१३ बीमा कम्पनीले हकप्रद निष्काशन गर्नु पर्ने, कसको कति ?
- पुरूषोत्तम
 - 2023 Jul 22 06:42
 
                    
काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्देशन गरेको न्युनतम चुक्ता पूँजी जुटाउनका लागि १३ बीमा कम्पनीहरुलाई हकप्रद शेयर निष्काशन गर्नु पर्ने देखिएको छ । प्राधिकरणका अनुसार राष्ट्रिय बीमा संस्थान, राष्ट्रिय बीमा कम्पनी, एलआइसी नेपाल, एशियन लाइफ, सानिमा रिलायन्स लाइफ, सूर्यज्योति लाइफ, नेपाल इन्स्योरेन्स कम्पनी, युनाइटेड अजोड, प्रभु इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, सानिमा जिआइसी इन्स्योरेन्स र नेको इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशन गर्नु पर्ने देखिएको हो ।
प्राथमिक शेयर निष्काशनको प्रकृयाँमा रहेका आइएमई लाइफ, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ, सन नेपाल लाइफले सहजै पूँजी जुटाउन सक्ने प्राधिकरणको अनुमान छ । उनिहरुले प्रिमियममा शेयर निष्काशन गर्ने भएकाले प्राथमिक बजारबाट संकलन भएको प्रिमियम र अहिलेसम्मको जगेडाबाट सहजै पूँजी जुटाउन सक्ने प्राधिकरणको भनाइ छ ।
सरकारको पुर्ण लगानी रहेको राष्ट्रिय बीमा संस्थानको चुक्ता पूँजी १८ करोड १० लाख रुपैयाँ मात्रै छ । संस्थानले विद्यमान संस्थापकहरु सँग हकप्रद शेयर निष्काशन गर्ने र त्यस पछि प्रिमियममा शेयर निष्काशन गर्ने योजना बनाएको छ । एलआइसी नेपालले हकप्रद शेयर निष्काशन गर्दैछ । कम्पनीलाई ८८.४५ प्रतिशत पूँजी अपुग छ ।
मर्जर पछि पनि सानिमा रिलायन्स लाइफलाई १९.५० प्रतिशत पूँजी अपुग देखिन्छ । कम्पनीको हालको चुक्ता पूँजी ४ अर्ब १८ करोड रहेको छ । मर्जर पछि पनि सूर्यज्योति लाइफलाई १० प्रतिशत पूँजी अपुग देखिन्छ । कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५४ करोड रुपैयाँ छ । अझै ४६ करोड पूँजी अपुग देखिएकाले कम्पनीले केहि मात्रामा हकप्रद शेयर निष्काशन गर्ने सम्भावना देखिन्छ ।
मर्जरका लागि ठुलो प्रयास गरेको नेपाल इन्स्योरेन्स कम्पनीलाई ८१.२९ प्रतिशत पूँजी अपुग छ । प्राधिकरणको चेपुवामा परेपछि कम्पनीले जग्गा बिक्री गरेर पूँजी जुटाउने निर्णय गरेको थियो । यसका लागि केहि जग्गा पनि बिक्री गर्यो । तर बीमा प्राधिकरणले हकप्रद शेयर निष्काशनका लागि बाटो खुला गरिदिए पछि कम्पनीले पनि हकप्रद शेयर निष्काशनको बाटो तय गर्दैछ । सक्दो बोनस शेयर दिने र नपुग पूँजीका लागि मात्रै हकप्रद शेयर जारी गर्ने कम्पनीको योजना छ ।
मर्जर भए पनि युनाइटेड अजोडले अझै पूँजी जुटाउन सकेको छैन । कम्पनीलाई २३.२६ प्रतिशत पूँजी अपुग देखिन्छ । कम्पनीले हकप्रद शेयर निष्काशन गरेर मात्रै पूँजी जुटाउन सक्ने देखिन्छ ।
नेको इन्स्योरेन्स कम्पनीलाई पनि २३ प्रतिशत हकप्रद शेयर आवस्यक देखिन्छ । जगेडा कोष खासै बलियो नभएकाले कम्पनीले हकप्रद शेयर निष्काशन गर्नै पर्ने देखिन्छ । नेशनल लाइफको सहायक कम्पनी एनएलजी इन्स्योरेन्स कम्पनीले पनि हकप्रद शेयर निष्काशनको प्रकृयाँ अगाडी बढाइसकेको छ । कम्पनीलाई प्राधिकरणले हकप्रद शेयर निष्काशनको ग्रिन सिङ्गनल दिएकाले अगाडी बढेको हो । कम्पनीलाई ८८.४५ प्रतिशत पूँजी आवस्यक छ ।
राष्ट्रिय बीमा संस्थानलाई पनि ठुलो रकम पूँजीका लागि आवस्यक पर्दैछ । हाल कम्पनीको चुक्ता पूँजी जम्मा २६ करोड ६६ लाख मात्रै छ । कम्पनीले साढे दुई अर्ब जुटाउनु पर्नेछ ।
सबैभन्दा पहिला मर्जर सम्पन्न गरेको हिमालयन एभरेष्टलाई पनि ११.६१ प्रतिशत पूँजी आवस्यक छ । यो पूँजी बोनसबाट दिन सक्ने क्षमता कम्पनी सँग छैन । यदि प्राधिरकणले आगामी वर्षमा जुटाए पनि हुन्छ भन्यो भने कम्पनीले हकप्रद शेयर निष्काशन गर्दैन अन्यथा केहि प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने देखिन्छ ।
सानिमा जिआइसीलाई पनि २५ प्रतिशत पूँजी आवस्यक छ । मर्जर पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब मात्रै पुगेको हुँदा बाँकी ५० करोडका लागि हकप्रद शेयर जारी गर्नै पर्ने हुन्छ ।
हालसम्म शिखर, नेपाल लाइफ, आइएमई प्रुडेन्सियल, सगरमाथा लुम्बिनी, सिद्धार्थ प्रिमियरको पूँजी जुटिसकेको छ । नेशनल लाइफले सहजै पुर्याउन सक्ने देखिन्छ ।
                        ![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)







                                                            
                                                            
                                                            
                                                            
                                                            









प्रतिक्रिया