संयुक्त राष्ट्रसंघको आग्रह : नेपालमा नागरिकले प्रजातान्त्रिक अधिकार सुरक्षित र शान्तिपूर्ण रूपमा प्रयोग गर्न पाउनुपर्छ
- BFIS News
- 2025 Sep Mon 22:34

काठमाडौं, भदौ २२ – संयुक्त राष्ट्रसंघले नेपालमा नागरिकहरूले आफ्नो प्रजातान्त्रिक अधिकार सुरक्षित र शान्तिपूर्ण तरिकाले प्रयोग गर्न पाउनुपर्नेमा जोड दिँदै सबै पक्षलाई संयम र सावधानी अपनाउन आग्रह गरेको छ।
संयुक्त राष्ट्रसंघकी नेपाल आवासीय संयोजक हना सिंगर–ह्याम्डीले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा एक पोस्टमार्फत यस्तो आग्रह गरेकी हुन्। उनले लेखेकी छन्, "नागरिकहरूले सुरक्षित र शान्तिपूर्ण रूपमा आफ्नो प्रजातान्त्रिक अधिकारको प्रयोग गर्न सकुन् भन्ने कुरा सुनिश्चित गर्दै अधिकतम संयम र सावधानी अपनाउन म सबै पक्षहरूलाई आग्रह गर्दछु।"
सिंगर–ह्याम्डीले आज नेपालमा भएको जेनजी आन्दोलनको प्रदर्शनमा मृत्यु र घाइते भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेकी छन्। उनले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।
सरकारी तथ्याङ्क अनुसार, जेनजी प्रदर्शनमा हालसम्म १९ जनाको मृत्यु भएको छ भने तीन सयभन्दा बढी व्यक्ति घाइते भएका छन्।
संयुक्त राष्ट्रसंघको यो प्रतिक्रिया मानव अधिकारको सम्मान र लोकतान्त्रिक अभ्यासप्रति प्रतिबद्धता जनाउने सन्देशको रूपमा आएको छ।
प्रतिक्रिया