NIMB Header 2
Nepal Life

म्याग्दीमा ६६.३ मेगावाट क्षमताको ‘मध्य कालीगण्डकी जलविद्युत् आयोजना’ निर्माण सुरु

National Life
  • BFIS News
  • 2025 Aug 04 09:00
म्याग्दीमा ६६.३ मेगावाट क्षमताको ‘मध्य कालीगण्डकी जलविद्युत् आयोजना’ निर्माण सुरु
Sanima Reliance

काठमाडौं, साउन १९।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका हुँदै बग्ने कालीगण्डकी नदीमा पहिलोपटक जलविद्युत् आयोजना निर्माण सुरु भएको छ।

Shikhar
NIMB

हाइड्रो सपोर्ट कम्पनी लिमिटेडले ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना को निर्माण कार्य औपचारिक रूपमा प्रारम्भ गरेको हो।

कम्पनीका सञ्चालक चन्द्र ढकालका अनुसार अन्नपूर्ण गाउँपालिका–२ स्थित नागढङ्गामा सिभिल निर्माण ठेकेदार रसुवा–मल्टी जेभीले विस्फोटक पदार्थ प्रयोग गरी सुरुङ खन्न थालेको छ। हालसम्म ४ हजार ३१९ मिटर लामो सुरुङ निर्माण थालिएको छ भने अडिटको दूरी ४५९ मिटर रहेको छ।

यस आयोजनाअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा १२ मिटर अग्लो र ३५ मिटर लामो बाँध निर्माण गरिनेछ। उक्त बाँधबाट संकलन गरिने पानीलाई १५१ मिटरको उचाइबाट अन्नपूर्ण–२ नौनीबगरमा निर्माण हुने भूमिगत विद्युतगृहमा झारिनेछ, जहाँ विद्युत् उत्पादन गरिनेछ।

‘रन अफ द रिभर’ प्रविधिमा आधारित यस आयोजनाको विद्युतगृह, स्विचयार्ड र कन्ट्रोल रुम सम्पूर्णरूपमा भूमिगत रहनेछ। रसुवा–मल्टी जेभीका प्रमुख कार्यकारी अधिकृत फणिन्द्रराज पाण्डेका अनुसार सुरुङ निर्माणका लागि अत्याधुनिक बुमर रोबोटिक सटकिटलगायत उपकरण प्रयोग गरिएका छन्।

विद्युत उत्पादनपछि नौनीबगरबाट सात किलोमिटर माथि दानामा रहेको २२० केभी क्षमताको सवस्टेशनमार्फत आयोजना केन्द्रीय विद्युत प्रणालीमा जोडिनेछ। कम्पनीले आगामी तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ।

१२ अर्ब ९३ करोड रुपैयाँको लागत अनुमान
आयोजनाको कुल लागत १२ अर्ब ९३ करोड रुपैयाँ अनुमान गरिएको छ। यसको ७५ प्रतिशत लगानी नविल बैंक लिमिटेडको नेतृत्वमा ६ वटा वाणिज्य बैंकले ऋणमार्फत जुटाउनेछन् भने बाँकी २५ प्रतिशत प्रवर्द्धक र शेयर लगानीकर्ताबाट संकलन गरिनेछ।

विद्युत खरिद सम्झौता र आम्दानी
नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौताअनुसार हिउँदयाममा विद्युत खरिद दर प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा तोकिएको छ। आयोजनाबाट हिउँदमा १३० गिगावाट घण्टा विद्युत उत्पादन हुने अनुमान छ, जसबाट १ अर्ब ९ करोड रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको छ। वर्षायाममा २७७ गिगावाट घण्टा विद्युत उत्पादन भई १ अर्ब ३३ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ।

कालीगण्डकी बेसिनमा अन्य आयोजना पनि निर्माणको तयारीमा
मध्य कालीगण्डकीसहित कालीगण्डकी नदी बेसिनमा हाल ३०० मेगावाटभन्दा बढी क्षमताका जलविद्युत आयोजनाहरु निर्माणका लागि अनुमति प्राप्त गरिसकेका छन्। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार ६५ मेगावाटको माथिल्लो कालीगण्डकी र १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज आयोजना पनि निर्माणको तयारीमा छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया