Siddartha Bank
Prabhu Mahalaxmi

बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरणको जोखिम मध्यम, कार्यान्वयनमा कमजोरी रहेको निष्कर्ष

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 26 10:50
बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरणको जोखिम मध्यम, कार्यान्वयनमा कमजोरी रहेको निष्कर्ष
United Ajod

काठमाडौं, १० मंसिर । नेपाल बीमा प्राधिकरणले राष्ट्रिय जोखिम मूल्यांकन (एनआरए) तथा बीमा क्षेत्रको क्षेत्रगत जोखिम मूल्यांकन (एसआरए) का प्रमुख निष्कर्ष सार्वजनिक गर्ने उद्देश्यले ‘डिसेमिनेसन अफ एनआरए एन्ड एसआरए फाइन्डिङ्स’ विषयक कार्यक्रम सम्पन्न गरेको छ।

 

Siddartha Bank
EBL
Nepal Life

प्राधिकरणको ललितपुर, कुपन्डोलस्थित केन्द्रीय कार्यालयमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटाको उपस्थिति थियो। अतिथिका रूपमा अर्थ मन्त्रालयको आर्थिक नीति तथा विश्लेषण महाशाखाका सहसचिव देवराज जोशी, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकाल र वित्तीय जानकारी इकाइ (एफआईयू) का प्रमुख वासुदेव भट्टराईको उपस्थिति थियो।

कार्यक्रममा बीमकको सम्पत्ति शुद्धीकरण निवारण उपसमितिका संयोजक (सञ्चालक), प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बीमा प्राधिकरणका व्यवस्थापन तहका कर्मचारीहरूको सहभागिता थियो।

नेपाल एफएटीएफको ग्रे लिस्टबाट बाहिरिन राष्ट्रिय जोखिम मूल्यांकन २०८३ का निष्कर्षहरू सरोकारवाला तथा सूचक संस्थाहरूसम्म पुर्‍याउनु महत्वपूर्ण रहेको प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बताए। सम्पत्ति शुद्धीकरण निवारणलाई अनुपालन शाखामा मात्र सीमित नराखी संस्थागत सुशासन र प्रतिष्ठासँग जोड्दै सञ्चालक समिति तथा प्रमुख कार्यकारी तहबाट प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै उनले कार्यक्रमको उद्घाटन तथा स्वागत मन्तव्य व्यक्त गरेका थिए।

प्रस्तुतीकरण सत्रअन्तर्गत प्राधिकरणका उपनिर्देशक पदमप्रसाद सोडारीले बीमा क्षेत्रगत जोखिम मूल्यांकन (एसआरए) का प्रमुख निष्कर्षहरू प्रस्तुत गरेका थिए। प्रस्तुतिमा बीमा क्षेत्रको एसआरएअनुसार बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिम मध्यम (०.४८) रहेको र उक्त जोखिम न्यूनीकरण गर्ने पर्याप्त कानुनी व्यवस्था भए पनि कार्यान्वयनमा कमजोरी रहेको उल्लेख गरिएको थियो।

यसका साथै सञ्चालक समिति तथा उच्च व्यवस्थापनले राष्ट्रिय तथा क्षेत्रगत जोखिम मूल्यांकन (एनआरए/एसआरए) अनुरूप संस्थागत जोखिम मूल्यांकन स्वीकृत गर्ने, स्वतन्त्र तथा स्रोतसाधनयुक्त एएमएल विभागको व्यवस्था गर्ने र जोखिमको नियमित अनुगमन गर्नुपर्नेमा जोड दिइएको थियो।

त्यसैगरी एएमएल विज्ञ एवं नेपाल राष्ट्र बैंकका निर्देशक हरिकुमार नेपालले राष्ट्रिय जोखिम मूल्यांकन (एनआरए) का मुख्य निष्कर्षहरूबारे विस्तृत प्रस्तुतीकरण दिएका थिए। प्रस्तुतीकरणमा बीमा क्षेत्र मध्यम जोखिममा रहेको र बीमा क्षेत्रलाई लिगल भेहिकलका रूपमा प्रयोग गर्न सक्ने जोखिम उच्च मध्यम रहेको उल्लेख गरिएको थियो।

त्यसैगरी वित्तीय जानकारी इकाइ (एफआईयू–नेपाल) का प्रतिनिधि कमल पौडेलले गोएएमएल प्रणालीमार्फत प्रतिवेदन, एसटीआर, टीटीआरलगायतका विषयमा स्पष्ट पारेका थिए।

कार्यक्रमको प्रश्नोत्तर तथा अन्तरक्रिया सत्रमा नेपाल राष्ट्र बैंकका निर्देशक हरिकुमार नेपाल, वित्तीय जानकारी इकाइका प्रमुख वासुदेव भट्टराई, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकाल तथा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी प्यानलिस्टका रूपमा सहभागी थिए। उक्त सत्रको मोडरेटर प्राधिकरणका उपनिर्देशक पदमप्रसाद सोडारी रहेका थिए।

कार्यक्रममा प्रस्तुत निष्कर्ष तथा छलफलका क्रममा बीमा क्षेत्रमा समग्र जोखिम मध्यम रहे पनि एकल बीमाशुल्क, अग्रिम भुक्तानी, सीमित अवधिको भुक्तानी तथा सावधिक जीवन बीमामा औँल्याइएका जोखिमप्रति विशेष सतर्कता अपनाउनुपर्नेमा जोड दिइयो। ग्राहकको वास्तविक धनी तथा उच्च पदस्थ व्यक्तिको पहिचान, जोखिममा आधारित ग्राहक पहिचान तथा निरन्तर अनुगमन, प्रभावकारी आन्तरिक नियन्त्रण, गुणस्तरीय शंकास्पद कारोबार प्रतिवेदन र नियामकीय निर्देशनको प्रभावकारी कार्यान्वयनलाई थप सुदृढ गर्नुपर्ने विषयमा छलफल भएको थियो।

कार्यक्रममा वित्तीय जानकारी इकाइका प्रमुख वासुदेव भट्टराईले नेपालको तेस्रो राष्ट्रिय जोखिम मूल्यांकनले सम्पत्ति शुद्धीकरणको समग्र जोखिम मध्यम–उच्च देखाएको उल्लेख गर्दै ग्रे लिस्टबाट बाहिरिन सबै सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकालले एनआरए/एसआरएबाट क्षेत्रगत जोखिम पहिचान गरिसकेपछि त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने र कर्पोरेट गभर्नेन्सलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए।

अर्थ मन्त्रालयका सहसचिव देवराज जोशीले सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिम न्यूनीकरणका लागि नियामक निकायको प्रभावकारी भूमिका, बीमा कम्पनीका सञ्चालक समिति तथा उच्च व्यवस्थापनको जवाफदेहिता र जोखिममा आधारित सुपरिवेक्षण, अनुगमन एवं परिपालन प्रणाली सुदृढ गर्नुपर्नेमा जोड दिए।

त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एवं समन्वय समितिका अध्यक्ष पुष्कर सापकोटाले नेपाल एफएटीएफको बढी निगरानी सूचीबाट बाहिरिन सन् २०२७ जनवरीसम्म तोकिएको कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए। राष्ट्रिय जोखिम मूल्यांकन २०८३ ले सम्पत्ति शुद्धीकरणको समग्र जोखिम मध्यम–उच्च देखाएको सन्दर्भमा अन्तरनिकाय समन्वय, सूचना आदानप्रदान तथा संयुक्त निरीक्षणलाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।

कार्यक्रमको समापन गर्दै बीमा प्राधिकरणका अध्यक्ष राजन विक्रम थापाले संस्थागत जोखिम मूल्यांकनलाई अद्यावधिक गर्ने, कार्यान्वयन अधिकृतलाई आवश्यक स्वतन्त्रता तथा स्रोतसाधन उपलब्ध गराउने, कर्मचारीको क्षमता अभिवृद्धि गर्ने र वास्तविक धनीको पहिचान तथा गुणस्तरीय एसटीआर प्रणालीलाई प्रभावकारी बनाउने कार्ययोजना कार्यान्वयन गर्न बीमा क्षेत्रलाई निर्देशन दिए। उनले परिपालनलाई केवल नियामकीय दायित्वका रूपमा नभई संस्थागत संस्कारका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया