जीवन बीमा कम्पनीहरूले प्रवाह गरे ९५ अर्ब ८३ करोड रुपैयाँ बीमालेख धितो कर्जा
- BFIS News
- 2026 Nov 26 19:07
काठमाडौं, १० मंसिर । जीवन बीमितले बीमालेख धितो राखेर लिने कर्जा ९५ अर्ब रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमाससम्म १३ वटा जीवन बीमा कम्पनीले ९५ अर्ब ८३ करोड ३८ लाख रुपैयाँ बीमालेख धितो कर्जा प्रवाह गरेका हुन् ।
जीवन बीमालेख बीमितका लागि महत्वपूर्ण वित्तीय साधनका रूपमा रहेको छ । बीमालेख धितो राखेर बीमितले सम्बन्धित बीमा कम्पनीबाट सहज रूपमा कर्जा लिन सक्छन् । बीमालेखको चुक्ता मूल्यका आधारमा बीमितले प्राप्त गर्ने कर्जाको सीमा निर्धारण हुन्छ ।
बीमकले बीमालेखअन्तर्गत पूरा तीन वर्षको बीमाशुल्क प्राप्त गरी बीमा प्रारम्भ मितिबाट तीन वर्ष पूरा भएपछि मात्रै बीमालेख धितोमा कर्जा सुविधा उपलब्ध गराउन सक्छन् । एकल बीमाशुल्क भुक्तानी गरी खरिद गरिएका बीमालेखमा पनि तीन वर्षको अवधि पूरा भएपछि मात्रै यस्तो कर्जा लिन सकिन्छ ।
जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तसम्म १३ वटा कम्पनीले ९५ अर्ब २९ करोड ८७ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको समीक्षा अवधिमा यस्तो कर्जा ०.५६ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा ११ वटा कम्पनीको बीमालेख धितो कर्जा बढेको छ भने तीनवटाको घटेको छ । सर्वाधिक कर्जा प्रवाह गर्नेमा नेपाल लाइफ रहेको छ भने कर्जा वृद्धिदरका आधारमा आइएमई लाइफ अगाडि रहेको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्म नेपाल लाइफले ३४ अर्ब ७० करोड २९ लाख रुपैयाँ बीमालेख धितो कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३५ अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको कर्जा प्रवाह १.२७ प्रतिशतले घटेको हो ।
त्यस्तै, दोस्रो धेरै कर्जा प्रवाह गर्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) रहेको छ । कम्पनीले अघिल्लो वर्षको असोज मसान्तसम्म २१ अर्ब १४ करोड २१ लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा चालु आर्थिक वर्षको समीक्षा अवधिमा ६.८८ प्रतिशतले घटेर १९ अर्ब ६८ करोड ७२ लाख रुपैयाँमा सीमित भएको छ ।
तेस्रो स्थानमा रहेको नेसनल लाइफले चालु आर्थिक वर्षको असोज मसान्तसम्म १२ अर्ब ४७ करोड ५१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १२ अर्ब ४७ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको कर्जा प्रवाह ०.०२ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा सबैभन्दा कम कर्जा प्रवाह गर्नेमा रिलायबल नेपाल लाइफ रहेको छ । कम्पनीले ७० करोड ७६ लाख रुपैयाँ बीमालेख धितो कर्जा प्रवाह गरेको छ ।
कर्जा वृद्धिदरका आधारमा भने आइएमई लाइफ अगाडि रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म १ अर्ब ४० करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको कर्जा प्रवाह २८.२२ प्रतिशतले बढेको हो ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)










प्रतिक्रिया