NIMB Header 2
Nepal Life

शेयर बजारमा देखिएको अन्योलताप्रति फुल्लेलको चिन्ता : "हामी पनि कुहिरोको काग जस्तै भयौं"

Muktinath Bank
  • BFIS News
  • 2025 Jun 07 08:41
शेयर बजारमा देखिएको अन्योलताप्रति फुल्लेलको चिन्ता : "हामी पनि कुहिरोको काग जस्तै भयौं"
National Life

काठमाडौं । शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुल्लेलले पछिल्लो समय शेयर बजारले अपेक्षित लय लिन नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन्। “बजारले किन लय लिन सकेन भन्दै गर्दा हामी पनि कुहिरोको काग जस्तै भइरहेका छौं,” फुल्लेलले भने।

NIMB

उनका अनुसार हालको अवस्थाले शेयर बजार वृद्धि हुने आधारहरू प्रष्ट देखिन्छन्। बैंकको व्याजदर घटेको छ, तरलता पर्याप्त छ, अर्थतन्त्रका सूचकहरू सबल छन्। “आर्थिक वृद्धिदर ५ प्रतिशत हाराहारीको छ, विदेशी मुद्रा सञ्चिति एकदमै राम्रो छ,” फुल्लेलले भने, “निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले समेत अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका छन्। सबै सकारात्मक संकेत हुँदाहुँदै पनि बजार किन घटिरहेको छ भनेर बुझ्न सकिएको छैन।”

फुल्लेलका अनुसार अहिलेको बजारमा लगानीकर्ताभन्दा बढी ट्रेडरको हाबी छ। “सानो प्रोफिटमै कारोबार गर्ने प्रवृत्ति बढेको छ।” उनले बताए।

उनले बजेटमै पनि सकारात्मक व्यवस्था भएको उल्लेख गरे। “तेस्रो त्रैमासिक समीक्षामा राष्ट्र बैंकले शेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा ल्याएको छ, जुन सकारात्मक हो,” फुल्लेलले भने।

उनले बजारको दीर्घकालीन सिथिलता र साइडवेज ट्रेण्डलाई लिएर पनि गम्भीर चिन्ता व्यक्त गरे। “शेयर बजारले माथि जानु पर्ने हो, तर भित्रि चलखेल र अफवाहका कारण बजार घटाइएको देखिन्छ,” उनले भने।

फुल्लेलले हालै सञ्चार माध्यममा बजेटअघि पूँजीगत लाभकर बढ्ने अफवाह फैलाएर बजार घटाउने प्रयास गरिएको बताए। “बजारमा चलखेल गर्ने धेरै छन्,” उनले भने। उनले गभर्नर नियुक्तिको विषयलाई लिएर पनि केहि लगानीकर्ता त्रसित भएको उल्लेख गरे। “डा. नीलम ढुंगाना गभर्नर बन्ने चर्चा चल्दा केहि ठूला लगानीकर्ता शेयर बिक्री गरेर बाहिरिए। तर उनीहरुको अनुमान विपरीत नियुक्ति भयो,” फुल्लेलले बताए।

यद्यपि उनले अहिले बजारमा लगानी गर्न चाहनेका लागि यो सुनौलो अवसर भएको धारणा राखे। “हाल ट्रेण्डमा चल्ने प्रवृत्ति छ। तर, ट्रेण्डभन्दा पनि कम्पनीको वित्तीय विवरण हेरेर लगानी गर्नु बुद्धिमानी हुन्छ,” उनले भने। “कमजोर कम्पनीका शेयर बढिरहेका छन्, त्यस्ता स्क्रिप्टमा जोखिम बढी हुन्छ।”

फुल्लेलका अनुसार बजारमा कुन कम्पनीको कारोबार बढी छ र वित्तीय अवस्था सबल छ, त्यहीमा लगानी गर्नु सुरक्षित हुन्छ। “ट्रेण्ड समात्न सकियो भने केही पैसा कमाउन गाह्रो छैन,” उनले भने। दीर्घकालीन सोच लिएर लगानी गरे भविष्यमा प्रतिफल राम्रो हुने फुल्लेलको विश्वास छ।

तर उनले हाल कतिपय लगानीकर्ता बैंकको ऋणको ब्याज तिर्न सक्न नसक्दा समस्यामा परेको पनि बताए। “एक त्रैमासिकको ब्याज तिरेपछि अर्को तुरुन्तै आउँछ तर शेयर भने बढ्दैन। यसले गर्दा लगानीकर्ता निराश छन्,” फुल्लेलले बताए। उनले शेयर धितो कर्जामा ब्याज नतिर्न सके अन्य कर्जाभन्दा बढी जोखिम हुने बताए। “ब्याज प्यानलदेखि शेयर नै बिक्री गरिने अवस्था आउँछ,” उनले भने।

फुल्लेलले पछिल्लो समय संस्थापक शेयरमा लगानीकर्ताको आकर्षण बढेको पनि उल्लेख गरे। “आधार मूल्यमै शेयर किन्न पाइने र दीर्घकालमा सुरक्षित हुने देखेर संस्थापक शेयरप्रति झुकाव देखिएको हो,” उनले विश्लेषण गरे।

उनले अन्त्यमा नयाँ स्टक एक्सचेन्जको स्थापना प्रक्रियाले पूँजी बजारमा प्रतिस्पर्धा बढाउने र समग्र बजारमा सुधार ल्याउने अपेक्षा व्यक्त गरे। “मन्त्रिपरिषदको निर्णय अनुसार नयाँ स्टक एक्सचेन्जको बाटो खुलेको छ। यसले पूँजी बजारमा राम्रो सन्देश दिन सक्छ,” कार्यवाहक अध्यक्ष फुल्लेलले आशा व्यक्त गरे।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया