वित्तीय कारबाही कार्यदल र अनुगमन सूची (ग्रे लिस्ट), बासुदेव भट्टराईको लेख
- बासुदेव भट्टराई
- 2026 Nov 26 19:52
विश्वव्यापी रूपमा सम्पत्ति शुद्धीकरण (मुद्रा निर्मलीकरण) र आतङ्कवादी कार्यमा वित्तीय लगानीको निगरानी गर्ने एक अन्तर-सरकारी संस्था वित्तीय कारवाही कार्यदल (फाइनान्सियल एक्सन टास्क फोर्स (FATF) हो। यसले गैरकानुनी गतिविधिहरू र त्यस्ता गतिविधिले समाजमा निम्त्याउने हानिलाई रोक्नका लागि अन्तर्राष्ट्रिय मापदण्डहरू जारी गर्दछ जसलाई एफएटिएफका सिफारिस पनि भनिन्छ । कुनै पनि देशमा यी सिफारिसको अनुपालनमार्फत ती देशका विधायिकी तथा नियामकीय सुधार गर्ने र मुद्रा निर्मलीकरण र आतङ्कवादी कार्यमा वित्तीय लगानी निवारणका क्षेत्रमा उच्च राजनीतिक इच्छाशक्तिसमेत जागरुक गराउँदछ । यसरी यस संस्थाको मुख्य काम विशेषतः तीन मुख्य कार्य जस्तैः सम्पत्ति शुद्धीकरण (मुद्रा निर्मलीकरण) निवारण, आतङ्ककारी कार्यमा वित्तीय लगानी नियन्त्रण र आम विनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी नियन्त्रणसँग सम्बन्धित विश्वव्यापी मापदण्ड विकास गर्ने (International Standard Setter) र त्यसको प्रभावकारी पालना भए नभएको यकिन गर्नु रहेको छ।
एफएटिएफ (FATF) सन् १९८९ मा समूह ७ (G7) देशको सक्रियतामा स्थापना भएको हो। यस संस्थाको उद्देश्य गैरकानुनी क्रियाकलापवाट आर्जित रकम र आतङ्ककारी गतिविधिमा वित्तीय लगानीबाट अन्तर्राष्ट्रिय वित्तीय प्रणालीलाई जोगाउनका लागि वित्तीय इमानदारिता र वित्तीय स्थायित्वलाई मजबुत बनाउन आवश्यक मानक, सिफारिस जारी गर्ने र सदस्य राष्ट्रमा त्यसको कार्यान्वयनका प्रभावकारिताको मूल्याङ्कन गर्नु रहेको पाइन्छ । विश्वका सबै मुलुक यसका सदस्य छैनन् । युरोपियन युनियन र गल्फ कोअपरेसन काउन्सिलसमेत गरी ४० सदस्य रहेको उक्त संस्थाले गतवर्ष रसियन फेडेरेसनको सदस्यता निलम्बनमा राखेको छ। संसारभरका देशमा यसले जारी गरेका सिफारिस कार्यान्वयनका लागि यो संस्था जस्तै ( देहाय बमोजिमका ९ संस्थाहरू क्षेत्रीय निकायका रूपमा स्थापना भई काम गरिरहेका छन् । यी संस्थालाई FATF-Style Regional Body (FSRB) पनि भनिन्छ ।
(१) एसिया प्यासिफक ग्रुप अन मनी लाउन्डरिङ (Asia Pacific Group on Money Laundering-APG),
(२) युरासियन ग्रुप ((Eurasian Group on Combating Money Laundering and Financing of Terrorism-EAG))
(३) क्यारेबियन फाइनान्सियल एक्सन टास्क फोर्स (Caribbean Financial Action Task Force-CFATF),
(४) कमिटी अफ एक्सपर्ट अन द इभ्यालुएसन अफ एन्टी-मनी लाउन्डरिङ मिजर्स (Committee of Experts on the Evaluation of Anti-Money Laundering Measures-MONEYVAL),
(५) इस्टर्न एन्ड साउदर्न अफ्रिका एन्टी-मनी लाउन्डरिङ ग्रुप (Estern and Southern Africa Anti-Money Laundering Group-ESAAMLG),
(६) फाइनान्सियल एक्सन टास्क फोर्स अफ ल्याटिन अमेरिका (Financial Action Task Force of Lating America-GAFILAT),
(७) एक्सन ग्रुप अगेन्स्ट मनि लाउन्डरिङ इन सेन्ट्रल अफ्रिका (Action Group against Money Laundering in Central Africa-GABAC),
(८) इन्टर गभर्नमेन्टल एक्सन ग्रुप अगेन्स्ट मनी लाउन्डरिङ इन वेस्ट अफ्रिका (Inter-Governmental Action Group against Money Laundering in West Africa-GIABA) र
९) मिडल इस्ट नर्थ अफ्रिका फाइनान्सियल एक्सन टाक्स फोर्स (Middle East and North Africa Financial Action Task Force-MENAFATF) विभिन्न देशहरूले यी संस्थामध्ये आ-आफ्नो क्षेत्रीय संस्थाको सदस्यता प्राप्त गरेका हुन्छन् । कुनै देश एफएटिएफको सीधै सदस्य नभएका खण्डमा समेत उक्त क्षेत्रीय निकायको सदस्यतामार्फत अप्रत्यक्षरुपमा FATF सँग आवद्ध भएका हुन्छन् ।
एफएटिएफले यी संस्थाहरूसँगको संयुक्त टोली (Assessment Team) बनाई आफ्ना सदस्य राष्ट्रहरूको नियमित रूपमा स्थलगत मूल्याङ्कन गरी जारी भएका मापदण्डहरूको कार्यान्वयन प्रभावकारिता जाँच गर्ने र सोहीअनुरुप एफएटिएफमा प्रतिवेदन बुझाउने गर्दछन् । यसैका आधारमा एफएटिएफले कुन देशलाई खैरो सूची (ग्रे लिस्ट) वा कालो सूचीमा राख्ने वा नराख्ने सम्बन्धमा निर्णय गर्ने गर्दछ ।
त्यस्तै अन्तर्राष्ट्रिय मुद्राकोषले पनि वित्तीय इमानदारिता, पारदर्शिता र स्थायित्वका लागि सम्पत्ति शुद्धीकरण र आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी नीतिगत व्यवस्था र प्रभावकारी कार्यान्वयनले सदस्य राष्ट्रको अर्थतन्त्रमा सकारात्मक योगदान पुऱ्याउने उल्लेख गरेको छ। कोषले यस विषयको प्रभावकारितालाई कोषको नियमित मिसनमा जाँच गरी प्रतिवेदन दिने गरेको छ किनभने सम्पत्ति शुद्धीकरण र आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणमा हुने कमजोरीले मुख्यतः देशको वित्तीय क्षेत्र र वाह्य क्षेत्रलाई धक्का दिने गर्दछ । फलस्वरूप विदेशी मुद्रा प्रवाहमा अस्थिरता, बैंकिङ सङ्कट, अप्रभावकारी राजस्व सङ्कलन, कमजोर सुशासन, अन्तर्राष्ट्रिय वित्तीय केन्द्रसँग प्रतिष्ठा/ख्यातिको जोखिम र करेस्पोन्डिङ बैंकिङ आवद्धता वा सम्बन्धमा क्षति आदि हुने गर्दछ । यसका साथै सम्पत्तिको अस्वाभाविक मूल्य बढ्ने (एसेसट्स बबल), कर प्रणालीलाई असर, अनौपचारिक क्षेत्र मौलाउने र संस्थागत संरचनाको भूमिका कमजोर हुने समेत हुन्छ ।
के हो ग्रे लिष्ट?
एफएटिएफले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारणका लागि नीतिगत, संस्थागत र कार्यक्रमगत व्यवस्था तथा प्रयासको अवस्थाका सम्बन्धमा संसारभरका देशहरूको पहिचान गर्दछ । यसको वा यसमा आवद्ध यस्तै प्रकारका संस्थाहरूको सदस्यतामार्फत आबद्ध देशहरूको पारस्परिक मूल्याङ्कनका आधारमा ती देशले अपनाएको कानुनी व्यवस्था र सोको प्रभावकारिता मूल्याङ्कनका आधारमा कुनै पनि अनुगमनको सूचीमा रहने वा नरहने निर्णय हुन्छ ।
सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारणका मामिलामा बलियो तथा पर्याप्त कानुनी व्यवस्था र प्रभावकारिता भएका मूलुकलाई कुनै पनि सूचीमा राखेको हुँदैन अर्थात् यस्ता देश नियमित अनुगमनमा रहेको बुझिन्छ तर उक्त मामिलामा कमजोर वा रणनीतिक कमजोरी भएका देशलाई अनुगमनको स्तर वृद्धि भएको देश (Jurisdiction under Increased Monitorting) अन्तर्गत सूचीकृत गरी सार्वजनिक गर्ने गर्दछ । यसलाई नै बोलिचालीका भाषामा खैरो सूची वा ग्रे लिस्ट भनेर बुझिन्छ । खैरो सूचीमा परेको देशको सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणमा रणनीतिक कमजोरीहरू हुने र यिनलाई गहनतापूर्वक समाधान गर्ने कार्य योजनासहित एफएटिफसँग मिलेर सम्पत्ति शुद्धीकरण र आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण गर्न सक्रिय भई काम गर्ने प्रतिबद्धता जनाएका देश यस सूचीमा रहेका हुन्छन् । सन् २०२४ अक्टोबरमा विभिन्न २४ देशहरू यस्तो सूचीमा रहेकामा सन् २०२५ फेब्रुअरी १७ देखि २१ सम्म फ्रान्सको पेरिसमा सम्पन्न प्लेनरीको निर्णयबमोजिम फिलिपिन्स उक्त सूचीबाट बाहिर निस्केको थियो भने लाओस र नेपाल उक्त सूचीमा समावेश भई कुल २५ देशहरू यस सूचीमा रहेका छन् । FATF को प्लेनरी चौमासिक रूपमा हुने र यसबाट रणनीतिक कमजोरीहरू सुधारोन्मुख भएका देशहरूको स्तरोन्नति हुने, सुधार गरिसककेका देश सूचीवाट हट्ने र पारस्परिक मूल्याङ्कनवाट रणनीतिक कमजोरी देखिएका देशहरू त्यस्तो सूचीमा थपिने प्रक्रिया निरन्तर चलिरहेको हुन्छ ।
के हो कालोसूची ?
FATF ले औपचारिक रूपमा कुन देश कालोसूचीमा रहेको छ भन्ने जानकारी दिने गर्दैन वा यसले कुनै सूची पनि प्रकाशित गर्दैन तर सम्पत्ति शुद्धीकरण निवारण र आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणको समग्र प्रयासमा सहयोग नगर्ने र आमविनाशका हातहतियार निर्माणमा संलग्न देशलाई अप्रत्यक्ष वा साङ्केतिक रूपमा High Risk Jurisdiction subject to a Call for Action जस्ता वाक्यहरू प्रकाशित गरेको हुन्छ । यसैलाई नै वाह्य निकाय वा पक्षले वा अन्य सदस्य राष्ट्रहरूले कालोसूचीमा रहेको भनी बुझ्दछन् । सोहीअनुरुप अन्य देशहरूले यस्ता देशसँगको कारोवार निरुत्साहित गर्ने वा त्याग्ने, उच्च मूल्याङ्कन पद्धति अपनाउने र मनोवैज्ञानिक दबाव सृजना गरी Economic Sanction Impose गरेको पाइन्छ । यसका अतिरिक्त पारस्परिक मूल्याङ्कनका क्रममा गम्भीर रणनीतिक कमजोरीहरू भएका देश वा क्षेत्रहरूलाई पहिचान गर्दछ । यिनमा रहेको उच्च जोखिमका कारण FATF ले सबै सदस्यहरूलाई ती देशहरूप्रति Enhance Due Diligence अपनाउने र अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको रक्षाका लागि Counter Measures समेत लागु गर्न आह्वान गरेको हुन्छ । हाल उत्तर कोरिया, इरान र म्यान्मार यस्तो सूचीमा रहेका छन् ।
नेपालको अवस्था कहिले कस्तो रहेको थियो ?
नेपालले २००२ मा एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ, एफएटिएफ शैलीको क्षेत्रीय निकाय ( FATF- Style Regional Body) को सदस्यता लिएको थियो । यसपश्चात् हालसम्म तीन पटक नेपालको पारस्परिक मूल्याइकन भइसकेको छ। पहिलो २००५, दोस्रो ६ देखि १७ सेप्टेम्बर, २०१० (प्रतिवेदन २०११ जुलाईमा सार्वजनिक) र तेस्रो पटक ५ देखि १६ डिसेम्बर २०२२ ( प्रतिवेदन २०२३ सेप्टेम्बरमा सार्वजनिक) मा भएको हो। सन् २००५ मा आधार भूत कानुनी व्यवस्थाहरू नै नभएको हुँदा कुनै पनि सिफारिस पालना भएको अवस्था थिएन। तथापि सन् २००८ मा सम्पत्ति शुद्धीकरण निवारण ऐन जारी भएपश्चात् नेपालमा यसको पालना र कार्यान्वयन प्रभावकारिताको बेलाबेलामा मूल्याइकन हुने गरेको पाइन्छ । एफएटिएफले सन् २०१० देखि नेपालले सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्कवादी कार्यमा वित्तीय लगानी नियन्त्रण सम्बन्धमा गरेको प्रयासको मूल्याड्कन गरी अवस्था सार्वजनिक गरेको पाइन्छ । FATF को चौमासिक रूपमा सम्पन्न हुने प्लेनरीमा ग्रे लिस्टमा परेको देशको समेत के कस्तो सुधार भयो सोको मुल्यांकन गरी अवस्था सार्वजनिक हुने गर्दछ । एफएटिएफको वेभसाइट (https://www.fatf- gafi.org/en/countries) मा प्रकाशित भएअनुसार नेपाल कहिले कहिले कस्तो कस्तो अवस्थामा रहेको थियो भन्ने जानकारी देहायबमोजिम रहेको छ:
(क) फेब्रुअरी १८, २०१०: नेपालको पालना स्थितिको निरन्तर समीक्षा भएको, यस बखतसम्म सम्पत्ति शुद्धीकारण निवारण तथा आतङ्गवादी कार्यमा वित्तीय लगानी नियन्त्रणमा देखिएका रणनीतिक कमजोरीहरू पाइएको, उक्त कमजोरीहरू समाधानका लागि कार्य योजनाको विकास गरेको र यी कमजोरी सुधार गर्नका लागि उच्च स्तरीय राजनीतिक प्रतिबद्धतासमेत प्राप्त भएको हुँदा उक्त प्रतिबद्धताको स्वागत गर्दै विश्वव्यापी सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्गवादी कार्यमा वित्तीय लगानी नियन्त्रणको पालनामा सुधार भएका देशअन्तर्गत निरन्तर समीक्षा (On-going Global AML/CFT Review Process) गर्नुपर्ने देशका रूपमा राखेको ।
"Nepal has demonstrated progress improving its AML/CFT regime; however, the FATF has determined that certain strategic AML/CFT deficiencies remain. Nepal has made a high-level political commitment to work with the FATF and APG to address these deficiencies, including by:
(1) Adequately criminalising money laundering and terrorist financing (Recommendation 1 and Special Recommendation II);
(2) Establishing and implementing adequate procedures to identify and freeze terrorist assets (Special Recommendation III);
(3) Implementing adequate procedures for the confiscation of funds related to money laundering (Recommendation 3); and
(4) E\enacting and implementing appropriate mutual legal assistance legislation (Recommendation 36 ).
The FATF encourages Nepal to address its remaining deficiencies and continue the process of implementing its action plan."
यसपश्चात् २५ जुन २२२ अक्टोवर २०१०, २५ फेब्रुअरी २४ जुन २८ अक्टोबर २०११ मा भएको अद्यावधिक अवस्थामा समेत उपर्युक्त अवस्था विद्यमान रहेकाले नेपाल On-going Review मा रहेको उल्लेख छ । यस अवधिमा नेपालमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी पहिलो राष्ट्रिय रणनीति, २०६८- २०७३ कार्यान्वयनमा आएको थियो ।
(ख) फेब्रुअरी १६, २०१२ यसपटक जारी सूचना अनुसार नेपालले सहमति गरेको कार्य योजनामा केही कार्यहरू थप भएको देखिन्छ । जस्तैः
*.... (5) ensuring a fully operational and effectively functioning Financial Intelligence Unit (Recommendation 26 ) and (6) establishing adequate STR reporting obligations for ML and FT (Recommendation 13 and Special Recommendation IV)."
यस पटकको प्लेनरीबाट नेपाललाई पूर्ववत् कार्य योजनामा थप दुई कार्यहरू थपिएको पाइन्छ Rec. 26 and Rec. 13 संग सम्बन्धित वित्तीय जानकारी एकाइको पूर्ण र प्रभावकारी कार्य सञ्चालन र शङ्कास्पद कारोबार प्रतिवेदन गर्ने पर्याप्त संयन्त्रको स्थापना गर्ने ।
यसपश्चात् वित्तीय क्षेत्रका नियामकले शङ्कास्पद कारोवार प्रतिवेदन पेस गर्ने सम्बन्धमा स्पष्ट व्याख्या, तरिका, विधि र ढांचा विकास गरी सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा अन्य समग्र विषयसमेत समेटी निर्देशनलाई विस्तृत र व्यापक बनाएका थिए। नेपाल ग्रे लिस्टबाट निस्कनका लागि प्राप्त कार्ययोजना मुताबिक FATF को प्रत्येक प्लेनरीका अवधिमा भएका सुधारात्मक कार्यहरू देहायबमोजिम रहेका छन्:

यसरी नेपालको दोस्रो पारस्परिक मूल्याङ्कनपश्चात् करिव चार वर्ष चार महिना ग्रे लिस्ट (Jurisdiction under FATF's on-going global AML/CFT compliance process) मा परेको थियो । उक्त समयमा मुख्य ६ वटा कार्यहरू नेपालले सम्पन्न गर्ने गरी समयसीमा उपलब्ध भएको थियो ।
अन्तर्राष्ट्रिय अनुगमनमा नेपालको दोस्रो यात्रा
पालना र FATF को ४० Recommendations को प्रभावकारिताको अवस्था जाँचका लागि नेपालको तेस्रो पारस्परिक मूल्याङ्कन ५ देखि १६ डिसेम्बर २०२२ मा सम्पन्न भयो। सन् २०२३ मा पारित नेपालको पारस्परिक मूल्याङ्कन प्रतिवेदनले कानुनी संरचनामा उल्लेख्य सुधार भएको देखाउँदै सम्पत्ति शुद्धीकरण निवारणसँग सम्बद्ध प्रणालीको प्रभावकारिता थप सुदृढ गर्नुपर्ने भनी औल्याएको थियो । यसपछि नेपाल फेब्रुअरी २०२५ देखि FATF को सघन अनुगमन सूची (Jurisdiction under increased monitoring) अर्थात् ग्रे लिस्टमा रहेको छ । FATF को अनुगमनको सूचीमा नेपालको यो दोस्रो दुःखद यात्रा हो। यस सूचीबाट बाहिर निस्कनका लागि गरिने हरेक क्रियाकलापले देशमा सुशासनको पक्ष बलियो बनाउँदै लैजाने हुँदा गैरकानुनी आर्थिक अपराधलाई सजाय गर्न सक्ने संयन्त्रको विकास भई कालो धनलाई राज्यकोषमा फिर्ता ल्याउने कार्य सफल हुनुपर्दछ । त्यसैले कुनै संस्थाले नेपाललाई यस्ता सूचीमा पार्यो वा राख्यो भन्नुभन्दा पनि देशभित्र वा वाह्य जगत्सँग हुने आर्थिक क्रियाकलापको स्पष्टता, स्वच्छता र इमानदारिता प्रदर्शन गर्नु महत्त्वपूर्ण विषय हुन आउँछ ।
देशलाई ग्रे लिस्टबाट बाहिर निकाल्ने सिलसिलामा FATF सँग सहमत कार्ययोजना पूरा गर्न नेपालले उच्च राजनीतिक प्रतिवद्धता व्यक्त गर्दै सम्बद्ध सबै निकायको सहभागितामा विस्तृत कार्ययोजना अप्रिल २०२५ देखि कार्यान्वयनमा ल्याएको छ। ती कार्ययोजनालाई विस्तृत रूपमा आठ फरक फरक विधामा विभाजन गरिएको छ । तिनको हालसम्मको कार्य प्रगति समेत देहायबमोजिम रहेको छः


यसरी नेपाल दोस्रो पटक ग्रे लिस्टमा परेको पनि करिब पौने दुई वर्ष भइसक्यो । यसबीचमा गरेका काम कारबाहीले कहिले ग्रे लिस्टवाट निस्कन सकिएला भन्ने स्पष्ट चित्र बन्न अझै वाँकी छ । दुई वर्षको समयावधिमा कार्ययोजनाबमोजिमका क्रियाकलाप सम्पन्न गरी सुधार गर्न नसकेमा थप कडा चेतावनीहरू आउन सक्ने सम्भावना रहन्छ । तथापि हालसम्म नेपालले जोखिम मूल्याङ्कन गरिसकेको, सुपरिवेक्षकीय स्रोत साधनको सुनिश्चितता गरिसकेको, क्षेत्रगत निर्देशनहरू जारी र ऐन नियमबमोजिम अद्यावधिक गरिसकेको, लक्षित वित्तीय कारवाहीसम्बन्धी मार्गदर्शन तथा अन्य आवश्यक मार्गदर्शनहरू जारी गरिसकेको, तथ्याङ्क र विवरणका लागि आवश्यक पर्ने स्वचालित विद्युतीय प्रणाली स्थापना र सञ्चालन गरेका आधारमा आगामी दिनमा थप नकारात्मक परिणाम आउने सम्भावना भने न्यून रहेको आँकलन गर्न सकिन्छ ।
अन्त्यमा,
सकेसम्म गल्ती गर्दै नगर्नु उत्तम मानिन्छ, गरिहालेमा गल्तीबाट गतिलो पाठ सिकेर त्यसलाई नदोहोऱ्याउनु मध्यम मानिन्छ तर पटक पटक गल्ती गर्नु अधम भइहाल्यो। हाम्रो अवस्था पनि यस्तै रह्यो। एक पटक ग्रे लिस्टको स्वाद चाखिसकेपछि पुनः त्यही बाटामा जानु भनेको नशामा डुवेसरह नै हो । त्यसबाट निस्कन कठिन सङ्घर्ष त गर्नैपर्छ। यस पटकको ग्रे लिस्टको भोगाइले संस्थागत र कार्यसञ्चालनगत संयन्त्रहरू स्थापना भई कार्य गरिरहेका छन्। अपराधको आर्जन उपर शङ्कास्पद नजर लगाउनेदेखि यसको पहिचान, विश्लेषण, अनुसन्धान, अभियोजन र अदालती छिनोफानोपश्चात् जफत विगो राज्यकोषमा फिर्ता ल्याउने र तत्पश्चात् व्यवस्थापन गर्नेसम्मको दूरदरर्शी संयन्त्रले स्वचालित रूपमा आ-आफ्नो जिम्मेवारी निभाउने अवस्था बनेको छ। तथापि अनुसन्धान, अभियोजन र रोक्का जफतसम्बन्धी कार्यहरूमा एक फड्को मार्ने साथसाथै नियामकीय कारवाही प्रभावकारी, समानुपातिक र निरोधात्मक रूपमा सम्पन्न भएका छन् भन्नेमा अन्तर्राष्ट्रिय जगत्लाई आश्वस्त पार्न सकेका खण्डमा छिटो ग्रे लिस्टबाट निस्कन सक्ने देशहरूको सूचीमा हामी पनि सँगै हुने थियौं । हालसम्म बनेको सम्पत्ति शुद्धीकरण निवारण प्रणालीलाई एक Eco System मा चल्न दिई आगामी दिनमा ग्रे लिस्टमा कहिल्यै नपर्ने गरी अगाडि बढ्न सकिन्छ ।
त्यसैले सम्बद्ध सबै निकायले अन्तर्राष्ट्रिय वित्तीय अनुपालन र सम्पत्ति शुद्धीकरण निवारणमा हाल भइरहेको संयन्त्रलाई थप बलियो, स्वचालित आधारभूत प्रणालीमा रूपान्तरण गर्ने दीर्घकालीन रणनीतिक लक्ष्यलाई पछ्याई ग्रे लिस्टबाट सफलतापूर्वक वाहिर निस्किसकेपछि फेरि कहिल्यै पनि उक्त सूचीमा नपरौं (never again in ICRG) भन्ने महत्त्वाकाङ्क्षालाई यथार्थमा बदल्नुपर्दछ ।
(वासुदेव भट्टराई नेपाल राष्ट्र बैंकका निर्देशक हुन्। उनि वित्तीय जानकारी एकाइमा कार्यरत छन्।प्रस्तुत लेख नेपाल बैंकको वार्षिकोत्सव विशेषाङ्क २०८३ बाट लिइएको हो।)
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)









प्रतिक्रिया