Nepal Life

होटेल तथा पर्यटन समूहमा लगानीकर्ताको आकर्षण, असारसँगै सेयर बजारमा सक्रियता बढ्यो

RBB
  • BFIS News
  • 2025 Jun Mon 15:42
होटेल तथा पर्यटन समूहमा लगानीकर्ताको आकर्षण, असारसँगै सेयर बजारमा सक्रियता बढ्यो
Shikhar detail

काठमाडौं, असार २ । असार महिनाको सुरुवातसँगै नेपाली सेयर बजारमा उत्साहजनक सुधार देखिएको छ। सोमबार नेप्से सूचक २.८० अंकले बढ्दै २६५८.६६ विन्दुमा पुगेको छ भने कारोबार रकम १३ अर्ब १८ करोड रुपैयाँ नाघेको छ।

NIMB

सोमबार होटल तथा पर्यटन समूहमा विशेष आकर्षण देखिएको छ। पछिल्लो समय हाइड्रोपावर र उत्पादनमूलक समूहमा देखिएको चाप अब होटल तथा पर्यटनतर्फ सरेको देखिन्छ। सेक्टर सिफ्ट हुँदै विभिन्न कम्पनीका मूल्यमा वृद्धि आएको विश्लेषण गरिएको छ।

दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा पुगेका छन्। बजारमा रकम प्रवाह बढ्दै गएसँगै लगानीकर्ताले सेयर संकलन गर्न थालेका छन्।

विश्लेषकका अनुसार कारोबारमा सुधारको यो क्रम निरन्तर रहन सकेमा नेप्से सूचकमा पनि उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ। यद्यपि, सूचकले अझै तीव्र गति लिन सकेको छैन।

बैंकिङ प्रणालीमा विद्यमान उच्च तरलता र कम ब्याजदरले लगानीकर्ताको आकर्षण सेयर बजारतर्फ मोडिएको हो। अहिले अधिकांश बचत खातामा ३ प्रतिशत हाराहारी ब्याजदर कायम छ भने मुद्दती खातामा पनि न्यून ब्याजदर दिइएको छ।

यसका कारण धेरैले बैंक निक्षेप फिर्ता लिएर सेयर बजारतर्फ लगानी गर्न थालेका छन्। रियल स्टेट तथा अन्य व्यापारिक क्षेत्रहरूमा गतिशीलता नदेखिएको र अर्थतन्त्र दीर्घकालीन मन्दीबाट गुज्रिरहेको अवस्था रहेको विश्लेषण गरिएको छ।

वित्तीय विज्ञहरूका अनुसार सेयर बजार नै अहिले अर्थतन्त्र सुधारको संभावित प्रस्थान विन्दु बन्न सक्छ। बैंकहरूले पनि ब्याजदर घटाइरहेकाले तत्काल ब्याजदर वृद्धि नहुने र कर्जा प्रवाहमा खासै चाप नरहेको अवस्था देखिएको छ।

असार महिनामा बैंक तथा वित्तीय संस्थाहरूले नयाँ कर्जा प्रवाह नगर्ने प्रवृत्ति रहेको हुँदा अबको केही महिना तरलता अझै बढी रहने अनुमान गरिएको छ। यसैबीच, सेयर धितो कर्जामा भने आकर्षण बढेको देखिएको छ।

केन्द्रीय बैंकको पछिल्लो तथ्यांक अनुसार सेयर धितो कर्जा करिब ३९ प्रतिशतले वृद्धि भएको छ। ठूला लगानीकर्ताहरू पनि कर्जा लिएर बजारमा प्रवेश गरिरहेका छन्।

असार–साउनलाई प्रायः सेयर बजारको सिजनल समयको रूपमा लिने गरिएको छ। यिनै महिनामा अधिकांश कम्पनीहरूले वार्षिक वित्तीय विवरण सार्वजनिक गर्ने हुँदा, मुनाफा सकारात्मक देखिएमा त्यसले सेयर बजारमा सकारात्मक प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ।

वित्तीय विवरणपछिको लाभांश घोषणा सिजनले समेत बजारमा चहलपहल बढाउनेछ।

सोमबार ३१८ कम्पनीको ३ करोड ३६ लाख कित्ता भन्दा बढी सेयर कारोबार भएको छ। कारोबार रकमका आधारमा सानिमा माई हाइड्रोपावर कम्पनी अग्रस्थानमा रह्यो, जसको कारोबार ९५ करोड रुपैयाँभन्दा बढी थियो। दोस्रो स्थानमा ङादी ग्रुप पावर र तेस्रो स्थानमा बुटवल पावर कम्पनी परेका छन्।

लगातार कारोबार रकम बढिरहेको अवस्थालाई हेर्दा सेयर बजार विस्तारै सकारात्मक मोडतर्फ अग्रसर हुने विश्लेषण गरिएको छ। यदि आगामी मौद्रिक नीति पनि लगानीमैत्री र सहज आउन सकेमा पूँजी बजार थप सबल हुने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया