NIMB Header 2
Nepal Life

बजेटमाथिको छलफलमा सांसदहरुका मिश्रित प्रतिक्रिया, कसले के भने?

Muktinath Bank
  • BFIS News
  • 2024 Jun 03 14:40
बजेटमाथिको छलफलमा सांसदहरुका मिश्रित प्रतिक्रिया, कसले के भने?
Everest Bank

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिने सांसदहरुले बजेटबार‍े मिश्रित प्रतिक्रिया दिएका छन्।

Shikhar
NIMB

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं सांसद रघुजी पन्तले बजेटको प्रभावकारी कार्यान्वयनका लागि आर्थिक अनुशासनहीनतालाई नियन्त्रण गर्नुपर्ने सुझाव दिए।

उनले तोकिएको राजस्व नउठे के गर्ने भनी प्रश्न गरे। उनले भने, “अघिल्लो वर्ष पनि तोकिएको लक्ष्यअनुसार राजस्वको उठेन, यो बजेटमा पनि निर्धारित राजस्व उठेन भने कसरी पूर्ति गर्नुहुन्छ?” बजेटमार्फत कृषि लगानी वर्ष घोषणा गरिए पनि बजेट घटेको भन्दै उनले लक्ष्य हासिल हुनेमा संका व्यक्त गरे। अनुत्पादक पूँजीगत बजेटलाई पनि कटौती गर्नुपर्ने उनको धारणा थियो।

बजेटमा केही अन्तरविरोधी विषय भएको उल्लेख गर्दै सांसद पन्तले राखिएका लक्ष्य पूरा हुनेमा आशङ्का व्यक्त गर्दै  बजेट कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए। “विभिन्न आशङ्का छन् । बजेटलाई यथार्थवादी भएर समीक्षा गर्दै पूँजीगत खर्चमा कडा हुन अर्थमन्त्रीलाई मेरो आग्रह छ”, उनले भने। यसैगरी काठमाडौँ–हेटौँडा दू्रतमार्ग बनेमा पेट्रोलियम पदार्थमा जाने ठूलो रकम बचत हुने भन्दै उहाँले उक्त आयोजना चाँडो कार्यान्वयन गर्न आवश्यक बजेट व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।

नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले आगामी वर्षको बजेटका लक्ष्यअनुसार राजस्व सङ्कलन हुनेमा आशङ्का व्यक्त गरे।
उनले राजस्व बढाउन करका दायरा र गैरकानुनी कारोबार बन्द गर्नुपर्ने धारणा राखे।

सांसद गुरुङले बजेटमा समेटिएको गाँजाखेतीको विषयलाई कानुन बनाएर कार्यान्वयनमा लैजानुपर्ने भन्दै आफू कानुनमन्त्री हुँदा यसबारेमा कोसिस गरेको समेत स्मरण गरे।

“औषधिका रूपमा गाँजाखेती गर्न सकियो भने रु दुई खर्ब र घरेलु मदिरालाई ब्रान्डिङ गरे थप रु दुई खर्ब राजस्व सङ्कलन गर्न सकिन्छ । त्यस्तै नेपालमा रहेका सात सय ३६ जातका जडीबुटीको व्यावसायिक खेती गरेर थप रु दुई खर्ब आम्दानी गर्न प्रशस्त सम्भावना छ । यसतर्र्फ पनि सोच्न जरूरी छ”, गुरुङले भने। उनले देश बनाउन सबै मिलेर अगाडि बढ्नुपर्ने, सत्तामा बस्दा र नबस्दा पनि देश बनाउने सङ्कल्पका साथ काम गर्नुपर्ने उनको भनाइ छ ।

हिन्दू धर्मावलम्बीका लागि नेपाल तपोभूमि र बौद्धधर्मावलम्बीका लागि लुम्बिनी प्रसिद्धस्थल रहेको बताउँदै उनले धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्न लाग्नुपर्नेमा जोड दिए।

सांसद गुरुङले बजेटमा ‘बर्थिङ हब’ भनेर आएको र अब ‘हनिमुन सिटी’ पनि बनाउनुपर्ने धारणा व्यक्त गरे। “घाटा बजेटलाई काम गर्न नयाँ उत्पादनका स्रोत खोज्नुपर्ने छ । यसैगरी बजेट कार्यान्वयन जाँदा सक्षम हुन्छ कि हुँदैन, बजेटका कतिपय बुँदामा रकम नै उल्लेख भएको देखिँदैन, यसर्थ यथार्थवादी भएर मूल्याङ्कन गर्नुपर्छ”, उनको भनाइ छ।   

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले आगामी आर्थिक वर्षको बजेट यथार्थपरक नभएको टिप्पणी गरे। उनले यस वर्षको बजेटले खेलकुद क्षेत्रको विकासमा ध्यान दिएको बताए।

सांसद चौधरीले भने, “कृषिमा लगानी दशक घोषणा गरिएको छ । यसको कार्यान्वयनमा ठोस योजना बनाउन जरुरी छ ।” कृषिमा अग्रिम आय कर लगाइएको उल्लेख गर्दै उनले बजेटमा  स्थानीय संस्कृति र पर्यटनको विकासका लागि गरिएको व्यवस्था सकारात्मक भएको बताए।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले आर्थिक मन्दिका बेला सार्वजनिक भएको बजेट कार्यान्वयन चुनौतीपूर्ण भएको विचार व्यक्त गरे। “एकातिर पुँजीको अभाव छ, अर्कोतिर पुँजी पलायन भइरहेको छ । यसलाई रोक्न ध्यान दिनुपर्छ” उनले भने।

जनता समाजवादी पार्टीका सांसद डा वीरेन्द्रप्रसाद महतोले बजेटमा सकरात्मक पक्ष रहेका बताउँदै  बजेटले समग्र रुपमा सबै क्षेत्रलाई समेटेको उल्लेख गरे। उनले पनि कार्यान्वयन पक्ष सबल हुनुपर्नेमा जोड दिए।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले बजेटका बारेमा सत्तापक्षले समर्थन र  विपक्षीले आलोचना गर्नुपर्छ भन्ने धारणाप्रति असहमति जनाउँदै बजेट रोजगारी सृजना र कृषि विकासमा बढी केन्द्रित हुनुपर्ने बताए। साथै उनले हिमपातका कारण हिमाली जिल्लामा वैशाख र जेठमा मात्र विकास–निर्माणका गतिविधि सञ्चालन गर्न सकिने यथार्थ सुनाउँदै हिमाली भेगका लागि बेग्लै आर्थिक वर्ष निर्धारण गर्नुपर्ने विचार व्यक्त गरे।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया