United Ajod

मन्त्रीहरुलाई सरकारबाट फिर्ता आउन गगन विश्वप्रकाशको आह्वान, राष्ट्रिय सहमतिका लागि मार्गप्रशस्त गर्न अनुरोध

Everest Bank
  • BFIS News
  • 2025 Sep Tue 13:12
मन्त्रीहरुलाई सरकारबाट फिर्ता आउन गगन विश्वप्रकाशको आह्वान, राष्ट्रिय सहमतिका लागि मार्गप्रशस्त गर्न अनुरोध

काठमाडौं, ९ भदौ – सात बुँदे राजनीतिक सहमति अब निष्क्रिय भइसकेको स्पष्ट पार्दै, सो सहमतिमा आधारित वर्तमान सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाउन आग्रह गरिएको छ । प्रधानमन्त्रीको कार्यशैलीप्रति गम्भीर असन्तोष व्यक्त गर्दै उनलाई राजीनामा दिन र नवीन राष्ट्रिय सहमतिको बाटो खोल्न आह्वान गरिएको छ ।

राजनीतिक श्रोतहरूका अनुसार, सरकार सही ढंगले नचलेको, सुधारका लागि पटक–पटक पार्टी बैठक, संसद तथा सार्वजनिक रूपमै आग्रह गरिए पनि कुनै सुधार नभएको जनाइएको छ । प्रधानमन्त्रीकै व्यवहार र अकर्मण्यताका कारण आम नागरिकमा असन्तुष्टि बढ्दो छ भने, सामाजिक सञ्जाल खोल्न, सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न उठाइएका न्यायोचित मागहरूलाई बेवास्ता गरिएको छ ।

विशेषगरी GenZ पुस्ता शान्तिपूर्ण रूपमा सडकमा उत्रिएको बेला गरिएको दमनको निन्दा गरिएको छ । "तिनले कुनै पद वा सत्ता मागेका थिएनन्, तर सरकारको गैरजिम्मेवारीका कारण आशावादी र होनहार युवाहरूले ज्यान गुमाउनु परेको छ," स्रोतको भनाइ छ ।

मूल ५ बुँदाहरू यस प्रकार छन्:

१. सरकार सुधार्न बारम्बार आग्रह गरियो, तर बेवास्ता:

पार्टी बैठक, संसद र सडकबाट समेत सुधारको माग गरिए पनि प्रधानमन्त्रीले कार्यशैली परिवर्तन नगरेका कारण असन्तोष चुलिँदै गएको छ । युवाहरूको आवाज दवाउने क्रूर प्रवृत्तिको भर्त्सना गरिएको छ ।

२. ७ बुँदे सहमतिको औचित्य समाप्त:

अहिलेको सरकार गठनमा आधारित सात बुँदे सहमति अब समय सान्दर्भिक नरहेको भन्दै, त्यसमा रहेका मन्त्रीहरू फिर्ता बोलाउन पार्टी सभापतिलाई औपचारिक अनुरोध गरिएको छ । निर्णय ढिला भएमा अन्य प्रक्रिया अपनाउने चेतावनी पनि दिइएको छ ।

३. प्रधानमन्त्रीको राजीनामा माग:

राष्ट्रिय हितलाई मध्यनजर गर्दै प्रधानमन्त्रीले तत्काल पदत्याग गरी 'नविन राष्ट्रिय सहमति' को मार्ग खोल्नुपर्ने माग गरिएको छ ।

४. GenZ पुस्तालाई शान्तिपूर्ण आन्दोलनको अपील:

युवाहरूको न्यायोचित मागप्रति ऐक्यबद्धता जनाउँदै, शान्तिपूर्ण र संयमित आन्दोलन जारी राख्न आग्रह गरिएको छ ।

५. सर्वदलीय संवाद र सहमतिको आह्वान:

विद्यमान राजनीतिक संकट समाधानका लागि सबै दलहरूलाई खुला संवादमा सहभागी भई संयमता पूर्वक समाधान निकाल्न अपील गरिएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया