योजना आयोग उपाध्यक्ष अधिकारी र नेपालका लागि बङ्गलादेशका राजदूत रहमानबिच भेटवार्ता
- BFIS News
- 2025 Jul Wed 17:22

काठमाडौँ, १८ असार। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारी र नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद सापिकुर रहमानबिच भेटवार्ता भएको छ ।
बुधवार सिंहदरबार स्थित आयोगमा भएको भेटमा उनिहरूबिच द्धिपक्षिय हितका विषयमा कुराकानी भएको हो । भेटका क्रममा योजना आयोगका उपाध्यक्ष अधिकारीले नेपाल र बङ्गलादेश बिच द्विपक्षीय व्यापारको उच्च सम्भावना भएको हुँदा त्यसतर्फ जोड दिन आग्रह गरे । उनले नेपालका मेडिकल विद्यार्थीहरूले कांकरभिट्टा फूलबारी बङ्गलाबन्धु मार्ग प्रयोग गरीरहेकोहुँदा त्यसका लागि सहज गराउनुपर्नेमा जोड दिए ।
भेटमा सन् २०२६ मा नेपाल र बङ्गलादेश अति कम विकसितमुलकबाट सँगै स्तरोन्नति हुन लागेको सन्दर्भमा त्यसबाट सिर्जित हुने चुनौती र अवसरको विषयमा र नेपालको हिमालय क्षेत्र देखी बङ्गलादेशको सामुन्द्रिक क्षेत्रसम्म सहज व्यापारिक सम्बन्ध स्थापित गर्ने एवं सो क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने विषयमा कुराकानी भएको थियो ।
उनिहरूबिच नेपाल र बङ्गलादेशबिच व्यापार पारवहनका क्षेत्रमा गर्नुपर्ने सुधारका एवं नेपालको पूर्वी नाका काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्धु व्यापारिक मार्गमा रहेका व्यापारजन्य अवरोधमा सहजीकरण गर्ने, नेपाल र बङ्गलादेशका पर्यटकीय गन्तव्यबिच सहज आवागमन सहजीकरण, तथा घरेलु उद्योग व्यापार सहजीकरण निर्यात प्रवर्द्धन, गर्ने विषयमा पनि छलफल भयो ।
भेटमा राजदूत रहमानले नेपाल र बङ्गलादेशबिच व्यापार तथा पारवहनमा सहजीकरण गर्न आग्रह गरे । उनले द्विपक्षीय हितका निम्ति जनतासँग जनता र व्यापारसँग व्यापार सहकार्य आवश्यक रहेको बताउनुहुँदै बङ्गलादेशले नेपालबाट थप परिमाणमा विधुत आयातमा इच्छुक रहेको समेत जानकारी दिए । भेटमा योजना आयोग र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया