United Ajod

"नेपाल-चीन सम्बन्धका ७० वर्ष" विषयक सेमिनार ललितपुरमा सम्पन्न

  • BFIS News
  • 2025 Aug Fri 05:31
"नेपाल-चीन सम्बन्धका ७० वर्ष" विषयक सेमिनार ललितपुरमा सम्पन्न

काठमाडौं। नेपाल अन्तर्राष्ट्रिय सहयोग तथा संलग्नता संस्थान (Nepal Institute for International Cooperation and Engagement - NIICE) ले आज ललितपुरस्थित आफ्नो सेमिनार हलमा “नेपाल-चीन सम्बन्धका ७० वर्ष” शीर्षकमा विशेष सेमिनारको आयोजना गरेको छ।

सेमिनारका प्रमुख वक्ताहरूमा डा. ह्वाङ झेडदोउ, निर्देशक, नेपाल अध्ययन केन्द्र, दक्षिण एसिया अध्ययन संस्था, सिचुवान विश्वविद्यालय, चीन, र डा. गाओ लियाङ, उप-निर्देशक, सोही केन्द्रका प्रतिनिधि थिए। कार्यक्रमको अध्यक्षता अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ तथा पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागका प्रमुख डा. लीला न्याइच्याईले गर्नुभएको थियो।

कार्यक्रममा शिक्षाविद्, अनुसन्धानकर्ता, तथा नीतिनिर्माताहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले नेपाल-चीन सम्बन्धको सात दशक लामो यात्रालाई समिक्षा गर्दै भविष्यका सम्भावनाहरूमा गहन छलफल गरे।

प्रोफेसर ह्वाङ झेडदोउले पछिल्ला वर्षहरूमा चीन-नेपालबीचको द्विपक्षीय व्यापारमा उल्लेखनीय वृद्धि भएको चर्चा गर्दै, बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत आर्थिक सहकार्यलाई थप मजबुत बनाउन सकिने धारणा व्यक्त गरे। यद्यपि, उनले दीर्घकालीन रूपमा रहँदै आएको व्यापार असन्तुलनलाई मुख्य चुनौतीको रूपमा औँल्याए। नेपाली स्थानीय उद्यमहरूसँग सहकार्य बलियो बनाउनुपर्नेमा जोड दिँदै उनले चीन-नेपाल मैत्री औद्योगिक पार्कको उदाहरण प्रस्तुत गरे, जसले १ लाख रोजगारी सिर्जना गर्ने र नेपालको औद्योगिक क्षेत्रलाई रूपान्तरण गर्ने लक्ष्य राखेको थियो। तर, जमिन अधिग्रहणमा न्यून क्षतिपूर्तिका कारण देखिएको स्थानीय विरोध र दशकभर परियोजनामा ठोस प्रगति नदेखिएकोमा चिन्ता व्यक्त गरे। उनले बेल्ट एण्ड रोड परियोजनाहरूको सफलता चीन र नेपालका उद्यमबीचको सकारात्मक अन्तरक्रियामा निर्भर हुने बताए।

डा. गाओ लियाङले चीन-नेपाल सहकार्यका प्रमुख पक्षका रूपमा सुरक्षा, वातावरण र अन्य देशहरूसँगको प्रतिस्पर्धाको उल्लेख गरे। उनले चीनको आन्तरिक राजनीतिको प्रभाव चीनको विकास नीतिमा स्पष्ट देखिने बताउँदै, नेपाल चीनका लागि सुरक्षा मात्र नभई क्षेत्रीय विकास तथा सम्पर्क विस्तारका दृष्टिले पनि रणनीतिकरूपमा महत्वपूर्ण रहेको धारणा राखे। उनले नेपालमा चीनको वास्तविक प्रतिबद्धता रहेको उल्लेख गर्दै जलविद्युत व्यापारको उदाहरण दिए, जसले नेपाललाई आय सिर्जना गर्न र ऊर्जा सहकार्यलाई प्रवर्द्धन गर्न सहयोग पुर्‍याउने बताए।

कार्यक्रमको समापनमा उनले दुवै देशका लागि विविधतापूर्ण बाह्य सम्पर्क आवश्यक रहेकोमा जोड दिँदै भने, “चीन-नेपाल मैत्री दीर्घजीवी होस्।”

लिपुलेक नाकाबाट भारत-चीनबीच व्यापार गर्नेसम्बन्धी हालैको सम्झौताको सन्दर्भमा उठेको प्रश्नमा डा. गाओले चीन कुनै पक्षमा नरहेको र नेपाल-भारतबीच संवादमार्फत समाधान खोजिनुपर्ने बताए। उनले हालको सम्झौता यथास्थितिमा आधारित भएको प्रस्ट्याउँदै भने, “मेरो विचारमा भारत र चीनबीचकै सीमा अझै पूर्ण रूपमा निर्धारण भएको छैन, चाहे भारत-चीनबीच होस् वा भारत-नेपालबीच, यस प्रकारका सम्झौताहरू अन्तिम सिमाना निर्धारणका लागि बस्दा खासै महत्त्वपूर्ण हुने छैनन्।”

सेमिनारले नेपाल-चीन सम्बन्धको इतिहास, वर्तमान अवस्था र भविष्यको दिशाबारे विचार आदानप्रदान गर्दै दुई देशबीचको समझदारीलाई थप प्रगाढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको आयोजक संस्थाले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया