Nepal Life

नेपालको सुस्त अर्थतन्त्रको असर बैंकिङ क्षेत्रमा: निष्क्रिय कर्जा तीव्र रूपमा बढ्दै, सम्हालिन अझै समय लाग्ने

RBB
  • BFIS News
  • 2025 Jun Mon 04:51
नेपालको सुस्त अर्थतन्त्रको असर बैंकिङ क्षेत्रमा: निष्क्रिय कर्जा तीव्र रूपमा बढ्दै, सम्हालिन अझै समय लाग्ने
Shikhar detail

काठमाण्डौ, जेठ २६। करिब तीन वर्षदेखि कायम रहेको आर्थिक मन्दीको असर अब बैंकिङ क्षेत्रमा पनि गहिरिन थालेको छ। सुरुमा बैंक तथा वित्तीय संस्थाहरूले त्यसको तत्काल प्रभाव महसुस नगरेका भए पनि पछिल्ला तथ्यांकहरूले यो क्षेत्र अर्थतन्त्रको संकटबाट अछुतो नरहेको पुष्टि गर्छ।

NIMB

चालु आर्थिक वर्षको अन्त्यसम्ममा खराव कर्जामा केहि सुधार हुने अपेक्षा गरिए पनि अहिलेसम्म अवस्था सहज नभएको बैंकरहरु बताउछन्। वित्तीय विवरण राम्रो देखाउन केहि वासिङका कामहरु भए पनि यथार्थमा सुधारका संकेतहरु अझै पनि देखिन सकेको छैन।

कर्जा प्रवाहमा गिरावट, लगानीयोग्य रकम थन्कियो

हालको मौद्रिक नीतिले उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउने उद्देश्य राखेको थियो। तर, बैंकहरूले लक्ष्यअनुसार कर्जा प्रवाह गर्न सकेका छैनन्। निजी क्षेत्रमा कर्जा नबढ्दा बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम थुप्रिएको छ।

आर्थिक वर्ष २०८१/८२ को बजेटमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिइएको थियो। सो लक्ष्यअनुसार मुद्राप्रदायको वृद्धिदर १२ प्रतिशत र निजी क्षेत्रतर्फ कर्जा प्रवाह १२.५ प्रतिशत राखिएको थियो। तर, राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५.७ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा प्रवाह ७.१ प्रतिशत मात्रै पुगेको छ।

वार्षिक बिन्दुगत आधारमा यो वृद्धि दर क्रमशः ११.५ र ८.३ प्रतिशत मात्र छ, जुन राष्ट्र बैंकको लक्ष्यभन्दा उल्लेखनीय रूपमा कम हो।

निष्क्रिय कर्जा बढ्दो, कर्जा असुलीमा समस्या

आर्थिक मन्दीका कारण निजी क्षेत्रमा ऋण भुक्तानीमा समस्या देखिएको छ। व्यवसायीहरू साँवा र ब्याज तिर्न नसक्ने अवस्थामा छन्। यसले बैंकहरूको वित्तीय सूचकहरूमा प्रत्यक्ष प्रभाव पारेको छ।

२०८० चैतमा बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अनुपात ३.९८ प्रतिशत रहेकोमा २०८१ चैतमा ५.२४ प्रतिशत पुगेको छ। यस अवधिमा वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा ५.०५ प्रतिशत, विकास बैंकको ५.५६ प्रतिशत र वित्त कम्पनीहरूको १३.०४ प्रतिशत पुगेको छ।

 ब्याजदर घट्यो, तर लगानी वातावरण उत्साहजनक छैन

बैंक तथा वित्तीय संस्थाहरूको औसत आधार दर, निक्षेप तथा कर्जाको भारित औसत ब्याजदर सबै घटेका छन्। उदाहरणका लागि, वाणिज्य बैंकहरूको औसत आधार दर ८.५१ प्रतिशतबाट घटेर ६.२९ प्रतिशतमा झरेको छ। त्यस्तै कर्जाको औसत ब्याजदर १०.५५ प्रतिशतबाट घटेर ८.२२ प्रतिशतमा झरेको छ।

निष्क्रिय कर्जा वृद्धिका प्रमुख कारणहरू

१. कोभिड–१९ को असर:— महामारीका कारण आर्थिक गतिविधि सुस्त हुँदा बैंकहरूले मूल्याङ्कन नगरी आक्रामक रूपमा कर्जा प्रवाह गरे, जसका कारण आज ती कर्जा निष्क्रिय भइरहेका छन्।

२. कर्जा प्रवाहको दबाब:— अधिक तरलता भएका कारण बैंकहरूले जोखिम मूल्याङ्कन नगरी कर्जा प्रवाह गरे। न्यूनतम आधारहरू (जस्तै क्षमता, सुरक्षा, क्रेडिट स्कोर) नअवलोकन गर्दा समस्या देखिएको हो।

३. घरजग्गा बजारको मन्दी:— घरजग्गामा लगानी गरेर मुनाफा कमाउने आशमा लिइएका कर्जा निष्क्रिय बन्दै गएका छन्।

४. सहकारी क्षेत्रको संकट:— सहकारी संस्थाहरूको अव्यवस्थित व्यवस्थापनले बैंकिङ क्षेत्रमा समेत विश्वासको संकट सिर्जना गरेको छ।

५. पुँजीगत बजेट र खर्चको कमी:— नेपाल सरकारको पुँजीगत बजेट न्यून हुनु र त्यसको खर्च ढिलो हुनु पनि आर्थिक मन्दीको एक प्रमुख कारण हो।

६. अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह:— उत्पादनशील क्षेत्रभन्दा बढी व्यापार र सेवा क्षेत्रतर्फ कर्जा प्रवाह हुँदा जोखिम बढेको हो।

७. कर्जा प्रवाहमा ह्रास, बजारको माग कमजोर:— बैंकहरूले कर्जा विस्तार नगर्दा आर्थिक गतिविधिमा कमी आएको छ। बजारमा आत्मविश्वासको कमीले पनि कर्जा उठाउन गाह्रो भइरहेको छ।

८. अन्य कारणहरू:— गलत प्रचार, जनचेतनाको अभाव, नियामक निकायको बोझ र कर्जा सुरक्षणको समस्या आदि पनि जिम्मेवार छन्।

विकास बैंक र फाइनान्स कम्पनीहरूको अवस्था झन् खराब

विकास बैंकहरूको निष्क्रिय कर्जा २.४९ प्रतिशतबाट बढेर ३.६२ प्रतिशत पुगेको छ। कुल ४ खर्ब ९९ अर्ब कर्जामध्ये १८ अर्ब ८ करोड निष्क्रिय छ। फाइनान्स कम्पनीहरूमा त झन् बढी समस्या देखिएको छ ९ अर्ब ८९ करोड कर्जा निष्क्रिय भएको छ, जुन कुल कर्जाको ९.८७ प्रतिशत हो।

बाह्य क्षेत्र सबल, तर आन्तरिक अर्थतन्त्र कमजोर

हाल नेपालको विदेशी विनिमय सञ्चिति सबल छ। तर आन्तरिक अर्थतन्त्र अझै कमजोर अवस्थामा छ। निजी क्षेत्रको मन्दी, बेरोजगारी र उपभोग क्षमताको ह्रासले समग्र आर्थिक क्रियाकलाप प्रभावित भएको छ।

सुधारको संकेत, तर चुनौती कायमै

सरकार र अन्तर्राष्ट्रिय संस्थाहरूले सुधारको संकेत देखिएका दाबी गरे पनि स्थायीत्व आउन समय लाग्ने देखिन्छ। अर्थतन्त्रमा सुधारको गति आए मात्र बैंकिङ क्षेत्रको निष्क्रिय कर्जा घट्ने आशा गर्न सकिन्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया