमा नभई चिकित्सकीय राय, बीमालेखमा उल्लिखित प्रावधान र कानुनी प्रक्रियाका आधारमा यो निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले बताए।
पराजुलीका अनुसार बीमा दाबी भुक्तानीको विषयमा कम्पनीले मनोमानी निर्णय गरेको नभई उपलब्ध कागजात, उपचारसम्बन्धी विवरण, अनुसन्धानबाट प्राप्त प्रतिवेदन र विशेषज्ञ चिकित्सकको रायलाई आधार बनाएको हो। विशेषगरी Critical Illness सम्बन्धी दाबीमा सामान्य बीमा दाबीभन्दा फरक प्रकृतिको प्राविधिक मूल्याङ्कन आवश्यक पर्ने भएकाले कम्पनीले आफ्नै Panel of Doctors मार्फत सम्बन्धित रोग र उपचारको अवस्थाबारे राय लिने गरेको उनले स्पष्ट पारेका छन्।
२०७२ मा बीमा, २०७७ मा घातक रोग सुविधा थप
उपलब्ध विवरणअनुसार स्याङ्जाका इन्द्र बहादुर रिजालले २०७२ असार २२ गते नेपाल लाइफ इन्स्योरेन्समा १५ लाख रुपैयाँको जीवन बीमा गराएका थिए। त्यसको पाँच वर्षपछि अर्थात् २०७७ असार ३० गते उनले बीमालेखमा घातक रोग (Critical Illness) सुविधा थप गरेका थिए।
२०७८ पुस ३० गते हृदयघात भएपछि उनले उपचारका क्रममा Coronary Angioplasty गराएका थिए। त्यसपछि उनले घातक रोग सुविधाअन्तर्गत बीमांक बराबरको १५ लाख रुपैयाँ भुक्तानी माग गर्दै कम्पनीमा दाबी पेस गरेका थिए।
तर कम्पनीले उक्त दाबीलाई बीमालेखमा उल्लिखित घातक रोगसम्बन्धी प्रावधान र अपवाद (Exclusion) का आधारमा भुक्तानी गर्न अयोग्य ठहर्याएको थियो। यही निर्णयबाट सुरु भएको विवाद अहिले न्यायिक प्रक्रियासम्म पुगेको हो।
चिकित्सकीय रायका आधारमा दाबी अस्वीकृत गरिएको कम्पनीको दाबी
सीईओ पराजुलीका अनुसार Critical Illness सम्बन्धी दाबीको मूल्याङ्कन गर्दा कम्पनीले आफैँ रोगको प्रकृति र उपचारको प्राविधिक पक्षको व्याख्या गर्नेभन्दा विशेषज्ञ चिकित्सकको रायलाई प्राथमिकता दिने गरेको छ।
उनले भने, ‘म आफैँ चिकित्सकीय विशेषज्ञ होइन। त्यसैले CI को दाबी आएपछि हामीले आफ्नै Panel of Doctors मार्फत सम्बन्धित केसमा राय लिने गर्छौं। चिकित्सकले दिएको रायका आधारमा नै दाबी स्वीकृत वा अस्वीकृत गर्ने निर्णय हुन्छ।’
रिजालको दाबीमा पनि चिकित्सकबाट प्राप्त रायले उक्त अवस्थालाई बीमालेखमा समेटिएको घातक रोगको भुक्तानीयोग्य श्रेणीमा नराखेको कम्पनीको भनाइ छ। कम्पनीका अनुसार सम्बन्धित चिकित्सकीय मूल्याङ्कनमा उक्त अवस्थालाई बीमालेखको Exclusion मा पर्ने वर्गसँग सम्बन्धित ठहर गरिएको थियो।
पराजुलीले उपलब्ध चिकित्सकीय रायलाई बेवास्ता गरेर कम्पनीले आफैँ फरक निर्णय गर्न नसक्ने तर्क गरेका छन्। उनका अनुसार बीमालेखमा स्पष्ट रूपमा उल्लेख गरिएका अपवाद र भुक्तानीका सर्तहरू सबै बीमितका हकमा समान रूपमा लागू हुनुपर्छ।
‘त्यो समयमा उपलब्ध कागजात र चिकित्सकको प्राविधिक रायका आधारमा संस्थाले निर्णय गरेको हो। व्यक्तिगत रूपमा कसैलाई दाबी नदिने भन्ने उद्देश्य थिएन। विशेषज्ञले दिएको रायलाई संस्थाले सम्मान गरेको हो,’ उनको भनाइ छ।
दाबी नपाए पछि कम्पनीलाई अनावश्यक दबाब
रिजालले दाबी नपाए पछि आफु संलग्न राजनितिक दलदेखि उच्च पदस्थ व्यक्तिहरु मार्फत दवाव र प्रभावमा पार्न धेरै प्रयत्न गरेका थिए। नियमले पाउने दाबीमा अनावश्यक हर्कतले पनि उनको दाबीमा देखिएको नियतमा संका सिर्जना गरेको छ। बीमितको पृष्ठभूमि र सार्वजनिक रूपमा विषयले पाएको चर्चाले झन् संका भएको हो। यस्ता दबाबभन्दा बीमालेखका प्रावधान र प्राविधिक मूल्याङ्कनलाई कम्पनीले प्राथमिकता दिएको जनाएको छ।
यदि बीमा कम्पनीले कुनै पनि दाबीमा व्यक्तिगत सम्बन्ध, सामाजिक प्रभाव, राजनीतिक पहुँच वा सार्वजनिक दबाबका आधारमा निर्णय गर्न थाल्यो भने बीमाको मूल सिद्धान्त नै प्रभावित हुन्छ। एउटै प्रकृतिको दाबीमा फरक–फरक मापदण्ड अपनाउन नमिल्ने भएकाले स्थापित प्रक्रियालाई नै पछ्याएको कम्पनीको तर्क छ।
‘१० ठाउँबाट दबाब आएर कुनै दाबी भुक्तानी गर्नुपर्ने अवस्था बन्यो भने संस्थालाई पनि कतै केही प्राविधिक समस्या त छैन भन्ने प्रश्न उठ्न सक्छ। ग्राहकलाई भुक्तानी दिनु नै संस्थाको प्राथमिकता हो। तर त्यसका लागि बीमालेख र प्राविधिक आधार पनि मिल्नुपर्छ,’ पराजुलीले भने।
अदालतको निर्णय स्वीकार गर्ने प्रतिबद्धता
कम्पनीको निर्णयप्रति असहमति जनाउँदै रिजालले न्यायिक प्रक्रिया अघि बढाएका छन्। उपलब्ध विवरणअनुसार बीमा प्राधिकरणबाट कम्पनीको पक्षमा निर्णय नभएपछि उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म विवाद पुगेको छ। सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको र सुनुवाइ हुन बाँकी रहेको कम्पनीले जनाएको छ।
सिइओ पराजुलीका अनुसार कम्पनीले कानुनी प्रक्रियाबाट बाहिर गएर कुनै निर्णय गरेको छैन। बीमितले आफ्नो दाबीलाई कानुनी रूपमा चुनौती दिन पाउने अधिकारलाई कम्पनीले सम्मान गरेको छ। त्यसैगरी अदालतबाट अन्तिम निर्णय आएपछि त्यसलाई कार्यान्वयन गर्न पनि कम्पनी प्रतिबद्ध रहेको उनले स्पष्ट पारेका छन्।
‘दाबी दिने वा नदिने भन्ने विषयमा संस्थाको आफ्नै मनमानी अधिकार हुँदैन। कानुन र प्रक्रियाअनुसार अघि बढ्ने हो। अदालतबाट अन्तिम निर्णय जे आउँछ, संस्थाले त्यसलाई स्वीकार गर्छ,’ पराजुलीले भने।
उनको तर्कमा, अदालतमा विचाराधीन विषयलाई अन्तिम निर्णय नआउँदै कम्पनीले गलत गरेको निष्कर्षमा पुग्नु उचित हुँदैन। कम्पनीले कानुनी प्रक्रियालाई चुनौती दिएको नभई आफ्नो निर्णयको औचित्य कानुनी माध्यमबाट परीक्षण गराइरहेको हो।
९९.१३ प्रतिशत दाबी भुक्तानी
एउटा दाबी विवादलाई आधार बनाएर समग्र संस्थाको दाबी भुक्तानी अभ्यासमाथि प्रश्न उठाउनु उचित नहुने पराजुलीको भनाइ छ। उनले नेपाल लाइफको समग्र दाबी भुक्तानीको अवस्थालाई हेर्नुपर्नेमा जोड दिएका छन्।
उनका अनुसार कम्पनीको दाबी भुक्तानी अनुपात ९९.१३ प्रतिशत रहेको छ। त्यस्तै, कम्पनीमा भुक्तानीका लागि प्राप्त हुने दाबीमध्ये करिब ८५ प्रतिशत दाबी १५ दिनभित्रै फर्छ्योट हुने गरेको उनले जानकारी दिए।
यसले कम्पनीले दाबी भुक्तानीलाई प्राथमिकतामा राखेर काम गरिरहेको देखाउने उनको तर्क छ। उनका अनुसार कुनै एउटा दाबीमा बीमालेखको अपवाद वा प्राविधिक आधारका कारण विवाद उत्पन्न हुँदैमा समग्र कम्पनीले बीमितप्रति जिम्मेवारी पूरा नगरेको निष्कर्ष निकाल्न मिल्दैन।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)









प्रतिक्रिया