Nepal Life

बजेटबारे निजी क्षेत्रको मिश्रित प्रतिक्रिया

NMB Bank
  • BFIS News
  • 2024 May 28 21:41
बजेटबारे निजी क्षेत्रको मिश्रित प्रतिक्रिया
United Ajod

काठमाडौँ। सरकारले मंगलबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे निजी क्षेत्रको मिश्रित प्रतिक्रिया आएको छ। बजेटले क्षेत्रलाई समेटेको नेपाल उद्योग वाणिज्य महासंघको भनाइ छ।

Shikhar
Nepal Life
NIMB

महासंघका अध्यक्ष चन्द्र ढकालले प्रस्तुत बजेटले हरेक क्षेत्रमा निजीलाई समेटिएको बताए। उनले भने, ‘नयाँ चरणको आर्थिक सुधारका कार्यक्रम समेटिएको देखिन्छ। आर्थिक विधेयक आएपछि संस्थागत रुपमा भन्न सक्छौँ, कृषि, पर्यटन, ऊर्जा, स्टार्टअप, आईटी क्षेत्रलाई प्राथमिकतामा राखेको देखियो। त्यसलाई सकारात्मक रुपमा लिन सकिन्छ।’ 

नेपाल चेम्बर अफ कमर्शका पूर्वअध्यक्ष राजेन्द्र मल्लले कतिपय कुराहरु गोलमटोल रुपमा आएको र थप अध्ययन गर्नुपर्ने बताए। उनले भने, ‘बजेट झण्डै चालु आवको भन्दा पनि २० प्रतिशतले वृद्धि भएको छ। समग्र रुपमा चालु वर्षमा जुन राजश्व उठ्न नसकेका बेला स्रोतको सङ्कलन कसरी गर्ने भन्नेमा अझै अन्योलमा छौँ। कतिपय कुराहरु आन्तरिक र बाह्य ऋणबाट लिने कुरा छ। सकेसम्म उधारोमा लिएर घ्यू खाने प्रवृत्ति देखिएको छ। बजेट भनेको यथार्थपरक र आर्थिक स्थायित्व दिने किसिमको हुनुपर्छ।’ 

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका उपाध्यक्ष मोहन कटुवालले अहिलेको बजेटलाई सकरात्मक रुपमा लिनुपर्ने बताए। उनले भने, ‘यो अवस्थामा आएको बजेटलाई साह्रै नकारात्मक लिनु हुन्न। मुख्य कुरा कार्यान्वयन पक्ष कत्तिको प्रभावकारी हुन्छ भन्ने हो। विगत हेर्दा कार्यान्वयन पक्ष फितलो देखिएको छ। बजेट अलि ठूलो आकारको आयो कि भन्ने आशंका हो। किनकि अहिले उद्योग व्यापार व्यवसाय आधा पनि चलेका छैनन्। आर्थिक मन्दीका बेला समग्रमा बजेटलाई सकारात्मक रुपमा लिएका छौँ।’ 

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले बजेटमा निजी क्षेत्रलाई समावेश गरिए पनि कार्यान्वयन पक्षमा ध्यान दिनुपर्ने बताए। 

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले बजेट अघिल्लो वर्षको निरन्तरताको रुपमा नै आएको बताए। उनले भने, ‘हामीले निजी क्षेत्रबाट ५६ वटा सुझाव दिएका छौँ। त्यो सुझावमध्ये केही सुझाव समावेश गरिएको छ भने केही चाहिँ छैन।

घरेलु तथा साना उद्योग महासङ्घका केन्द्रीय महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष रीता अवालले बजेट विगत वर्षको निरन्तरता रहेको बताइन्। उनले भनिन्, ‘यो वर्ष राम्रो पक्ष के हो भने महिला उद्यमशीलतालाई जोड दिइएको छ। महिला उद्यमशीलताका लागि बिक्री कक्ष, प्रदर्शनी कक्षका कुरा आएको छ त्यो सकारात्मक कुरा हो। विपन्न क्षेत्रमा रहेका महिला तथा युवा महिला उद्यमीहरुलाई प्रवर्द्धन गर्ने कुरा सकारात्मक छ। रातो किताबमा भने हेर्न बाँकी छ। कार्यन्वयको पक्षको कस्तो हुन्छ। सुझाव अनुसार समेटिएको देखिन्छ।’ 

व्यापारी दीपक मल्होत्राले बजेट सरसर्ती हेर्दा नकारात्मक प्रतिक्रिया दिनुपर्ने नभएको धारणा राखे। नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले भने, ‘बजेट सन्तुलित आएको छ। निजी क्षेत्रलाई चाप नपर्ने गरी  बजेट आएको छ।’

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया