NIMB Header 2
Nepal Life

डिजिटल ठगीविरुद्ध राष्ट्र बैंकको चेतावनी: 'सित्तैमा केही पाइँदैन'

Citizen Life
  • BFIS News
  • 2025 Apr 08 14:00
डिजिटल ठगीविरुद्ध राष्ट्र बैंकको चेतावनी: 'सित्तैमा केही पाइँदैन'
National Life

काठमाडौं । सामाजिक सञ्जाल, मोबाइल एप र अनलाइनमार्फत हुने वित्तीय ठगीका घटना तीव्र रूपमा बढिरहेका बेला नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट हुने आपराधिक क्रियाकलापप्रति सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।

NIMB

मंगलबार वित्तीय चेतनाका लागि जारी सन्देशमा राष्ट्र बैंकले ‘सस्तोमा मोबाइल दिन्छौँ’, ‘चिट्ठा पर्‍यो’, ‘रकम डबल हुन्छ’, ‘क्रिप्टो वा फरेक्स किन्नुस्’ भन्ने जस्ता प्रलोभनमा नपर्न सर्वसाधारणलाई आग्रह गरेको हो।

‘यस्ता म्यासेज आएर त्यसलाई पत्याएर आफ्ना गोप्य विवरण वा नागरिकता जस्ता निजी कागजात दिए सम्पत्ति कमाउने त परै जाओस्, भएको पनि गुम्न सक्छ,’ राष्ट्र बैंकले चेतावनी दिएको छ। यस्ता सन्देश प्राप्त भएमा सतर्क रहन र सोचविचार गरेर मात्रै निर्णय लिन बैंकले सुझाएको छ।

राष्ट्र बैंकको भनाइ छ, ‘सित्तैमा केही पनि नपाइने र यस्ता सन्देशहरूको पछाडि सधैँ कुनै न कुनै दाउपेच लुकेको हुनेतर्फ ध्यान दिनुपर्छ।’

नेपाल राष्ट्र बैंकअन्तर्गतको फाइनान्सियल इन्टेलिजेन्स युनिटले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार नेपालमा डिजिटल कारोबारको संख्या अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। तर, कारोबारसँगै शंकास्पद गतिविधिहरू पनि तीव्र रूपमा बढेका छन्।

आर्थिक वर्ष २०७७/७८ मा १ हजार ९० वटा शंकास्पद तथा सन्देहास्पद कारोबारसम्बन्धी उजुरी (एसटीआर/एसएआर) दर्ता भएकोमा ५ वर्षपछि, २०८०/८१ मा उक्त संख्या बढेर ७ हजार ३३८ पुगेको प्रतिवेदनमा उल्लेख छ।

‘सन् २०२४ को मे ३१ सम्म दर्ता भएका उजुरीमध्ये ६३ प्रतिशतभन्दा बढी साइबर इनेबल्ड फ्रड अर्थात् इन्टरनेटको माध्यमबाट गरिएका ठगीका घटना थिए,’ प्रतिवेदनमा भनिएको छ।

राष्ट्र बैंकका अनुसार पछिल्लो समय क्रिप्टोकरेन्सी कारोबारसँग जोडिएका शंकास्पद गतिविधिहरू समेत बढिरहेका छन्। भर्चुअल सम्पत्ति, क्रिप्टो कारोबार र व्यापारका माध्यमबाट हुने रकम शुद्धीकरण (मनी लन्डरिङ) जस्ता नयाँ जोखिमलाई नियन्त्रण गर्न थप निगरानी र कडा कानुनी कार्यान्वयन आवश्यक रहेको राष्ट्र बैंकको ठहर छ।

‘डिजिटल कारोबारको तीव्र विस्तारले गलत प्रयोगको सम्भावना समेत बढाएको छ,’ प्रतिवेदनमा उल्लेख गरिएको छ, ‘यसका लागि वित्तीय संस्थाहरूले अझ कडा निगरानी र नियमन पालना गर्न आवश्यक छ।’

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया