United Ajod

प्रधानमन्त्री सुशीला कार्कीको देशबासीप्रति पहिलो सम्बोधन : "षड्यन्त्रपूर्वक मुलुकका महत्वपूर्ण संस्थामाथि प्रहार भयो"

Everest Bank
  • BFIS News
  • 2025 Sep Sun 14:26
प्रधानमन्त्री सुशीला कार्कीको देशबासीप्रति पहिलो सम्बोधन : "षड्यन्त्रपूर्वक मुलुकका महत्वपूर्ण संस्थामाथि प्रहार भयो"

काठमाडौं, भदौ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गरेसँगै देशवासीलाई सम्बोधन गर्दै हालै भएको घटनाक्रमप्रति गहिरो चिन्ता र पीडा व्यक्त गरेकी छन्। सम्बोधनको क्रममा उनले मुलुकका सुरक्षा निकाय, न्यायालय र अन्य संवेदनशील सरकारी निकायहरूमा भएको आगजनी, तोडफोड र क्षतिलाई “नियोजित षड्यन्त्र” भनी संज्ञा दिइन्।

उनले भनिन्, “सुरक्षा निकायहरू, प्रहरीका बिटहरू, सर्वोच्च अदालत, तराईका सम्पूर्ण जिल्ला अदालत, उच्च अदालत लगायत सिंहदरबार समेत आगोमा जले। हाम्रा रेकर्ड, प्रमाण र सर्वोच्च अदालतका फाइलहरू सबै नष्ट भएर हामीलाई ठूलो क्षति पुगेको छ।”

भवनहरूको भौतिक क्षति पुनर्निर्माण गर्न सकिने भए पनि अभिलेख, प्रमाण र फाइलहरू जलेर नष्ट हुँदा देश ‘शून्य’ अवस्थामा पुगेको उनले उल्लेख गरिन्। "यी क्षति केवल संरचनाको मात्र होइन, हाम्रो प्रणाली र विश्वासको पनि हो," प्रधानमन्त्री कार्कीले भनिन्।

"यो देखेर लाज लाग्छ, नेपाली भएर यस्तो काम गर्ने कसरी भनौं?"

प्रधानमन्त्री कार्कीले हालैको घटनालाई नियोजित षड्यन्त्रको आशंका पनि व्यक्त गरिन्। “यो देखेर लाज पनि लागेको छ। नेपाली भएर यो काम गरेको हो भने, नेपाली कसरी भन्ने?” भन्दै उनले ती घटनाको गम्भीर अनुसन्धान गरिने बताइन्। “प्रहार र नोक्सान गर्नेहरूको खोजतलास र कारबाही हुनेछ,” उनको स्पष्ट भनाइ थियो।

"म रहरले प्रधानमन्त्री भएकी होइन, राष्ट्रको आह्वानले आएको हुँ"

उनले आफू कुनै व्यक्तिगत महत्वाकांक्षाले होइन, सबैको आग्रह र राष्ट्रको आवश्यकता अनुसार प्रधानमन्त्री बन्न विवश भएको बताइन्। "म रसस्वादन गर्न आएको होइन। उमेर पनि होइन। कुनै हालतमा ६ महिनाभन्दा बढी बस्दिन। आफ्नो जिम्मेवारी पूरा गरेर ६ महिनापछि नयाँ आउनेहरूलाई जिम्मा सुम्पिनेछु," उनले स्पष्ट गरिन्।

"कामचलाउ भए पनि प्रहरी कार्यालय बनाऔं"

प्रधानमन्त्री कार्कीले क्षतिग्रस्त प्रहरी चौकीहरू, अदालतहरू, सिंहदरबार लगायतका संरचनाको यथाशीघ्र पुनर्निर्माण गर्नुपर्नेमा जोड दिइन्। “कामचलाउ भए पनि प्रहरी कार्यालय बनाऔं। हाम्रो लागि अपराधीहरूले गरेको कृत्य हामीमाथिको चुनौती हो। मुलुकविरुद्धको चुनौती हो,” उनले भनिन्।

आन्दोलन, क्षति र सरकारको प्राथमिकता

उनले २७ घन्टा भित्रै मुलुकमा ‘कायापलट’ भएको उल्लेख गर्दै हालको अवस्था विश्वमै बिरलै देखिने बताइन्। "यो समयले मागेको सुशासन, भ्रष्टाचारको अन्त्य, र आर्थिक समानता हो," भन्दै उनले सरकारको प्राथमिकता स्पष्ट गरिन्।

२५ गतेसम्म भएको क्षतिको मूल्यांकन गरिने बताउँदै उनले मृतक परिवारलाई सहिद घोषणा गरिसकेको जानकारी दिइन्। “२३ गते मृत्युवरण गरेका परिवारसँग भेट गरें, रातिसम्म छलफल गरेर सहिद घोषणा गर्ने निर्णयमा हस्ताक्षर गरेँ,” उनले भनिन्।

राहत, पुनर्निर्माण र सहकार्य

सरकारले मृतक परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको र घाइतेको उपचारमा राहत कार्य चलिरहेको जानकारी दिइन्। “शवलाई उनीहरूको स्थानीय ठेगानामा पुर्‍याउने, बसेको, खाएको खर्च हेर्ने र दीर्घकालीन उपचारको व्यवस्था मिलाइनेछ,” प्रधानमन्त्रीले बताइन्।

व्यापारिक, औद्योगिक सम्पत्तिमा भएको क्षतिको उल्लेख गर्दै उनले उठ्न नसकेका व्यापारीहरूलाई बैंकमार्फत सस्तो ऋण (soft loan) दिने जस्ता उपायहरूमा विचार भइरहेको बताइन्।

अन्त्यमा उनले भने, “राज्य अहिले विषम आर्थिक परिस्थितिमा छ। जनता पनि छन्। सबै मिलेर निर्माणतर्फ लाग्नुपर्छ। निजी क्षेत्र, नागरिक समाज र सम्पूर्ण निकाय एकजुट भएर देश बनाउने बेला आएको छ।”

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया