बिना लगानी पैसा कमाउने ट्रेडरको प्रबृत्तीले बजार प्रभावित, यि हुन शेयर बजार बढ्न नसक्नुका १० कारण
- अरुण सापकोटा
- 2025 Jun Wed 19:40

काठमाडौं । शेयर बजारमा लगानीकर्ताको प्रवृत्तिले गहिरो प्रभाव पार्दछ। पछिल्लो समय नेपाली पुँजी बजारमा वास्तविक लगानीभन्दा पनि 'बिना पैसा कमाउने’ प्रवृत्ति हावी हुँदै गएको छ, जसका कारण बजारले अपेक्षित गति लिन सकेको छैन।
एकजना अनुभवी लगानीकर्ताका अनुसार, हाल व्यक्तिगत तथा संस्थागत दुवै समूहका लगानीकर्तामा लगानी गर्ने प्रेरणा छैन। “संस्थागत लगानीकर्तालाई शेयर धितो कर्जामा सीमा छैन, तर लगानी गर्ने इच्छा छैन। व्यक्तिगत लगानीकर्तासँग पनि कर्जा सीमा छ, तर लगानी गर्ने मनोवृत्ति कमजोर देखिन्छ,” उनी भन्छन्। अर्कोतर्फ, आफ्नो पैसा हालेर वा ऋण खोजेर लगानी गर्ने प्रवृत्ति हराउँदै गएको छ। एक विश्लेषकका शब्दमा, “बरु ब्रोकरको पैसा प्रयोग गरेर शेयर किन्ने प्रतिस्पर्धा चलिरहेको छ।”
हाल व्यक्तिगत लगानीकर्ताका लागि अधिकतम १५ करोड रुपैयाँसम्म कर्जा सीमा तोकिएको छ भने संस्थागत लगानीकर्ताका लागि यो सीमा खुला (असिमित) छ। तर विश्लेषकहरू भन्छन्, “१५ करोडको सीमा आफैंमा गम्भीरताका साथ लगानी गर्न चाहने व्यक्तिका लागि बाधक बनिरहेको छ।”
अर्कोतर्फ, ऋण लिन सक्ने क्षमता भएका व्यक्तिहरूले पनि ऋण लिइरहेका छैनन्। बरु ‘ब्रोकरकै पैसा प्रयोग गर्ने र आनन्दले बस्ने’ प्रवृत्ति व्यापक हुँदै गएको छ। यसले बजारमा दीर्घकालीन लगानीभन्दा अल्पकालीन लाभका लागि मात्र कारोबार भइरहेको संकेत गर्छ।
संस्थागत लगानीकर्ताका लागि अन्य थप खर्चहरू नरहे पनि सरकारलाई ३५ प्रतिशतसम्म कर तिर्नु पर्ने बाध्यता छ। पूँजीगत लाभमा ५–५.५ प्रतिशत र कम्पनी मुनाफामा ३० प्रतिशत कर तिर्नु परेपछि उनीहरू शेयर बजारतर्फ आकर्षित हुन सकेका छैनन्। धितोपत्र बोर्डले उनीहरूका लागि छुट्टै प्लेटफर्म उपलब्ध गराएको भए पनि उच्च कर दरले दीर्घकालीन संस्थागत लगानी रोकिएको छ। बजार घट्दा लामो समय ठुलो नोक्सानी बेहोर्नु पर्छ तर मुनाफा हुने वित्तीकै ठुलो कर तिर्नु पर्छ।
बजार बढ्दा ब्रोकरको मनपरी लिमिट, घट्दा कडाई
ब्रोकरको भूमिकाबारे एक ब्रोकर भन्छन्, “बजारमा वास्तविक कारोबार तब मात्र हुन्छ जबसम्म कोल्याट्रल र ट्रायल कारोबारको प्रक्रिया सुनिश्चित हुँदैन।” उनका अनुसार, “यदि खातामा पैसा नभएसम्म शेयर खरिद गर्न नपाइने व्यवस्था लागू गरिने हो भने अहिले देखिएको समस्याको अन्त्य हुनसक्छ।”
तर यथार्थमा, बजार बढ्दा ब्रोकरहरू लगानीकर्तालाई मनपरी लिमिट दिने गर्छन्, जसले कृत्रिम रूपमा कारोबार वृद्धि भएको देखाउँछ। बजार स्थिर या घट्ने अवस्थामा पुगेपछि भने ती लिमिटहरू कडाईका साथ नियन्त्रण गरिन्छ।
विश्लेषकहरू भन्छन्, “यदि सरकारले व्यक्तिगत कर्जा सीमा वृद्धि गर्ने, कारोबार पारदर्शी बनाउने र ‘रियल टाइम’ प्रणाली लागू गर्ने हो भने मात्रै शेयर बजारले वास्तविक स्वरूप पाउन सक्छ।” त्यसका लागि ‘ब्रोकरको पैसा खोजेर धनी बन्ने’ होइन, ‘आफ्नै पूँजी लगानी गरेर दीर्घकालीन प्रतिफल खोज्ने’ प्रवृत्तिको विकास अपरिहार्य छ।
शेयर बजारलाई प्रभावित पार्ने १० कारण
१. गएको वर्ष नेप्से सूचक ३,००० पुगेका बेला दैनिक कारोबार २८–२९ अर्ब रुपैयाँसम्म पुगेको थियो। यस अवधिमा शेयर बिक्री गरेर बाहिरिएका ठूला लगानीकर्ताहरू अहिले पनि बजारमा फर्किएका छैनन्।
२. नेपाल धितोपत्र बोर्डले ब्रोकरको न्यूनतम चुक्ता पूँजी २० करोड रुपैयाँ तोकेसँगै ब्रोकरहरू आफैंले पनि बजारबाट पूँजी उठाउन थालेका छन्। आफ्नै शेयर बिक्री गरेर पूँजी जुटाउने प्रवृत्तिले बजारमा नकारात्मक प्रभाव पारेको छ।
३. ब्रोकरको लिमिट प्रयोग गरेर नाफा कमाउने ट्रेडरहरूको संख्या धेरै छ। यिनीहरूले स्वयं पैसा नलगाई ब्रोकरलाई नाफा भए मात्रै तिर्छु भनी क्रेडिटमा कारोबार गर्छन्, जसले बजारलाई अस्थिर बनाएको छ।
४. संस्थागत लगानीकर्तालाई निरुत्साहित पार्ने कर नीति अर्को प्रमुख कारण हो। उनीहरूले पूँजीगत लाभमा ५–७.५ प्रतिशत र कम्पनी मुनाफामा ३० प्रतिशत कर तिर्नुपर्ने हुँदा व्यक्तिगत रूपमा लगानी गर्न रुचाउँछन्।
५. व्यक्तिगत लगानीकर्ताको कारोबार सीमामा राष्ट्र बैंकले तोकेको १५ करोड रुपैयाँको सीमा कारण बाधा पुगेको छ। यसले बजारमा अनुशासित लगानी वातावरण बन्न सकेको छैन।
६. धेरै लगानीकर्ता ब्रोकरको लिमिट मात्र प्रयोग गरेर कारोबार गर्छन्। आफ्नो पूँजी लगानी गर्ने प्रवृत्ति कम छ। नियमित कारोबार गर्ने लगानीकर्तालाई लिमिट नदिँदा ब्रोकर र लगानीकर्ताबीचको सम्बन्धमा दरार आउने खतरा रहन्छ।
७. तरल राजनीतिक घटनाक्रमले पनि बजारमा तीव्र उतारचढाव ल्याउने गर्छ। कहिले राजावादी आन्दोलन, कहिले सरकार परिवर्तनको चर्चा—यस्ता हल्लाले बजार प्रभावित हुने गरेको छ।
८. राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शेयर बजारमा लगानी गर्न हतोत्साहित गरेको छ। बैंकहरूले शेयर खरिद गरेपछि एक वर्षसम्म बेच्न नपाउने नियमले उनीहरू दीर्घकालीन लगानी गर्न इच्छुक देखिँदैनन्।
९. पोर्टफोलियोमा अत्यधिक गिरावटका कारण लगानीकर्ताहरूले ठूलो मूल्यको लगानी गुमाएका छन्। केही कम्पनीमा सुधार देखिए पनि अधिकांशको शेयर मूल्य चरम रूपमा घटेको छ।
१०. बजारमा दीर्घकालीनभन्दा अल्पकालीन नाफामात्र खोज्ने प्रवृत्ति हावी छ। दीर्घकालीन लगानी गर्न खोज्नेहरू पनि समयमा शेयर बेच्न नजान्दा सधैं घाटा बेहोर्नुपर्ने अवस्था देखिन्छ।
प्रतिक्रिया