Nepal Life

टर्म इन्स्योरेन्समा ध्यान दिन बीमा कम्पनीलाई प्राधिकरणको सुझाव

NMB Bank
  • BFIS News
  • 2025 Apr 11 17:47
टर्म इन्स्योरेन्समा ध्यान दिन बीमा कम्पनीलाई प्राधिकरणको सुझाव
United Ajod

काठमाडौं, चैत २९ गते । नेपाल बीमा प्राधिकरणले आज नववर्ष २०८२ सालको अवसरमा आफ्नो केन्द्रीय कार्यालय, कुपण्डोलमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ।

Shikhar
Nepal Life
NIMB

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रको विकास र आकार वृद्धिका लागि बीमा कम्पनीहरू अझ बढी इमान्दारिता र जिम्मेवारीपूर्वक अगाडि बढ्नुपर्ने विश्वास व्यक्त गरे। उनले प्राधिकरण अब आफ्नो संस्थागत क्षमता अभिवृद्धि गर्दै स्तरीय सेवा दिन पूर्णतः तयार रहेको पनि उल्लेख गरे।

बीमा कम्पनीहरूलाई बोनसमा मात्र केन्द्रित नभई टर्म इन्स्योरेन्सतर्फ अग्रसर हुन सुझाव दिँदै अध्यक्ष ओझाले भने, “जोखिमाङ्कनमा समस्या छन्, त्यसलाई सुधार्नुपर्छ। बीमालेख जारी गर्दा नवीकरणको लक्ष्य समेत समेट्नुपर्छ। बीमा गराउने बेलामै बीमालेखका शर्तलगायत सम्पूर्ण विवरण ग्राहकलाई स्पष्ट जानकारी दिनुपर्छ। कर्मचारीहरूलाई तालिम दिनुपर्छ र आफूले गरेका कामको जनचेतना अभिवृद्धि गर्ने गरी प्रचार गर्नुपर्छ।”

उनले बीमा कम्पनीहरूलाई सजिलो क्षेत्रबाट बाहिर निस्केर घर तथा नयाँ क्षेत्रमा बीमा विस्तार, उपभोक्ता समूहलाई बीमामा आवद्ध गराउने र लगानी समेत सुरक्षित हुने गरी टर्म इन्स्योरेन्सको बजार बढाउनुपर्ने आवश्यकता औंल्याए। साथै, बीमा बजारमा विद्यमान समस्या पहिचान गरी समाधानसहित अगाडि बढ्नुपर्ने निर्देशसमेत दिए।

अध्यक्ष ओझाले बीमा कम्पनीहरूको कार्यप्रदर्शन अनुगमन गर्ने जिम्मेवारी प्राधिकरणमा रहेको भन्दै, कानूनी दायित्वको बेवास्ता नगरी हस्तक्षेपको अवस्था सिर्जना नहुने गरी जिम्मेवारीपूर्वक कार्य गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रको विकास र विस्तारका लागि सबै पक्षबाट सकारात्मक सहयोग र योगदानको आवश्यकता रहेको बताए।

प्राधिकरणका निर्देशक कुन्दन सापकोटाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा निर्देशकहरू, नेपाल बीमक संघ, नेपाल निर्जीवन बीमक संघ, लघुबीमक संघका अध्यक्षहरू, जीवन, निर्जीवन, लघुबीमा तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पूर्ण बहादुर थापाले गरेका थिए । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया