NIMB Header 2
Nepal Life

तदर्थवादी ढङ्गले चल्ने स्थिति छैन : अर्थमन्त्री

Muktinath Bank
  • BFIS News
  • 2025 Feb 05 06:54
तदर्थवादी ढङ्गले चल्ने स्थिति छैन : अर्थमन्त्री
Everest Bank

काठमाडौँ, माघ २३ गते । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी सेवा प्रवाहसँग सम्बन्धित सूचना प्रविधि प्रणालीलाई पूर्ण रूपमा आधुनिक, प्रभावकारी एवं विश्वसनीय बनाउन निर्देशन दिएका छन् । अर्थ मन्त्रालय र मातहतका निकायमा प्रयोगमा रहेका विभिन्न सूचना प्रविधि प्रणालीको अवस्था सम्बन्धमा अर्थ मन्त्रालयमा आयोजित छलफलमा उनले त्यस्तो निर्देशन दिएका हुन् ।  

Shikhar
NIMB

वर्तमान अवस्थामा सेवा प्रवाहलाई चुस्तदुरुस्त एवं छिटोछरितो र प्रभावकारी बनाउनका लागि सूचना प्रविधिको प्रयोग अपरिहार्य रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले अब तदर्थवादी ढङ्गले चल्ने स्थिति नरहेको बताए । 

सेवा प्रवाहलाई भरपर्दो र अविच्छिन्न बनाउन अत्याधुनिक प्रविधिको प्रयोगलाई बढाउँदै जानुपर्ने, सूचना प्रणालीका कारण कुनै पनि काम प्रभावित हुन नहुने, साथै प्रविधि सञ्चालनका लागि आवश्यक योग्य जनशक्ति र प्राविधिक सक्षमता विकसित गर्दै जानसमेत उनले सम्बन्धित अधिकारीलाई निर्देशन दिए । हरेक निकाय सूचना प्रणालीमा सक्षम भए मात्र गुणस्तरीय सेवा प्रवाह हुन सक्ने अर्थमन्त्रीको भनाइ छ । 

कार्यक्रममा सहभागी निकायका अधिकारीले आआफ्नो निकायमा सञ्चालनमा रहेका सूचना प्रविधिसम्बन्धी प्रणालीको आवधिक रूपमा सेक्युरिटी अडिट गर्ने गरिएको र सुरक्षाका दृष्टिकोणले सबल रहेको बताउँदै प्रणालीको ब्याकअप क्षमता वृद्धि गर्न थप लगानी योजना प्रस्तुत गरेका थिए । 

साथै सूचना प्रविधिको प्रयोग बढाउँदै जाँदा दक्ष प्राविधिक जनशक्तिको माग बढ्दै जाने तर त्यस्ता जनशक्तिलाई संस्थाभित्र टिकाइराख्न न्यून सेवा सुविधाका कारण चुनौतीपूर्ण रहेको बताएका थिए । यस्ता समस्यालाई सम्बोधन गर्नका लागि सरकारले उपयुक्त नीतिगत निर्णय लिने पनि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए । 

बैठकमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, महालेखा नियन्त्रक कार्यालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, नागरिक लगानी कोष, नेपाल बिमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नागरिक लगानी कोष, नेपाल स्टक एक्सचेन्ज, राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल बैङ्क लिमिटेडलगायतका अधिकारीको सहभागिता रहेको थियो ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया