भोटेकोशीमा आएको बाढीबाट १८ जना सम्पर्कविहीन, त्रिशूली नदीमा दुई जनाको शव फेला
- BFIS News
- 2025 Jul Tue 12:02

काठमाडौं, असार २४ गते । भोटेकोशीमा आएको बाढीबाट हालसम्म १८ जना सम्पर्क विहीन भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । लेन्दे खोलामा आएको बाढी भोटेकोशीमा मिसिएको थियो ।
सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार, बाढीमा परी नेपाल प्रहरीका तीन जना, भन्सार कार्यालय यार्डमा काम गर्ने नौजना र ६ जना चिनिया नागरिक सहित १८ जना सम्पर्क विहीन भएका हुन् । बाढीले एक दर्जनभन्दा बढी गाडी र नेपाल चीन सीमामा जोड्ने मितेरी पुल बगाएको छ ।
धादिङको त्रिशूली नदीमा दुई जनाको शव फेला परेको छ । त्रिशूली खोलाको किनारमा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी हमालका अनुसार गल्छी गाउँपालिका–२ क्यरेनीटार र गजुरी गाउँपालिका–६ बेल्खुस्थित त्रिशूली नदी किनारमा दुई वटा शव फेला परेको हो ।
फेला परेको शवको अवस्था अवलोकन गर्दा तत्काल भएको घटनामा उनीहरूको मृत्यु भएको अनुमान रहेको हमालले बताउनुभयो । शवको स्थिति र आकृति अनुसार मृतक दुवै जना पुरुष छन् । घटनाबारे अध्ययन गर्न प्रहरी टोली घटनास्थल पुगेको हमालको भनाइ छ ।
प्रतिक्रिया