हिमालयन इन्भेष्टमेन्ट बैंकरले एचएलआई लार्ज क्याप फण्ड निष्काशन गर्ने
- BFIS News
- 2025 Aug Fri 11:19

काठमाडौं, भदौ ६। हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले भदौ १५ गतेदेखि आफ्नो पहिलो बन्दमुखी योजना ‘एचएलआई लार्ज क्याप फण्ड’ निष्काशन गर्ने भएको छ।
कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ४ अर्ब रुपैयाँ बराबरको ४० करोड इकाई निष्काशन गर्ने तयारी गरेको छ। सो मध्ये ५० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २० करोड इकाई कोष प्रबर्द्धक हिमालयन लाइफ इन्स्योरेन्सका लागि सुरक्षित गरिएको छ भने बाँकी २० करोड इकाई सर्वसाधारणका लागि खुला गर्ने योजना छ।
भदौ १५ गतेदेखि फण्डमा आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १०० इकाई र अधिकतम ४ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।
हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यो योजनाको अवधि इकाई बाँडफाँट भएको मितिबाट १० वर्ष रहनेछ। आवेदन दिने अन्तिम मिति भदौ १८ गते तोकिएको छ। तर आवश्यक आवेदन नपरेमा म्याद भदौ २९ गतेसम्म लम्ब्याइनेछ। बिक्री खुला भएको अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात् २० करोड इकाईमा आवेदन प्राप्त भएमा बाँडफाँट गरिनेछ। न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र लगानीकर्तालाई रकम फिर्ता गर्ने व्यवस्था गरिएको छ।
यस योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड नै रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको “मेरो शेयर” प्रणाली प्रयोग गरी अनलाइनबाट पनि आवेदन दिन सकिनेछ।
म्युचुअल फण्ड निष्काशनका लागि गरिएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कोष प्रबर्द्धकलाई आईआरएन ए प्लस इस्यूअर रेटिङ र योजना व्यवस्थापकलाई आईआरएन एएमसी क्वालिटी–३ रेटिङ प्रदान गरेको छ।
प्रतिक्रिया