NIMB Header 2
Nepal Life

बजेटले पूँजी बजारलाई दिएको सन्देश सकारात्मक : नेपाल इन्भेष्टर फोरम अध्यक्ष ढकाल, अफवाह अन्त्य भयो

National Life
  • BFIS News
  • 2025 May 29 19:41
बजेटले पूँजी बजारलाई दिएको सन्देश सकारात्मक : नेपाल इन्भेष्टर फोरम अध्यक्ष ढकाल, अफवाह अन्त्य भयो
Sanima Reliance

काठमाडौं । नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले पूँजी बजारमा सकारात्मक सन्देश दिएको बताएका छन्। उनले केही दिनदेखि बजारमा देखिएको अन्योलता र अफवाह अन्त्य भएको उल्लेख गर्दै अब पूँजी बजारले गति लिने अपेक्षा व्यक्त गरेका छन्।

Shikhar
NIMB

ढकालले भने, “सरकारले प्रस्तुत गरेको बजेट हिजो जे थियो आज पनि त्यहि यथास्थितिमा रह्यो। शेयर बजारमा केहि दिन अगाडीदेखि ‘सरकारले पूँजीगत लाभकर बढाउदैछ रे’ भन्ने हल्ला थियो। तर, आजको बजेटले ती सबै हल्लालाई पूर्णविराम दिएको छ। जसरी बजारमा हल्ला भए अनुसार कर नबढ्नु स्वागत योग्य छ।”

उनले पूँजीगत लाभकरलाई अन्तिम कर बनाउने विषयमा आफूहरुले लामो समयदेखि माग गर्दै आएको उल्लेख गर्दै भने, “हामीले बजेटमा सुझाव दिँदा अल्पकालीन लगानीकर्ताका लागि ५ प्रतिशत र दीर्घकालीन लगानीकर्ताका लागि ३ प्रतिशत पूँजीगत लाभकर हुनुपर्ने र यो अन्तिम कर हुनुपर्ने बताएका थियौँ। सम्भवत: अब त्यो ऐनमार्फत कार्यान्वयनमा आउनेछ भन्ने आशा गरेका छौँ।”

अध्यक्ष ढकालले बजेटमा समेटिएका अन्य विषयहरु पनि शेयर बजारको लागि उत्साहजनक रहेको बताए। उनले स्टक एक्सचेन्जलाई पुनर्संरचना गर्ने घोषणा, एनआरएनलाई दोस्रो बजारमा लगानी गर्न दिने प्रस्ताव, र नागरिक लगानी कोष, सञ्चय कोष, सामाजिक सुरक्षा कोष, क्यापिटल भेन्चर लगायतका संस्थाहरुले पूँजी बजारमा शेयर खरिद गर्न सक्ने व्यवस्था स्वागत योग्य रहेको बताए।

ढकालले भने, “सरकारले पूँजी बजारलाई केही सकारात्मक दिशामा लैजाने इच्छा देखाएको छ। बजेटले जुन खालको नीतिगत स्पष्टता दिएको छ, त्यसले लगानीकर्तामा आत्मविश्वास बढाउनेछ।”

तर, उनले बजेटको कार्यान्वयन पक्षप्रति भने चिन्ता व्यक्त गरे। “बजेटको सबैभन्दा कमजोर पक्ष भनेको कार्यान्वयन हो। स्टक एक्सचेन्जको पुनर्संरचना जस्तो महत्वपूर्ण विषयलाई योजनागत रूपमा अघि बढाउन आवश्यक छ,” उनले स्पष्ट पारे।

अर्थतन्त्रको समग्र अवस्थालाई हेर्दा पूँजी बजार त्यसको ऐना भएको उल्लेख गर्दै ढकालले भने, “पूँजी बजार नबढी अर्थतन्त्र सुधार हुँदैन। अहिलेको जस्तो थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन पूँजी बजारमा सुधार अनिवार्य छ।”

बजेटमा कृषि, जलविद्युत, अपार्टमेन्ट हदबन्दी, रोजगारी सिर्जना, युवा स्वरोजगारका लागि विनाधितो कर्जा जस्ता विषय समेटिएको उल्लेख गर्दै उनले अर्थतन्त्रलाई चलायमान बनाउने प्रयासको स्वागत गरे।

“कृषिमा बजेटले फोकस गरेको देखिन्छ। जलविद्युतको विकासका विषय पनि समेटिएको छ। यस्तो नीतिले समग्र अर्थतन्त्र र पूँजी बजारमा विश्वासको वातावरण बनाउन सक्छ,” अध्यक्ष ढकालले निष्कर्ष दिए।

उनका अनुसार, मौद्रिक नीतिबाट पूँजी बजारप्रति अझ स्पष्टता आउनेछ र लगानीकर्ताले थप सकारात्मक सन्देश पाउनेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया