ओलीको दाबी अस्वीकार : प्रदर्शनकारीमाथि गोली सुरक्षाकर्मीले नै चलाएको पुष्टि
- BFIS News
- 2025 Sep Fri 17:46

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका दिन सामाजिक सञ्जालमार्फत जेनजी आन्दोलनका क्रममा भएको गोलीकाण्डबारे ‘सुरक्षाकर्मी बाहेकका व्यक्तिबाट गोली चल्न सक्ने’ आशंका व्यक्त गरेका थिए ।
ओलीले फेसबुकमा लेख्दै आफूहरूले गोली चलाउन आदेश नदिएको दाबी गर्दै “प्रहरीको स्वामित्वमा नभएका हतियारबाट गोली चलेकोबारे छानबिन हुनुपर्छ” भनेका थिए । तर, पोस्टमार्टम रिपोर्टहरूले भने गोली सुरक्षाकर्मीले प्रयोग गर्ने हतियारबाटै चलेको पुष्टि गरेका छन् ।
भदौ २२ गते (सेप्टेम्बर ८) जेनजी आन्दोलन सुरु भएको पहिलो दिन नयाँबानेश्वर क्षेत्रमा मात्रै १९ जनाको ज्यान गएको थियो । देशभर ७४ जनाको मृत्यु भएको तथ्याङ्क छ । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल (महाराजगञ्ज) मा ल्याइएका ४० शवमध्ये ३५ जनाको मृत्यु गोली लागेर भएको थियो । तीमध्ये पाँच जनाको मृत्यु घातक चोटका कारण भएको चिकित्सकहरूले जनाएका छन् ।
पोस्टमार्टम विभागका चिकित्सकका अनुसार गोली लागेका सबैको कम्मरमाथि घाइते भएको देखिएको छ, जसमा अधिकांशको छाती र टाउकोमा गोली लागेको थियो । “प्रत्येक व्यक्तिलाई एक–एक गोली लागेको छ, कम्मरमुनि भने कसैलाई लागेको छैन,” चिकित्सकले बताए । प्रयोग गरिएका गोली ‘हाई–भेलोसिटी’ हतियार अर्थात् एसएलआर रायफलबाट प्रहार गरिएको पुष्टि भएको छ । एसएलआर नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रयोग गर्ने मानक हतियार हो ।
सशस्त्र प्रहरी मुख्यालयका अनुसार उनीहरूले हाल प्रयोग गर्ने प्रमुख हतियार एसएलआर नै हो । सामान्यतया भीड नियन्त्रणमा प्रहरीले ग्यासगन प्रयोग गर्ने गरे पनि परिस्थिती नियन्त्रणबाहिर जाँदा मात्रै गोली चलाइने बताइन्छ । संसद भवन वरिपरि करिब १०० सुरक्षाकर्मी परिचालनमा थिए, जसले एसएलआर र इन्सास रायफल बोकेको पुष्टि भए पनि कुन टोलीबाट गोली चलेको अहिलेसम्म स्पष्ट गरिएको छैन ।
यता, आन्दोलनका क्रममा कति गोली प्रहार गरियो, कति हतियार, सञ्चार उपकरण वा पोशाक लुटियो भन्नेबारे सशस्त्र प्रहरीले अहिलेसम्म सार्वजनिक गरेको छैन । प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले “विस्तृत विवरण संकलन भइरहेको छ” मात्र बताएका छन् ।
सेनालाई भने भदौ २२ गतेको कर्फ्यूपछि मात्रै परिचालन गरिएको थियो । सेनाले प्रयोग गर्ने एम–१६ रायफलबाट आन्दोलनको पहिलो दिन कुनै गोली चलेको थिएन । सेनाले ९ गते राति १० बजेपछि मात्र परिस्थिती नियन्त्रणमा लिएको थियो । तर, भदौ २४ गते जेल तोडफोड र कैदी भाग्ने घटना भएपछि मात्र सेनाले गोली प्रहार गरेको थियो ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले घटनाबारे छानबिन आयोग गठन गर्ने जिम्मेवारी पाएको भए पनि आयोग औपचारिक रूपमा अझै गठन भएको छैन ।
प्रतिक्रिया