Nepal Life

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको आठ बुँदे निर्णय, पीडितलाई राहत र पुनःस्थापनामा जोड

Sagarmatha Lumbini
  • BFIS News
  • 2025 Oct 06 06:33
मनसुन प्रतिकार्य कमाण्ड पोष्टको आठ बुँदे निर्णय, पीडितलाई राहत र पुनःस्थापनामा जोड

काठमाडौं, असोज २० – लगातारको अविरल वर्षापछि देशभर विभिन्न स्थानमा निम्तिएका विपद् व्यवस्थापन तथा प्रतिकार्यका लागि मिति २०८२ साल असोज १९ गते आइतबार बसेको मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठकले महत्वपूर्ण निर्णयहरू गरेको छ।

Nepal Life
NIMB

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का कार्यकारी प्रमुख इन्जिनियर दिनेश प्रसाद भट्टका अनुसार, बैठकले निम्न आठ बुँदे निर्णयहरू गरेको छ:

१. असोज १७ गतेदेखि देशका विभिन्न स्थानमा परेको भारी वर्षा र त्यसबाट निम्तिएका घटनाप्रति दुःख व्यक्त गर्दै, ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गरिएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

२. मृतकका परिवारलाई तत्काल राहत उपलब्ध गराउने र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न स्थानीय तहसँग समन्वय गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिने निर्णय।

३. मनसुनजन्य विपद्बाट पीडित तथा प्रभावित व्यक्तिहरुको खोज, उद्धार, राहत तथा पुनःस्थापनाको कार्यलाई निरन्तरता दिने।

४. प्रारम्भिक क्षतिको यथाशीघ्र आकलन गरी प्रभावित जनसंख्या तथा क्षेत्रको विवरण प्राधिकरणमा पठाउन सम्बन्धित निकायहरूलाई अनुरोध गरिने।

५. राहत, स्थानान्तरण तथा पुनर्स्थापनासम्बन्धी कार्य तत्काल सम्पन्न गर्न स्थानीय तह तथा सरोकारवाला निकायहरूलाई अनुरोध गर्ने।

६. असोज १८ गतेको सूचनाको आधारमा जोखिम मूल्यांकन गरी:

(क) अवरुद्ध सडकको तत्काल मर्मत गरी सन्चालनमा ल्याउन सडक विभागलाई निर्देशन दिने।

(ख) अत्यावश्यक सेवा, राजमार्गमा रोकिएका मालबाहक/यात्रुबाहक तथा छोटो दूरीका सवारी साधनको सन्चालन स्थानीय प्रशासन र अन्तर जिल्ला समन्वयमार्फत सुचारु गर्ने।

(ग) अर्को सूचना नआएसम्म जोखिमयुक्त राजमार्गहरूमा रात्रीकालीन बस सेवा सञ्चालन नगर्न निर्देशन दिने।

७. अवरुद्ध खानेपानी, विद्युत्, संचार जस्ता अत्यावश्यक सेवाहरू शीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित संस्थाहरू – खानेपानी सेवा प्रदायक संस्था, नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणलाई आवश्यक निर्देशन पठाइने।

८. खोज, उद्धार, राहत तथा प्रतिकार्यमा खटिएका जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय प्रशासन, सञ्चारकर्मी, गैरसरकारी संस्था र निजी क्षेत्रलाई धन्यवाद प्रकट गर्ने निर्णय।

प्राधिकरणले सम्पूर्ण सरोकारवाला पक्षहरूलाई तदारुकताका साथ निर्णय कार्यान्वयन गर्न आग्रह गरेको छ। वर्षासँगै थप जोखिमको सम्भावना रहेकाले आम नागरिकलाई समेत सतर्क रहन तथा स्थानीय प्रशासनसँग सहकार्य गर्न अनुरोध गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया