NIMB Header 2
Nepal Life

असारको क्लोजिङको दबाबमा शेयर बजार: नाफा बुकिङ र कर व्यवस्थापन गर्दै, पैसा हुनेलाई सस्तोमा किन्ने अवसर

National Life
  • BFIS News
  • 2025 Jun 23 05:35
असारको क्लोजिङको दबाबमा शेयर बजार: नाफा बुकिङ र कर व्यवस्थापन गर्दै, पैसा हुनेलाई सस्तोमा किन्ने अवसर
Sanima Reliance

काठमाडौं। आर्थिक वर्षको अन्तिम महिना अर्थात असारको क्लोजिङको प्रभाव शेयर बजारमा देखिन थालेको छ। नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालका अनुसार लगानीकर्ताले व्याज, सावा, किस्ता, कर तिर्नुका साथै नाफा बुक गर्ने प्रयोजनले शेयर बिक्री तीव्र बनाएका छन्, जसको असर बजारमा स्पष्ट देखिएको छ।

Shikhar
NIMB

“यो समय लगानीकर्ताका लागि धेरै चुनौतीको समय हो,” अध्यक्ष ढकालले बताए, “एकातिर बैंकको ब्याज, किस्ता र कर तिर्नुपर्ने दबाब छ भने अर्कोतिर लाभांश वितरणका लागि समयमै नाफा बुक गर्नुपर्ने अवस्था छ। यिनै कारणले बजारमा क्लोजिङ देखिएको हो।”

उनका अनुसार, अहिले अन्य उद्योग, व्यवसाय तथा उत्पादन क्षेत्र खासै सक्रिय छैनन्, जसका कारण धेरैले पूँजीबजारलाई नै स्रोतको रुपमा रोजेका छन्। “कर तिर्नु छ, किस्ता तिर्नु छ, अनि नाफा देखाएर लेखापरीक्षण पनि गर्नु छ भन्ने हिसाबले धेरैले शेयर बिक्री गरेका छन्,” उनले भने।

समयभन्दा अगाडि नै नाफा बुक, ट्रेडरको प्रभाव

एक ब्रोकरका अनुसार अहिले लगानीकर्ता पहिलेभन्दा सजग भइसकेका छन्। “पहिला असार १५/२० पछि मात्रै बजारमा बिक्री हुन्थ्यो, अहिले दोस्रो साताबाटै शेयर बिक्री हुन थालेको छ। सबैजना एउटै समयमा नाफा बुक गर्न थाल्दा बजारमा दबाब बढेको हो,” ब्रोकरको भनाइ छ।

विश्लेषकहरूका अनुसार, अहिलेको बजारमा छोटो अवधिमा किनबेच गर्ने ट्रेडरको प्रभाव पनि धेरै देखिन्छ। “बजार अलि घट्नासाथ अझ सस्तोमा पाउने आशाले लगानीकर्ताले हतारमा बेच्न थालेका छन्,” विश्लेषक बताउँछन्।

सबै संकेत सकारात्मक, लगानीकर्ताका लागि अवसर

अध्यक्ष ढकालका अनुसार यद्यपि बजारमा देखिएको अस्थिरता क्लोजिङको व्यवस्थापनले मात्रै हो, अन्य सबै सूचकहरू सकारात्मक छन्। “बैंकमा पैसा थुप्रिएको छ, ब्याजदर घट्दो क्रममा छ, अबको समय भनेको राम्रो कम्पनीको शेयर छानी-छानी किन्न सकिने अवसर हो,” उनले भने।

साथै, साउन पहिलो सातादेखि सूचीकृत कम्पनीहरूले लेखापरीक्षण प्रतिवेदन प्रकाशित गर्न सुरु गर्ने भएकाले पनि अहिलेको लगानीले छिटो प्रतिफल दिने सम्भावना रहेको उनको भनाइ छ।

आगामी वर्षमा कुन सेक्टर चम्किएला?

ढकालका अनुसार आगामी वर्ष बैंक तथा वित्तीय संस्थाहरूले बजारलाई मुख्यतः समर्थन गर्नेछन्। “कोभिडपछिको विग्रिएको बैंकको अवस्थामा अहिले क्रमिक रुफमा सुधार हुँदैछ, अहिले उनीहरू असुलीमा केन्द्रित छन् र शेयर मूल्य निकै तल्लो विन्दुमा छ,” उनले बताए।

उनले जलविद्युत् क्षेत्र, बीमा कम्पनीहरू र होटल–पर्यटन क्षेत्रलाई पनि आशाजनक क्षेत्रको रूपमा औंल्याएका छन्। “यदि बैंक वित्तीय संस्थाहरूले गति लिए भने अन्य क्षेत्रले पनि साथ दिनेछन् र बजारले नयाँ उचाइ लिनेछ,” ढकालको विश्लेषण छ।

अहिलेको बजारमा देखिएको दबाब असारमा क्लोजिङ व्यवस्थापनको एक स्वाभाविक प्रक्रिया भएकोले लगानीकर्ताहरूले दीर्घकालीन सोचका साथ अगाडी बढ्नु पर्ने विश्लेषकहरु बताउछन्। त्यसैले हालको अवस्थालाई अवसरका रूपमा लिनुपर्ने उनिहरुको सुझाव छ। मौद्रिक नीतिपछि बजारमा सुधार आउने अपेक्षा रहेको र त्यसले आगामी आर्थिक वर्षमा शेयर बजारमा नयाँ उचाइ दिन सक्ने विश्वास व्यक्त गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया