त्रैमासिक प्रतिवेदन प्रचारको साधन मात्रै, लेखापरीक्षणपछि बैंकहरुको नाफामा ठूलो गिरावट
- अरुण सापकोटा
- 2025 Aug Fri 20:04

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले सार्वजनिक गर्ने त्रैमासिक अपरिष्कृत वित्तीय विवरणहरू प्रचारको साधन मात्रै बन्न थालेका छन्। ती विवरणहरू लेखापरीक्षणपछि उल्लेख्य रूपमा फरक देखिने गरेका छन्, जसले लगानीकर्तालाई भ्रममा पार्ने जोखिम निम्त्याउँछ।
बाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै ४३.३३ प्रतिशतले मुनाफा बृद्धि भएको देखाएका छन्। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा पनि अपरिष्कृत वित्तीय विवरण मार्फत १३ प्रतिशतले मुनाफा बृद्धि भएको देखाएका थिए। जवकी लेखापरीक्षण पश्चात उक्त बृद्धिदर ११.८१ प्रतिशतले घट्न पुगेको थियो।
जहाँ आर्थिक वर्ष २०७९/८० मा बैंकहरुको मुनाफा ५६ अर्ब ५७ करोड थियो। यस पछिको आर्थिक वर्ष २०८०/८१ मा अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दा ६४ अर्ब १५ करोड देखाएका थिए। जव लेखापरीक्षण भएर आयो यो मुनाफा ४९ अर्ब ८८ करोडमा झर्न पुगेको थियो। यहि मुनाफालाई आधार मानेर गत आर्थिक वर्ष २०८१/८२ मा बैकहरुले ४३.३३ प्रतिशतले बृद्धि भएको देखाएका छन्। बैंकहरुले यस आर्थिक वर्षमा ७१ अर्ब ५० करोड मुनाफा भएको देखाएका छन्। अघिल्लो आर्थिक वर्षकै घटनाक्रमलाई हेर्ने हो भने यस आर्थिक वर्षको मुनाफालाई आधार मानेर शेयर बजारमा लगानी गर्नेहरु फस्ने निश्चित छ।
लेखापरीक्षणपछिको वास्तविकता:
गएको आर्थिक वर्षमा ग्लोबल आइएमई बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक, सिद्धार्थ बैंक, सानिमा बैंकले अपरिष्कृत वित्तीय विवरण भन्दा लेखापरीक्षण पश्चात मुनाफा बढाएका छन्। एभरेष्ट बैंकको अपरिष्कृत र लेखापरिक्षण पश्चात दुबैमा मुनाफा बराबर छ। लक्ष्मी सनराइज बैंक, एनएमबी बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआइ बैंक र सिटिजन बैंकको थोरै मात्रै बढि छ। यस बाहेक प्रभु बैंक, नेपाल बैंक, कुमारी बैंक, हिमालयन बैंक र एनआइसी एशियाले सबैभन्दा धेरै झुक्याएका छन्। उनिहरुको लेखापरीक्षण अगाडी र पछाडिको मुनाफामा आकाश जमिनको फरक छ।
यस वर्ष पनि प्रभु बैंक र कुमारी बैंकको मुनाफा अत्याधिक बढेको देखिएको छ। गएको वर्ष कुमारी बैंकले सुरुमा २ अर्ब ३० करोड रुपैयाँ मुनाफा देखाएकोमा पछि ४६ लाखमा झार्यो। जवकी बैंकले अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दा ३४५ प्रतिशतले बढेको भन्दै प्रचार गर्यो। अहिले पनि लेखापरिक्षण पश्चातको मुनाफा ४६ लाखलाई आधार मान्दै ४६० गुणाले बढाएर २ अर्ब १२ करोड देखाएको छ। यसको वास्तविकता जान्न यस वर्ष पनि लेखापरीक्षण प्रतिवेदन नै कुर्नु पर्नेछ।
अर्को प्रभु बैंक जसले गएको वर्ष अरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दा १४९९ प्रतिशतको सुधार देखाउदै ४ अर्ब ४८ करोड मुनाफा देखाएको थियो। जव लेखापरीक्षण भयो बैंकको मुनाफा ५१ करोडमा झर्यो। अहिले सोहि ५१ करोडलाई आधार मानेर बैंकले ९६६ प्रतिशतले सुधार भएको देखाएको छ। बैंकले यस वर्ष ५ अर्ब ४४ करोड नाफा देखाएको छ। यसका लागि पनि लेखापरीक्षण नै कुर्नुको विकल्प छैन।
यहि दुई बैंकलाई नेपाल बैंक, हिमालयन बैंक, एनआइसी एशियाले पनि पछ्याइरहेका छन्। एनआइसी एशिया बैंकले अघिल्लो वर्ष २०८०/८१ मा ६८ प्रतिशतले मात्रै नाफा घटेको देखाएको थियो। बैंकले लेखापरीक्षण अगाडी एक अर्ब ३८ करोड नाफा देखाएकोमा लेखापरीक्षण पश्चात ७० करोडमा सिमित भयो। अहिले भने बैंकको अवस्था निकै नाजुक देखिन्छ। यस आर्थिक वर्षमा १६ करोड मात्रै मुनाफा भएको देखाएको छ। नेपाल इन्भेष्टमेन्टको २० प्रतिशत र नबिल बैंकको १२ प्रतिशतले घटेको देखिन्छ। राष्ट्रिय बाणिज्य बैंकको २४ प्रतिशतले घटेको थियो। माछापुच्छ्रे बैंकको पनि १६ प्रतिशतले घटेको देखिएको छ।
बैंकहरुले तयार पार्ने लेखापरीक्षण प्रतिवेदन जव नेपाल राष्ट्र बैंकमा पुग्छ त्यस पछि कल्पना गरे भन्दा घटेर आउने एक बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए। उनले भने 'राष्ट्र बैंकले अनेक नियमदेखाएर प्रोभिजनिङ गर्न लगाएरै मुनाफा घटाइदिन्छ।'
बैंकहरु पनि धेरै नाफा देखाउन कतिपय प्रोभिजनिङका नियमलाई नै आखा चिम्लिने गरेको पाइन्छ। यदि राष्ट्र बैंकले देखेन भने नाफा बढिहाल्छ कि भनेर कतिपय प्रोभिजनिङमा बैंकहरुले बलमिच्याइ गर्न खोज्छन्। यस्तो अभ्यास लेखापरीक्षणको सिद्धान्तकै बर्खिलाप रहेको विज्ञहरु बताउछन्। लेखापरीक्षण प्रतिवेदनलाई सरकार स्वयंले विश्वास गर्ने गर्छ। लेखापरीक्षण प्रतिवेदनकै आधारमा कर उठाउने अभ्यास छ।
यसरी राष्ट्र बैंकले आखा चिम्लिदिदा अपरिष्कृत वित्तीय विवरणलाई बैंकहरुले प्रचारको राम्रो माध्यम बनाउने गरेका छन्। सञ्चार माध्यमले पनि यस्ता विवरणलाई विशेष चासोका साथ प्रस्तुत गर्ने गर्छन्। जव लेखापरिक्षण प्रतिवेदन आउछ त्यसलाई खासै सञ्चार माध्यममा कभरेज गरिदैन। त्यसैले अरुले राम्रो विवरण सार्वजनिक गरिरहेका छन् भने हामी पनि के कम भन्दै बैंकहरुले अवास्तविक तथ्याङ्क मार्फत भ्रम फैलाउने गरेको प्रष्ट देखिन्छ।
पारदर्शिताको आवश्यकता:
बैंकहरुले सार्वजनिक गर्ने यस्ता तथ्याङ्कले प्रत्यक्ष अप्रत्यक्ष रुपमा शेयर बजारलाई प्रभाव पार्ने गरेको पाइन्छ। यहि कारण दोस्रो बजारमा सूचिकृत कम्पनीहरुले पारदर्शी रुपमा तथ्य तथ्याङ्क सार्वजनिक गर्नु पर्छ। कयौ लगानीकर्ताले यस्ता विवरणलाई हेरेर लगानीको निर्णय लिन पुग्छन्। भोलि राम्रो लाभांश पाइने भन्दै लगानी गरेका कम्पनीले साधारणसभामा लाभांश दिन नसकिने भन्दै घोषणा गर्छन्। जतिवेला ति लगानीकर्ताहरु सबैभन्दा धेरै मारमा पर्छन्।
नेपाल राष्ट्र बैंकले यस वर्षदेखि अपरिष्कृत वित्तीय विवरण सार्जजनिक गर्नका लागि प्रयाप्त समय दिएको छ। गएका वर्षमा आर्थिक वर्ष समाप्त भएको दुई सातामा वित्तीय विवरण सार्वजनिक गर्नु पर्ने व्यवस्था थियो। यस्ता विषयलाई पनि राष्ट्र बैंकले नियमन गर्न सक्नु पर्छ। हरेक बैंकहरुले आन्तरिक रुपमा एक सय एक लेखापरीक्षक तथा चार्टर्ड एकाउन्टेन्ट नियुक्त गरेका हुन्छन्। तर यहि एक सय एक चार्टर्ड एकाउन्टेन्टलाई तथ्याङ्कमा म्यानुपुलेट गर्न लगाउनु कदापी पनि नैतिक अभ्यास होइन। त्यसैले राष्ट्र बैंकले पनि बैंकहरुलाई निर्देशन दिन सक्नु पर्छ।
आर्थिक वर्ष २०८०/८१ मा बैंकहरुले सार्वजनिक गरेको मुनाफा विवरण
प्रतिक्रिया