अन्तर्राष्ट्रिय कार्ड नेटवर्कबाट राजस्व भुक्तानीको सुरुवात
- BFIS News
- 2025 Sep Thu 21:45

काठमाडौं, असोज २, २०८२ – अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र मुख्य सचिव एकनारायण अर्यालको प्रमुख आतिथ्यमा राजस्व व्यवस्थापन सूचना प्रणाली (RMIS) मा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली (International Card Network) को अन्तर आबद्धताको औपचारिक शुभारम्भ सम्पन्न भएको छ।
यस नयाँ प्रणालीको सुरुवातसँगै विदेशमा रहेका नेपाली नागरिक तथा नेपाल भ्रमणमा आउने पर्यटकहरूले अब MasterCard, Visa Card, Alipay लगायतका अन्तर्राष्ट्रिय कार्ड नेटवर्क मार्फत अध्यागमन विभागले प्रदान गर्ने सेवा वापतको राजस्व सहजै भुक्तानी गर्न सक्नेछन्।
सरकारले आशा गरेको छ कि यस प्रणालीले राजस्व संकलन प्रक्रियालाई कागजरहित (paperless), प्रत्यक्ष सम्पर्करहित (faceless), चौबीसै घण्टा र सातै दिन उपलब्ध हुने सेवा प्रणालीमा परिणत गर्नेछ। यसले राजस्व संकलन प्रक्रियालाई पारदर्शी, द्रुत, अन्तर्राष्ट्रिय पहुँचयुक्त र सेवाग्राहीमैत्री बनाउँदै डिजिटल अर्थतन्त्र (Digital Economy) को प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
हालका लागि यो सेवा अध्यागमन विभाग र त्यसअन्तर्गतका निकायहरूद्वारा प्रदान गरिने अध्यागमन सम्बन्धी सेवाहरूमा सीमित गरिएको छ। यद्यपि, आगामी चरणहरूमा नेपाल सरकारका अन्य निकायहरूमा समेत यो सेवा विस्तार गरिने योजना रहेको छ।
यो प्रणाली लागू भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गर्ने पर्यटकहरूले भुक्तानी प्रक्रियामा थप सहजता अनुभव गर्नेछन्। नेपाल सरकारद्वारा लिइएको यो कदम डिजिटल सुशासन र प्रविधिमैत्री प्रशासनतर्फको महत्वपूर्ण प्रगति मानिएको छ।
प्रतिक्रिया