Nepal Life

आइओई र डब्ल्यूटीओ उच्च नेतृत्वसँग महासंघ अध्यक्षको भेटवार्ता, बहुपक्षीय व्यापार प्रणाली र साना अर्थतन्त्रको बजार पहुँचबारे छलफल

RBB
  • BFIS News
  • 2025 Jun Tue 18:52
आइओई र डब्ल्यूटीओ उच्च नेतृत्वसँग महासंघ अध्यक्षको भेटवार्ता, बहुपक्षीय व्यापार प्रणाली र साना अर्थतन्त्रको बजार पहुँचबारे छलफल
Shikhar detail

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बदलिँदो विश्व आर्थिक परिदृष्यमा नेपालजस्ता साना मुलुकहरूको लगानी विस्तार र अन्तर्राष्ट्रिय बजार पहुँच सुनिश्चित गर्नका लागि प्रमुख अन्तर्राष्ट्रिय निकायहरूसँग उच्चस्तरीय छलफल गरेका छन्।

NIMB

स्विजरल्याण्डको जेनेभामा सम्पन्न ११३औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनको अवसरमा अध्यक्ष ढकालले इन्टरनेशनल अर्गनाइजेशन अफ इम्प्लोयर्स (आइओई) का महासचिव रोबर्टो स्वारेज सान्तोस र विश्व व्यापार संगठन (डब्ल्यूटीओ) का उपमहानिर्देशक झाङ शियाङछेन्सँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्।

आइओई महासचिवसँगको छलफलमा लगानी र सहकार्यको प्रस्ताव

महासचिव रोबर्टो स्वारेज सान्तोससँगको भेटमा अध्यक्ष ढकालले नेपालमा तत्काल लगानीको आवश्यकता रहेको बताउँदै पर्यटन, जलविद्युत्, सूचना तथा सञ्चार प्रविधिजस्ता क्षेत्रमा उल्लेखनीय अवसरहरू उपलब्ध रहेको जानकारी दिए। साथै, नेपाल दुई विशाल अर्थतन्त्र भारत र चीनको बीचमा अवस्थित भएकाले ३ अर्ब जनसंख्याको बजारमा पहुँच प्राप्त गर्न सक्ने विशेष स्थान भएको बताउँदै अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आग्रह गरे।

उनले आइओईसँगको सहकार्यले नीति संवाद, सामाजिक संवाद तथा संस्थागत क्षमताको सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै आभार व्यक्त गरे। आइओई महासचिव सान्तोसले महासंघको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग गर्न आफूहरू तयार रहेको प्रतिवद्धता जनाए।

डब्ल्यूटीओ उपमहानिर्देशकसँग नेपालको चुनौती र आग्रह

अध्यक्ष ढकालले विश्व व्यापार संगठन (डब्ल्यूटीओ) का उपमहानिर्देशक झाङ शियाङछेन्सँगको भेटमा नेपालले भोगिरहेका संरचनात्मक चुनौतीहरूबारे चर्चा गरे। सन् २०२६ भित्र नेपालले अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति गर्ने प्रक्रिया जारी रहेको सन्दर्भमा ढकालले डब्ल्यूटीओले अन्तरिम अवधि भर शुल्क तथा कोटामुक्त सुविधा निरन्तरता दिएको निर्णयको स्वागत गर्दै, प्राविधिक सहायता, प्रविधि हस्तान्तरण र कार्यान्वयनका लागि लचकता प्रदान गर्न आग्रह गरे।

उनले एलडीसी श्रेणीबाट बाहिरिँदा साना तथा मझौला उद्यमहरू विशेष रूपमा प्रभावित हुने चेतावनी दिँदै, अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) तथा संयुक्त राष्ट्रसंघजस्ता निकायहरूमा नेपालका पक्षमा न्यायोचित रूपान्तरणका लागि वकालत गर्न आइओईसँग अपिल गरे।

ढकालले विकसित राष्ट्रहरूबाट कृषि क्षेत्रमा दिइने अत्यधिक अनुदानले नेपाली कृषकहरू प्रतिस्पर्धाबाट पछि परेको उल्लेख गरे। साथै, डब्ल्यूटीओ अन्तर्गतका स्यानिटरी तथा फाइटोस्यानिटरी (एसपीएस) र प्राविधिक अवरोध (टीबीटी) सन्धिमा उल्लेखित मापदण्डहरू पुरा गर्न साना उत्पादकहरूलाई कठिनाइ भइरहेको बताए।

भन्सार प्रक्रिया, आयात अनुमति, कोटाजस्ता गैर-शुल्कीय अवरोधहरूले नेपाली निर्यातमा चुनौती सिर्जना गरिरहेको बताउँदै उनले डब्ल्यूटीओको प्रतिबद्धताअनुसार गरिएको महसुल कटौतीले सरकारको राजस्वमा नकारात्मक असर पारेको भन्दै थप सहयोगको आवश्यकता औंल्याए।

उक्त भेटमा डब्ल्यूटीओ उपमहानिर्देशक झाङ शियाङछेन्ले नेपालको आर्थिक विकास, अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन र क्षमता अभिवृद्धिमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए। भेटमा महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति ज्योत्सना श्रेष्ठ र कार्यकारिणी सदस्य बाबुकाजी कार्कीको पनि उपस्थिति रहेको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार