नेपाल लाइफको ऐतिहासिक पाइलाको सुरुवात, लगानी विविधिकरणतर्फको संरचनात्मक डिपार्चर
- BFIS News
- 2025 May 08 22:28
काठमाडौं। २५ वर्षको यात्रा तय गर्दै गर्दा बीमा क्षेत्रको अग्रणी कम्पनीको रूपमा स्थापित नेपाल लाइफ इन्स्योरेन्सले अब अर्को ऐतिहासिक पाइलाको सुरुवात गरेको छ। नेपाल लाइफले पुर्ण स्वामित्वमा ५ अर्ब रुपैयाँको पूँजी सहित नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको उद्घाटन गरेको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीका अनुसार, “नेपाल लाइफले लगानी विविधिकरणको नयाँ युगमा प्रवेश गरेको छ। यो संरचनात्मक डिपार्चर हो, जुन कम्पनीको कोर भ्यालु विस्तार गर्ने दीर्घकालीन रणनीति अन्तर्गत आएको हो।”
चुनौतीलाई अवसरमा रूपान्तरण
विश्वव्यापी कोरोना महामारी पछि बजारमा एकैपटक अवसर र चुनौती आइपरे। तर नेपाल लाइफले यसलाई ‘मार्केट सिर्जना’ को अवसरको रूपमा लिएको छ। “जहाँ चुनौती हुन्छ, त्यहीं अवसर पनि हुन्छ,” पराजुली भन्छन्, “हामीले सम्पत्ती विस्तारमार्फत चुनौतीलाई अवसरमा परिणत गरेका छौं।” यही सोचका साथ कम्पनीले हेटौंडा, इटहरी, र विराटनगरमा आफ्नै भवन निर्माणको तयारी गरिरहेको छ भने, आर्थिक वर्ष भित्रै थप ६ स्थानमा जग्गा खरिदको योजना अघि बढाइएको छ।
नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको स्थापना : एक नयाँ युगको सुरुवात
नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी विशेष उद्देश्ययुक्त संस्था (Special Purpose Vehicle) को अवधारणामा आधारित छ। कम्पनीको उद्देश्य भनेको लगानी विभागलाई मात्र सीमित नराखी, स्वायत्त र विशेषज्ञ संस्थाको रूपमा विकास गर्नु हो। “हामीले कम्पनीको २५ वर्षे अनुभवलाई नेतृत्व गर्न सक्षम संस्था जन्माएका छौं,” पराजुली भन्छन्।
यस संस्थामार्फत लगानी विविधिकरणका योजनाहरूलाई मूर्तरूप दिइँदैछ। बीमा ऐनले परम्परागत लगानी सीमालाई फराकिलो बनाएको सन्दर्भमा, नेपाल लाइफले आफ्ना रणनीतिहरू पनि ऐन अनुसार परिमार्जन गर्दै लगानीको दायरा बढाएको छ। यस संस्थाको नेतृत्व दुई दशक लामो अनुभव बोकेका सुवास थापालाई जिम्मा दिइएको छ, जसले वित्तीय अनुशासन, समयोचित निर्णय, र जोखिम व्यवस्थापनमा सन्तुलन ल्याउने अपेक्षा गरिएको छ।
विश्वास, स्थायित्व र भविष्यप्रतिको प्रतिबद्धता
आजको समयमा लगानीबाट ४–५ प्रतिशत प्रतिफल सुनिश्चित गर्न पनि चुनौतीपूर्ण छ। तथापि, नेपाल लाइफले सबै स्टेकहोल्डरको विश्वास जित्ने र स्थायित्व कायम गर्ने नीति लिएर अघि बढेको छ। कम्पनीको दृष्टिकोण स्पष्ट छ सिइओ पराजुलीले भने 'पहिलो प्राथमिकता भनेको पूँजीको संरक्षण, त्यसपछि प्रतिफल। सही समयमा र सही क्षेत्रमा लगानी तथा जोखिम न्यूनीकरण नै कम्पनीको मूल मन्त्र हो।'
बीमा क्षेत्रका लागि प्रेरणा बन्ने बाटो
नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको स्थापना नेपाल लाइफ मात्रका लागि नभई सम्पूर्ण जीवन बीमा क्षेत्रका लागि प्रेरणाको स्रोत बन्ने भएको छ। “हामी हाम्रो लगानी प्रति गम्भीर छौं,” पराजुलीले भने, “यो कदमले बीमा क्षेत्रलाई नयाँ बाटोमा डोहोर्याउनेछ।”
संस्थागत रूपमा लगानीलाई विवेकी ढंगले विविधिकरण गर्ने यो प्रयासले बीमा क्षेत्रलाई दीर्घकालीन वित्तीय स्थायित्व र रणनीतिक नेतृत्वको नयाँ उदाहरण दिन सक्छ, पराजुली भन्छन् 'कम्पनीको विश्वास छ कि, अर्को दशक नपुग्दै यो संस्थाले उल्लेखनीय उपलब्धि हासिल गर्नेछ।'
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया