मन्त्रिमण्डल विस्तार : कार्कीको 'स्मार्ट क्याबिनेट' निर्माणमा शुद्ध छविका पात्रको खोजी, सबैको सुझाव आवश्यक
- BFIS News
- 2025 Sep Sun 16:35

काठमाडौं, भदौ २९। अन्तरिम सरकारको प्रधानमन्त्री सुशिला कार्कीले प्रधानमन्त्री नियुक्त भएको दुई दिन बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार गर्न सकेकी छैनन्। हाल उनी जेनजी आन्दोलनका मुख्य एजेण्डा कार्यान्वयन गर्न सक्ने, भ्रष्टाचारविरुद्ध स्पष्ट धारणा राख्ने र निष्कलङ्क छविका व्यक्तित्वहरू खोज्नमा व्यस्त छिन्।
प्रधानमन्त्री कार्कीको मुख्य चुनौती भनेकै भ्रष्टाचार अन्त्य गर्ने अभियानलाई सशक्त बनाउने टिम तयार गर्नु हो। यसका लागि उनले सामाजिक सञ्जालमा मात्रै चर्चित नभई काम गर्न सक्ने क्षमतावान, इमानदार र अनुभवी व्यक्तिहरुको खोजी गरिरहेकी छन्।
सम्भावित मन्त्रीका पात्रहरू
विश्लेषकहरूका अनुसार अहिलेको संवेदनशील परिवेशमा देशलाई सही दिशामा लैजान सक्ने पात्रहरूको सूचीमा केही नामहरू अगाडि देखिएका छन्:
१. चण्डी प्रसाद श्रेष्ठ – पूर्व गृह सचिव श्रेष्ठ प्रशासनिक अनुभवी छन्। २०६१ असोज १४ देखि २०६२ कात्तिक १० सम्म गृह सचिव रहेका श्रेष्ठले आफ्नो कार्यकालभर कुनै दाग लाग्न दिएनन्। त्यही इमानदार छविका कारण उनलाई मुख्य सचिव बनाइएन भन्ने बुझाइ पनि छ।
२. रमेश खरेल – इमानदार प्रहरी अधिकृतको रूपमा परिचित खरेल चुनाव लडे पनि पराजित भए। तर उनी भ्रष्टाचारमुक्त समाजका योद्धा हुन् र अहिलेको मन्त्रिपरिषद्मा उपयुक्त पात्र हुन सक्छन्।
३. सुमना श्रेष्ठ – रास्वपाबाट आजै राजीनामा दिएकी श्रेष्ठ सामाजिक संजालमा निकै सक्रिय छन्। उनी मन्त्री बन्ने दौडमा नभएको स्पष्ट पारिसकेकी छन्, तर प्रशासनिक सुधारको लागि उनी उपयोगी हुन सक्छिन्।
४. कुलमान घिसिङ – ऊर्जा क्षेत्रको सुधारमा असाधारण योगदान पुर्याएका घिसिङ सार्वजनिक छविमा सबल छन्। सुरुदेखि नै जेनजी आन्दोलनप्रति सहानुभूति देखाएका उनी सरकारमा ल्याउने चर्चा छ।
५. ओम प्रकाश अर्याल – कानुनी क्षेत्रका विज्ञ तथा काठमाडौं महानगरका कानुनी सल्लाहकार अर्यालको नाम पनि चर्चामा छ।
६. सन्दुक रुइत – विश्वप्रसिद्ध नेत्र विशेषज्ञ रुइतको योगदान उल्लेखनीय छ। राष्ट्रपति पदका लागि उनको नाम उपयुक्त ठहरिए पनि सरकारमा उनको ज्ञान र अनुभवको खाँचो महसुस गरिएको छ।
७. गोपाल हमाल – धनगढीका मेयर हमालले जेनजीलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत भ्रष्टाचारविरुद्ध बोल्दै आएका छन्। मन्त्री बन्ने आकांक्षा स्पष्ट नभए पनि जनसमर्थन उच्च छ।
८. पिताम्बर शर्मा र कृष्ण खनाल – विश्लेषक तथा शिक्षाविदका रूपमा उनीहरूले राम्रो छवि बनाएका छन्। यस्ता प्राध्यापकहरूलाई नेतृत्वमा ल्याउन सकिने विज्ञहरुको धारणा छ।
९. भीमार्जुन आचार्य – संवैधानिक तथा कानुनी मामिलामा दखल भएका आचार्य पनि मन्त्रीका सम्भावित बलिया उम्मेदवार हुन्।
'स्मार्ट क्याबिनेट'को खाका
प्रधानमन्त्री कार्कीको लक्ष्य एउटा "स्मार्ट क्याबिनेट" निर्माण गर्ने हो, जसमा हरेक मन्त्री आफ्नो मन्त्रालयको विषयमा दखल राख्ने, स्वच्छ छवि भएका र जनता प्रतिको उत्तरदायित्वमा खरो उत्रन सक्ने व्यक्ति हुनुपर्छ।
- गृह मन्त्रालयको लागि हक्की, कडारूप र निष्पक्ष व्यक्तित्व आवश्यक मानिन्छ।
- अर्थ मन्त्रालयमा दीर्घकालीन समाधान सोच्न सक्ने र अर्थतन्त्र बुझ्ने व्यक्ति चाहिन्छ।
- परराष्ट्र मन्त्रालयमा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति बुझेका व्यक्तिलाई राख्नुपर्ने सुझाव छ।
- बाँकी मन्त्रालयमा काम गर्न सक्ने स्वच्छ छविका व्यक्ति भए पुग्छ भन्ने धारणा देखिन्छ।
आन्दोलनको मर्म र नेतृत्वको जिम्मेवारी
जेनजी आन्दोलन पछाडिको शक्तिशाली युवा पुस्ताले नेतृत्वको जिम्मेवारी निष्पक्ष, पारदर्शी र ईमानदार व्यक्तिलाई दिनुपर्ने अपेक्षा गरेको छ। मन्त्री चयनको क्रममा, पहिले मन्त्री नभएका, तर समाजमा विश्वासिलो छवि बनाएका व्यक्तिलाई प्राथमिकता दिनु उपयुक्त हुने विश्लेषण गरिन्छ।
एकातिर जनताले कार्की नेतृत्वलाई उम्मेद्वार छनोटमा संयम र विवेक देखाउनुपर्ने अपेक्षा गरेका छन् भने, अर्कातिर यदि कुनै अयोग्य वा बदनाम व्यक्ति मन्त्री बनाइयो भने आन्दोलनकै औचित्यमाथि प्रश्न उठ्न सक्ने खतरा छ।
प्रधानमन्त्री कार्कीको नेतृत्वमा बन्ने मन्त्रिमण्डल केवल सत्ता सञ्चालनको माध्यम नभई जेनजी आन्दोलनको संस्थागत रूप हुनेछ। त्यसैले पनि मन्त्री छनोटमा धैर्य, विवेक र निष्ठाको खाँचो अत्यावश्यक छ। भ्रष्टाचारमुक्त, पारदर्शी र जनउत्तरदायी नेतृत्व निर्माण गर्दै जानु नै आजको आवश्यकता हो। समाजले नेतृत्व बुझ्नुपर्ने हो भने, नेतृत्वले पनि समाजलाई गम्भीरतासाथ बुझ्नुपर्ने समय यही हो।
अझै पनि सोच्ने बेला छ। स्मार्ट क्याविनेट तयार गर्नका लागि पहिलो कुरा हक्की स्वभावको निष्कलङ्क व्यक्ति गृह मन्त्रालयमा आवश्यक पर्छ। दोस्रो अर्थतन्त्र बुझेको र दीर्घकालिन र अल्पकालिन समाधानमा माहिर व्यक्ति आवश्यक पर्छ। अर्को अन्तर्राष्ट्रिय मामिला र कुटनीती बुझेको व्यक्तिलाई परराष्ट्र मन्त्री बनाउनु पर्छ। बाँकी मन्त्रालय स्वच्छ चरित्र र काम गर्न सक्ने योग्य जो जुकै व्यक्तिलाई दिए पनि ठुलो फरक पार्दैन।
जेनजीले बुझ्नु पर्ने अर्को पक्ष जो व्यक्ति मन्त्री बन्दछ उसले जेनजीको भावना बुझेको र बुझ्ने हुनु पर्छ अन्यथा बुढाखाडाले केपी बा, शेयर बहादुर दाइ र प्रचण्ड भन्दै धाउन थाल्छन् र उनिहरुकै इसारामा काम गर्न थाल्छन्। यो पनि हुनुहुँदैन। त्यसैले जेनजीले पनि समाज बुझ्नु पर्यो र समाजले पनि जेनजीको आन्दोलनलाई बुझिदिनु पर्छ। यसका लागि नेतृत्व असल हुनु पर्छ।
जेनजीले व्यक्ति छनोट गर्दै गर्दा अहिलेसम्म मन्त्री नभएको व्यक्ति भएमा एकदमै राम्रो। समाजमा अहिले यति धेरै प्राध्यापक छन् उनिहरुलाई छनोट गरेर ल्याउदा सबैभन्दा उपयुक्त हुन्छ। तर सबै प्राध्यापक राम्रा र नेतृत्व गर्न सक्छन् भन्ने पनि हुँदैन। तर जसले क्षमता राख्छन् उनिहरुलाई अगाडी ल्याउनु पर्छ। पिताम्बर शर्मा, कृष्ण खनाल जस्ता प्राध्यापक पनि उपयुक्त पात्र हुन्छन्। जसले इमेज जोगाइरहेका छन् उनिहरुलाई ल्याइनु पर्छ। अर्को भिमार्जुन आचार्य पनि एउटा बलिया पात्र हुन्। उनलाई पनि जिम्मेवारी दिन सकिन्छ।
प्रतिक्रिया