एनसीएचएल र मास्टरकार्डबीच अन्तरदेशीय भुक्तानीको लागि रणनीतिक सहकार्य
- BFIS News
- 2025 Apr Tue 16:26

काठमाडौं, बैशाख २ गते । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र मास्टरकार्डले नेपाल भ्रमणमा आएका अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि मास्टरकार्ड प्रयोग गरी क्यूआर मार्फत भुक्तानी गर्न मिल्ने व्यवस्था सम्बन्धी समझदारीपत्र (MoU) मा हस्ताक्षर गरेका छन्।
दुवै पक्षले यो सहकार्यमार्फत ‘Pay like a Local’ भन्ने अवधारणालाई प्रोत्साहन गर्दै, अन्तर्राष्ट्रिय मास्टरकार्ड प्रयोगकर्ताहरूले नेपालका NEPALPAY QR तथा अन्य अन्तरक्रियाशील QR व्यापारीहरूमार्फत सजिलै भुक्तानी गर्न सक्ने व्यवस्था मिलाउने लक्ष्य राखेका छन्।
यस सहकार्यले पर्यटकहरूलाई स्थानीय स्तरमा डिजिटल भुक्तानी गर्ने थप माध्यम उपलब्ध गराउनेछ, जसले गर्दा नेपालमा डिजिटल भुक्तानीको पहुँच र प्रयोग अझ व्यापक हुनेछ। हाल NEPALPAY QR र यसको अन्तरक्रियाशील QR नेटवर्कमार्फत करिब १० लाख व्यापारीहरू सेवा दिइरहेका छन् भने मास्टरकार्डका विश्वभर ३.१ अर्बभन्दा बढी कार्ड जारी भएका छन्।
यस सहकार्यले विशेषतः नेपालमा प्रवेश गर्ने पर्यटकहरूमार्फत हुने अन्तरदेशीय कारोबारलाई सहज बनाउँदै नेपालको पर्यटन क्षेत्रलाई थप सहयोग पुर्याउने विश्वास गरिएको छ।
नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) बारेमा:
नेपाल राष्ट्र बैंक र नेपालका बैंक तथा वित्तीय संस्थाहरूको संयुक्त लगानीमा स्थापित एनसीएचएल एक सार्वजनिक लिमिटेड कम्पनी हो जसले मुलुकमा विभिन्न डिजिटल भुक्तानी प्रणालीहरू सञ्चालन गर्दै आएको छ। एनसीएचएलले ई-चेक क्लियरिङ (ECC), अन्तरबैंक भुक्तानी प्रणाली (IPS), राष्ट्रिय भुक्तानी स्विच (NPS), खुद्रा भुक्तानी स्विच (RPS), राष्ट्रिय कार्ड स्विच (NCS), कनेक्तRTGS, खुला API प्लेटफर्म, connectIPS, कार्ड प्रोसेसिङ सेवा तथा CORPORATEPAY जस्ता सेवा प्रदान गर्दै आएको छ।
NEPALPAY QR बारेमा:
NEPALPAY QR, राष्ट्रिय भुक्तानी स्विच (NPS) अन्तर्गतको नेपाल क्यूआर मापदण्डमा आधारित स्वतन्त्र क्यूआर स्किम हो, जसले QR को जारीकर्ता, व्यापारी र नेटवर्कस्तरमा अन्तरक्रियाशीलता उपलब्ध गराउँछ। हाल यस नेटवर्कले ४२ भन्दा बढी मोबाइल बैंकिङ एप्स, ११ वालेट एप्स र connectIPS मार्फत स्क्यान एण्ड पे सुविधा सहित करिब १० लाख व्यापारीहरूसम्म पहुँच बनाइसकेको छ।
Mastercard बारेमा:
मास्टरकार्डले विश्वका २०० भन्दा बढी देश तथा भूभागहरूमा आर्थिक प्रणालीलाई सशक्त बनाउँदै व्यक्तिहरूलाई डिजिटल भुक्तानीमार्फत सशक्त बनाउने कार्य गर्दै आएको छ। सुरक्षित, सजिलो र स्मार्ट कारोबार सुनिश्चित गर्न मास्टरकार्डले नवीनतम प्रविधि, साझेदारी तथा सञ्जालहरूको प्रयोग गर्दै विविध सेवा तथा उत्पादनहरू प्रदान गर्दछ।
प्रतिक्रिया