NIMB Header 2
Nepal Life

शेयर लगानीकर्ताले गभर्नर पौडेललाई दिए बधाई, पूँजी बजार सुधारका लागि चार बुँदे सुझाव पेश

National Life
  • BFIS News
  • 2025 Jun 22 17:05
शेयर लगानीकर्ताले गभर्नर पौडेललाई दिए बधाई, पूँजी बजार सुधारका लागि चार बुँदे सुझाव पेश
Sanima Reliance

काठमाडौं। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेललाई शेयर बजारसँग आबद्ध तीन सक्रिय संघसंस्थाहरूले संयुक्त रूपमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। साथै, पूँजी बजार सुधारका लागि चार बुँदे सुझाव समेत पेश गरेका छन्।

Shikhar
NIMB

शेयर लगानीकर्ता संघका कार्यवहाक अध्यक्ष तारा प्रसाद फुलेल, पुँजिबजार लगानीकर्ता संघका महासचिव एस.पी. चौलागाई, स्वतन्त्र पुँजिबजार लगानीकर्ता संघका अध्यक्ष डिल्लिश्वर कार्की (रोहन) तथा नेपाल इन्भेष्टर फोरमका पूर्व अध्यक्ष तथा वरिष्ठ लगानीकर्ता छोटेलाल रौनियारले संयुक्त रूपमा भेट गर्दै गभर्नर पौडेललाई बधाई दिएका हुन्।

संघसंस्थाहरूको तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, “नेपाल राष्ट्र बैंकजस्तो गरिमामय तथा सर्वोच्च वित्तीय नियामक निकायको उच्च पदमा नियुक्त भएका डा. पौडेलको कार्यकालले देशको आर्थिक प्रणालीको स्थायित्व, वित्तीय अनुशासन तथा समग्र आर्थिक विकासमा नयाँ युगको सुरुआत गर्ने विश्वास लिएका छौं।”

मौद्रिक नीतिबाट प्रभावित पुँजिबजार

बधाईसँगै उनीहरूले हालको पूँजी बजारको अस्थिर अवस्था र लगानीकर्ताको मनोविज्ञानमा परेको नकारात्मक प्रभावको गहिरो चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार नेप्से परिसूचक अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा घटेको छ, जसले लगानीकर्ताको पुँजीमा ह्रास ल्याएको छ।

यस अस्थिरताको मुख्य कारण पछिल्लो मौद्रिक नीतिले पूँजी बजारमाथि पारेको नकारात्मक प्रभाव रहेको उनीहरूको ठहर छ। विशेषगरी, बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको पूँजीबजारविरोधी निर्देशन, ब्याजदरको उतारचढाव, सूचीकृत कम्पनीहरूको मूल्य ह्रास, र संस्थागत लगानीकर्ताको निष्क्रियता प्रमुख कारण हुन्।

चार बुँदे सुझाव

नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार आगामी आर्थिक वर्ष २०८२/८३ का लागि तयार हुँदै गरेको मौद्रिक नीतिमा समावेश गरिनुपर्ने सुझावका रूपमा निम्न चार बुँदाहरू प्रस्तुत गरिएको छ:

१. व्यक्तिगत शेयर धितो कर्जाको सीमा खारेज:

हाल लागू रहेको एकल परिवार (Single Obligator) का लागि तोकिएको १५ करोडको सीमा खारेज गर्नुपर्ने। यसले लगानीकर्ताको पहुँच र विश्वास पुनःस्थापित गर्न सहयोग पुर्‍याउनेछ।

२. लघुवित्त संस्थाको लाभांश नीतिमा संशोधन:

लघुवित्तलाई १५% भन्दा बढी लाभांश वितरण गर्न नपाउने नियम खुला अर्थनीतिको विपरीत भएकोले सो व्यवस्थालाई हटाएर उनीहरूलाई पूर्ण कार्य स्वतन्त्रता दिनुपर्ने।

३. बैंक तथा वित्तीय संस्थाको पुँजिबजार लगानी सीमा:

हालको सीमालाई परिमार्जन गरी बैंक तथा वित्तीय संस्था ऐन, २०७३ अनुसारको सीमा कायम गर्नुपर्ने।

४. गैरआवासीय नेपाली (NRN) लाई पुँजिबजारमा आकर्षण:

गैरआवासीय नेपालीले पुँजिबजारमा लगानी गरेपछि मुनाफा फिर्ता लैजान कानुनी जटिलता रहेकोले सो अवरोध हटाई लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने।

संघसंस्थाहरूले यी सुझावहरूलाई आगामी मौद्रिक नीतिमा समावेश गरिनु पूँजी बजारको स्थायित्व र दिगो विकासका लागि आवश्यक रहेको बताएका छन्। बधाईका क्रममा लगानीकर्ताहरुले गभर्नर डा. पौडेलको कार्यकाल मुलुकको आर्थिक स्थायित्व र पुँजिबजारको समुन्नत भविष्य निर्माणमा केन्द्रित हुने विश्वास व्यक्त गरेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया