सिद्धार्थ बैंकद्वारा नागढुङ्गा सिस्नेखोला सुरुङमार्गमा एन–ट्याग सेवा सञ्चालन
- BFIS News
- 2026 Nov 27 22:50
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नागढुङ्गा सिस्नेखोला सुरुङमार्गमा गुड्ने निजी तथा व्यावसायिक चारपाङ्ग्रे सवारी साधनका लागि एन–ट्याग (N-Tag) सेवा सञ्चालनमा ल्याएको छ।
बैंकले सडक बोर्ड नेपाल (RBN) सँगको सहकार्यमा उक्त सेवा सुरु गरेको हो। एन–ट्याग सवारी साधनको अगाडिको सिसामा टाँसिने रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (RFID) प्रविधिमा आधारित विद्युतीय स्टिकर हो। यसको प्रयोगबाट सवारी चालकले टोल बुथमा नरोकिई तोकिएको एन–ट्याग लेनबाट आवतजावत गर्दा टोल शुल्क स्वचालित रूपमा भुक्तानी गर्न सक्नेछन्।
यस सेवाले टोल बुथमा लामो समयसम्म कुर्नुपर्ने झन्झट हटाउनुका साथै समय र इन्धनको बचत गर्ने बैंकको विश्वास छ। साथै, यसबाट टोल शुल्क भुक्तानी प्रक्रिया नगदरहित, सहज र छरितो हुनेछ।
एन–ट्याग कसरी प्राप्त गर्ने ?
एन–ट्याग प्राप्त गर्न ग्राहकले सर्वप्रथम सडक बोर्ड नेपालको आधिकारिक पोर्टल rbn.org.np मा गएर साइन अप गर्नुपर्नेछ। पोर्टलमा व्यक्तिगत (Individual) वा संस्थागत (Organization) विकल्प छनोट गरी मोबाइल नम्बर र इमेल प्रविष्ट गर्नुपर्छ। त्यसपछि इमेलमा प्राप्त भेरिफिकेसन कोड राखेर पासवर्ड सेट गर्न सकिनेछ।
व्यक्तिगत रूपमा दर्ता गर्दा पूरा नाम, ठेगाना, सम्पर्क विवरण र नागरिकता, राष्ट्रिय परिचयपत्र वा राहदानीमध्ये कुनै एक आधिकारिक परिचयपत्रको स्पष्ट प्रतिलिपि अपलोड गर्नुपर्छ। संस्थागत दर्ताका लागि भने संस्थाको नाम, ठेगाना, सम्पर्क नम्बर, आधिकारिक प्रतिनिधिको विवरण तथा संस्था दर्ता प्रमाणपत्र र प्यान/भ्याट प्रमाणपत्र अपलोड गर्नुपर्नेछ।
प्रारम्भिक दर्तापछि पोर्टलमा लगइन गरी 'Vehicle Registration' मा जानुपर्छ। त्यहाँ सवारी साधनको ब्लुबुकअनुसार विवरण भरेर ब्लुबुकको प्रतिलिपि अपलोड गरी आवेदन पेश गर्नुपर्नेछ। आवेदन पेश गरेपछि प्राप्त हुने आवेदन दर्ता नम्बर (Submission No.) सहितको पीडीएफ फाइल डाउनलोड गर्न सकिनेछ।
उक्त कागजातसहित आवश्यक सक्कल तथा प्रतिलिपि कागजात लिएर नजिकैको सिद्धार्थ बैंकको शाखामा जानुपर्नेछ। व्यक्तिगत सवारी साधनका लागि सक्कल नागरिकता वा परिचयपत्र, ब्लुबुक र पासपोर्ट साइजको फोटो आवश्यक पर्नेछ। संस्थागत सवारी साधनका लागि भने संस्था दर्ता प्रमाणपत्र, प्यान तथा भ्याट प्रमाणपत्र, ब्लुबुक र आधिकारिक प्रतिनिधिको परिचयपत्र पेस गर्नुपर्नेछ।
बैंकले आवश्यक कागजात रुजु गरेपछि सम्बन्धित सवारी नम्बरमा एन–ट्याग आबद्ध गरी भौतिक स्टिकर उपलब्ध गराउनेछ। स्टिकर प्राप्त भएपछि पुनः सडक बोर्ड नेपालको पोर्टलमा लगइन गरी 'Activate Tag' विकल्पबाट ट्याग सक्रिय गर्नुपर्नेछ। त्यसपछि उक्त स्टिकर सवारी साधनको अगाडिको सिसामा टाँस्न सकिनेछ।
मोबाइल बैंकिङबाटै रिचार्ज गर्न सकिने
एन–ट्याग प्रयोगकर्ताले सिद्धार्थ बैंकको मोबाइल बैंकिङ सेवा BankSmartXP मार्फत घरमै बसेर ट्याग रिचार्ज गर्न सक्नेछन्। त्यसैगरी, सडक बोर्ड नेपालको मोबाइल एप तथा पोर्टलबाट आफ्नो मौज्दात (Balance) र कारोबार विवरणसमेत हेर्न सकिने व्यवस्था गरिएको छ।
बैंकका अनुसार एउटा एन–ट्याग एउटा निश्चित सवारी साधनका लागि मात्र प्रयोग गर्न मिल्नेछ। टोल लेन प्रयोग गर्नुअघि ट्यागमा पर्याप्त मौज्दात रहेको सुनिश्चित गर्नुपर्नेछ।
यस सेवाले डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धनमा सहयोग पुर्याउनुका साथै निकट भविष्यमा सञ्चालनमा आउने देशभरका विद्युतीय टोल संकलन प्रणाली (ETC) जडित राजमार्गहरूमा यात्रा थप व्यवस्थित, छरितो र सुरक्षित बनाउन योगदान पुग्ने बैंकको विश्वास छ।
एन–ट्याग सेवासम्बन्धी थप जानकारी तथा सहयोगका लागि ग्राहकले सिद्धार्थ बैंकको नजिकैको शाखा कार्यालय, २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्रको फोन नम्बर ०१–५९७००२० वा [email protected] मा सम्पर्क गर्न सक्नेछन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)









प्रतिक्रिया