Nepal Life

स्वीस उद्यमीलाई नेपालमा लगानी गर्न आह्वान

NMB Bank
  • BFIS News
  • 2024 Apr 03 08:19
स्वीस उद्यमीलाई नेपालमा लगानी गर्न आह्वान
United Ajod

काठमाडौं। सरकारले स्वीटजरल्याण्डका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीका निम्ति अभिप्रेरित गर्न स्वीस सरकारसँग अनुरोध गरेको छ। आगामी महिना आयोजना हुने लगानी सम्मेलनमा उनीहरूको सक्रिय सहभागिताका निम्ति प्रोत्साहन गर्न स्वीस सरकारलाई सरकारले अनुरोध गरेको हो।

Shikhar
Nepal Life
NIMB

नेपाल–स्वीटजरल्याण्ड परामर्श संयन्त्रको मङ्गलबार बेर्नमा सम्पन्न बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकालले उक्त आह्वान गरेका जेनेभास्थित नेपालको राजदूतावासले जनाएको छ। बैठकमा नेपाल–स्वीटजरल्याण्ड सम्बन्धका समग्र पक्षका साथै आर्थिक, विकास साझेदारी, बहुपक्षीय मञ्चमा सहयोग आदानप्रदान, मानवअधिकार तथा जलवायु परिवर्तनलगायत विश्वले सामना गर्नुपरेका सामयिक विषयमा पनि विचारविमर्श भएको थियो।

दुवै देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदान, अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नतिका निम्ति नेपालले गरेका प्रयास, दिगो विकास लक्ष्य हासिलमा भएका प्रगति, नेपाल–स्वीटजरल्याण्ड व्यापार, लगानी, पर्यटन, विज्ञान तथा प्रविधि र व्यावसायिक तालिमबारे बैठकमा छलफल भएको उक्त दूतावासले जनाएको छ।

नेपाली प्रतिनिधिमण्डलका प्रमुख सहसचिव ढकालले स्वीस सरकारको प्राथमिकतामा नेपाललाई राखिएकामा आभार व्यक्त गरेका थिए भने स्वीस सरकारका प्रतिनिधि हेनरिच सेलेनवर्गले नेपालको विकास प्रयासमा स्वीस सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

पारस्परिक सहायताका सम्बन्धमा छलफल गर्न सन् २०१५ मा उक्त संयन्त्र स्थापना भएको हो। संयन्त्रको अर्को बैठक दुवै पक्षलाई अनुकूल हुने समयमा काठमाडौँमा हुने छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया