इप्पानले पावर समिट २०२५ आयोजना गर्दै, ३० भन्दा धेरै देशका लगानीकर्ताको सहभागिता हुने
- BFIS News
- 2025 Jul Thu 15:58

काठमाडौं, असार १८, २०८२ – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (IPPAN) ले ३० भन्दा धेरै देशको सहभागिता सहितको पावर समिट २०२५ आयोजना गर्ने भएको छ। बिहीबार पत्रकार सम्मेलन मार्फत इपानले पावर समिटको वारेमा सार्वजनिक गरेको हो।
नेपालको कुल ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान ८० प्रतिशतभन्दा बढी रहेको उल्लेख गर्दै इप्पानले प्रजातन्त्र पुनःर्स्थापना पछि खुलेको ऊर्जा क्षेत्रमा निजी लगानीले ऐतिहासिक सफलता हासिल गरेको बताएको छ। हाल देशको कुल उत्पादन क्षमता ३६०२ मेगावाट पुगेको छ, जसमा २९०० मेगावाट निजी क्षेत्रबाट उत्पादन भइरहेको छ। हालसम्म निजी क्षेत्रले करिब १३ खर्ब रुपैयाँ बराबरको लगानी गरिसकेको छ भने ५० खर्ब रुपैयाँ लगानीका लागि तयारी अवस्थामा रहेको छ।
पावर समिट २०२५ – एक महत्वाकांक्षी लक्ष्यसहितको आयोजना
IPPAN को विशेष कार्यक्रमको रुपमा चिनिएको पावर समिट २०२५ आगामी असोज १ र २ गते (१७–१८ सेप्टेम्बर २०२५) काठमाडौंमा आयोजना हुँदैछ। “Mission 28,500 MW: Powering Nepal, Energizing Region” भन्ने नारासहित आयोजना हुने यो समिट नेपालको ऊर्जा इतिहासमा एक महत्वपूर्ण मीलकाे पत्थर बन्ने अपेक्षा गरिएको छ। हालको ३६०० मेगावाट उत्पादन क्षमता भएको नेपालले सन् २०३५ भित्र २८ हजार ५०० मेगावाट ऊर्जा उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य लिएको छ।
समिटमा नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संरक्षकत्वमा र नेपालस्थित भारतीय दूतावासको देशीय साझेदारीमा विविध अन्तर्राष्ट्रिय संघसंस्था, विकास साझेदारहरू, निजी कम्पनीहरू तथा विज्ञहरूको सहभागिता रहनेछ।
समिटको उद्देश्य र सहभागीको अपेक्षा
पावर समिट २०२५ ले नेपालको ऊर्जा विकास मार्गचित्र, २०८१ कार्यान्वयनमा सहयोग पुर्याउने र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारमा नेपालको विद्युत व्यापारको सम्भावनालाई उजागर गर्ने लक्ष्य लिएको छ। समिटमा ३० भन्दा बढी देशका लगानीकर्ता, कूटनीतिक नियोग, सरकारी तथा गैह्र सरकारी संघ–संस्था, निर्माण व्यवसायी, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायतका सरोकारवाला प्रतिनिधिहरूको सहभागिता रहने अनुमान गरिएको छ।
समिटले हरित र स्वच्छ ऊर्जा उत्पादन, विद्युत तथा कार्बन व्यापार, ऊर्जा सुरक्षाको सुनिश्चितता, अन्तरदेशीय पूर्वाधार निर्माण, नेट–जिरो लक्ष्य, जलवायु परिवर्तन र विपद् व्यवस्थापनजस्ता विविध नीतिगत विषयमा बहस गर्नेछ। यसबाट नेपालको दीगो ऊर्जा विकास र क्षेत्रीय बजारमा प्रतिस्पर्धात्मक उपस्थिति निर्माण गर्न मार्गदर्शन प्राप्त हुने विश्वास गरिएको छ।
पत्रकार सम्मेलनमा सहभागी सबै पत्रकारप्रति आभार प्रकट गर्दै इप्पानले पावर समिट २०२५ को सफल आयोजनाका लागि सबैको निरन्तर सहयोग र साथको अपेक्षा गरेको छ। नेपाललाई हरित ऊर्जा राष्ट्रको रूपमा चिनाउने दिशामा यो समिट एक ठूलाे अवसर हो भन्ने स्पष्ट संकेत इप्पानले दिएको छ।
प्रतिक्रिया