जलविद्युत र अन्य उपसमूहमा लगानीकर्ताको आकर्षण, नेप्से २६५३ अंक नाघ्दै उकालो
- BFIS News
- 2025 Jun Mon 16:47

काठमाडौं। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक वृद्धि हुँदै २६५३.०९ विन्दुमा बन्द भएको छ। पछिल्ला चार दिनदेखि लगातार ओरालो लागेको सूचक यस दिन २३.१९ अंकले वृद्धि भएको हो।
सूचक बढेसँगै दोस्रो बजारमा लगानीकर्ताको ध्यान जलविद्युत र अन्य उपसमूहतर्फ केन्द्रित भएको देखिएको छ। जलविद्युत उपसमूहको परिसूचक २.३५ प्रतिशतले र अन्य उपसमूहको परिसूचक २.६३ प्रतिशतले वृद्धि भएको छ। यस दिन ८३ जलविद्युत कम्पनी तथा अन्य उपसमूहअन्तर्गत ६ कम्पनीको सेयर मूल्य बढेपछि यी उपसमूहमा उल्लेख्य वृद्धि देखिएको हो।
त्यस्तै, लगानी उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले बढेको छ। भने होटल तथा पर्यटन, जीवन बीमा र व्यापार उपसमूहका परिसूचक भने सामान्य गिरावटमा देखिए।
यस दिन सेन्सेटिभ इन्डेक्स २.४४ अंकले, फ्लोट इन्डेक्स १.५५ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स १.१४ अंकले वृद्धि भएको छ।
यद्यपि, सूचक बढेपनि कारोबार रकम अघिल्लो दिनको तुलनामा केही घटेको छ। आइतबार ९ अर्बभन्दा बढीको कारोबार भएकोमा सोमबार ३२४ स्टकका ७८ हजार ८४८ पटकको कारोबारमा ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार रुपैयाँ बराबरका १ करोड ७५ लाख १ हजार कित्ता सेयर खरिदबिक्री भएको हो।
सर्किट लेभलमा हाइड्रोपावरका सेयर
यस दिन सेयरमूल्यमा उच्च वृद्धि गर्ने शीर्ष १० कम्पनीमध्ये अधिकांश जलविद्युत कम्पनी रहेका छन्। मकर जितुमाया सुरी हाइड्रोपावर, पियोर इनर्जी, दोल्ती पावर कम्पनी र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्।
बुटवल पावर कम्पनी र माया खोला हाइड्रोपावरका सेयरमूल्य पनि साढे ९ प्रतिशतभन्दा बढीले बढेका छन्।
यसै दिन सर्वाधिक मूल्य घटाउने कम्पनीमा सप्तकोशी डेभलपमेन्ट बैंक देखिएको छ, जसको सेयरमूल्य ७.४७ प्रतिशतले घटेको छ।
कारोबार रकममा राधी विद्युत अग्रस्थानमा
कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको ६१ करोड २६ लाख ७१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, युनिभर्सल पावर कम्पनीको करिब ५४ करोड रुपैयाँ र बुटवल पावर कम्पनीको ५१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
प्रतिक्रिया