Siddartha Bank
Prabhu Mahalaxmi

भारतमा बीमा कम्पनीको कमिसन खर्च बढ्दै, नाफामा दबाब

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 26 13:30
भारतमा बीमा कम्पनीको कमिसन खर्च बढ्दै, नाफामा दबाब
United Ajod

काठमाडौं, १0 मंसिर । भारतका निजी बीमा कम्पनीहरूको कमिसन खर्च प्रिमियम आम्दानीभन्दा तीव्र गतिमा बढिरहेको छ । भारतीय रिजर्भ बैंकका अनुसार यसले बीमा कम्पनीहरूको नाफामा दबाब सिर्जना गरिरहेको छ । साथै, ग्राहकको आवश्यकताअनुसारका बीमा उत्पादन बिक्री नहुने जोखिमसमेत बढ्दै गएको छ ।

 

Siddartha Bank
EBL
Nepal Life

भारतीय बीमा नियामक तथा विकास प्राधिकरण (आईआरडीएआई) ले बीमालाई किफायती बनाउने र ग्राहकको हित संरक्षण गर्ने उद्देश्यले बिक्री तथा सेवा प्रणालीमा सुधार गर्न खोजेको छ । यसका लागि प्राधिकरणले गत सोमबार प्रस्तावित सुधारहरूको समीक्षा गर्न ६ सदस्यीय विशेषज्ञ समिति गठन गरेको छ ।

सरकारी स्वास्थ्य कार्यक्रम आयुष्मान भारतका संस्थापक प्रमुख कार्यकारी अधिकृत डा. इन्दु भूषणलाई समितिको अध्यक्ष नियुक्त गरिएको छ । समितिलाई डिसेम्बर ३१ सम्ममा सुझावसहितको प्रतिवेदन पेस गर्न भनिएको छ ।

ग्राहकले बीमा सुरक्षणका लागि कम्पनीलाई तिर्ने रकमलाई प्रिमियम भनिन्छ भने बीमा बिक्री गरेबापत एजेन्ट तथा मध्यस्थकर्ताले प्राप्त गर्ने भुक्तानीलाई कमिसन भनिन्छ ।

भारतीय रिजर्भ बैंकका अनुसार सन् २०२१/२२ देखि २०२५/२६ सम्म प्रिमियम आम्दानी औसत वार्षिक ९.९ प्रतिशतका दरले बढ्ने अनुमान छ । यस अवधिमा प्रिमियम आम्दानी भारु १३.३० लाख करोड पुग्ने प्रक्षेपण गरिएको छ ।

यस अवधिमा निजी जीवन बीमा कम्पनीहरूको प्रिमियम आम्दानीको तुलनामा कमिसन खर्चको अनुपात झन्डै दोब्बर भएको छ । तर, सञ्चालन खर्चको अनुपात भने लगभग स्थिर रहेको छ । निजी निर्जीवन बीमा कम्पनीहरूमा पनि कमिसन खर्चको अनुपात बढेको छ । सरकारी स्वामित्वका निर्जीवन बीमा कम्पनीहरूको सञ्चालन खर्चसमेत गत आर्थिक वर्षमा बढेको छ ।

सेप्टेम्बर २३ मा सार्वजनिक परामर्शपत्रअनुसार बीमा बिक्रीका लागि गरिने कुल भुक्तानी अतिरिक्त लाभसहित आधारभूत कमिसनभन्दा ३० देखि ६० प्रतिशत बढी छ । यसका साथै बीमा वितरण प्रणाली जटिल रहेको र पारदर्शिताको अभाव देखिएको उल्लेख गरिएको छ ।

प्रस्तावित सुधारअनुसार जीवन बीमामा व्यवस्थापन खर्चको सीमा दुई वर्षभित्र प्रत्यक्ष प्रिमियम आम्दानीको १५ प्रतिशत र पाँच वर्षभित्र १२.५ प्रतिशतमा झार्ने प्रस्ताव गरिएको छ । त्यस्तै, निर्जीवन बीमामा हालको ३० प्रतिशत खर्च सीमा पाँच वर्षभित्र २० प्रतिशतमा घटाउने प्रस्ताव छ । यद्यपि, यी दुई व्यवस्थामा खर्च गणनाको आधार फरक रहेको छ ।

बीमा तथा सेवाको प्रकारअनुसार कमिसनको सीमा निर्धारण गर्ने, खर्चसम्बन्धी विवरण सार्वजनिक गर्नुपर्ने र लागत गणनाको लेखापरीक्षण गर्ने प्रस्ताव पनि अघि सारिएको छ । यसबाहेक ग्राहकको आवश्यकता मूल्यांकन गरेर मात्रै बीमा पोलिसी बिक्री गर्ने तथा अनुपयुक्त पोलिसी बिक्री गरेको अवस्थामा कमिसन फिर्ता गराउने प्रस्ताव गरिएको छ । यद्यपि, खर्च घट्दैमा बीमाको प्रिमियम पनि घट्ने निश्चित भने छैन ।

कमिसनमा लगाइने सीमाले बीमा एजेन्टहरूको आम्दानी घटाउन सक्ने जोखिम पनि छ । भारतीय बीमा दलाल संघ (आईबीएआई) ले केही मध्यस्थकर्ताको आम्दानी ६० देखि ७० प्रतिशतसम्म घट्न सक्ने र करिब १० लाख रोजगारी जोखिममा पर्न सक्ने आशंका व्यक्त गरेको छ । नयाँ ग्राहक पाउन कठिन भएमा साना तथा नयाँ बीमा कम्पनीहरूको आम्दानी र प्रतिस्पर्धात्मक क्षमतासमेत प्रभावित हुन सक्ने देखिएको छ ।

भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा बीमा प्रिमियमको हिस्सा आर्थिक वर्ष २०२४/२५ मा ३.७ प्रतिशत रहने अनुमान गरिएको थियो । ग्रामीण क्षेत्र तथा साना सहरहरूमा बीमा पहुँच विस्तार गर्ने र ‘बीमा सुगम’ अनलाइन प्रणालीमार्फत पोलिसी तुलना तथा सेवा प्राप्त गर्न सहज बनाउने प्रस्ताव पनि अघि सारिएको छ ।

अक्टोबर ३१ सम्म ३२ वटा प्रश्नको जवाफमा १३ हजारभन्दा बढी व्यक्तिबाट करिब २ लाख १८ हजार प्रतिक्रिया प्राप्त भएका थिए । विशेषज्ञ समितिले रोजगारीमा पर्न सक्ने प्रभाव, कम प्रिमियमका पोलिसीमा कमिसन सीमा, साना व्यवसायलाई सहयोग, ठूला व्यावसायिक बीमा कम्पनीमा सेवा शुल्क तथा सुधारको चरणबद्ध कार्यान्वयन प्रक्रियालगायत विषयमा समीक्षा गर्नेछ ।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया