सानिमा बैंकको जगेडा कोष बलियो बनाउने रणनीति, हामी सँग वितरण योग्य मुनाफा १५.४५ % छ: अध्यक्ष पौडेल
- BFIS News
- 2025 Oct 20 07:52

काठमाडौं, कार्तिक ३। सानिमा बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष तुक प्रसाद पौडेलले बैंकको २१औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै बैंकले आर्थिक वर्ष २०८१/८२ मा वितरण योग्य मुनाफा १५.४८ प्रतिशत रहेता पनि ७.३६८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको बताएका छन्।
अध्यक्ष पौडेलका अनुसार बैंकको लाभांश वितरण क्षमता चुक्ता पूँजीको १५.४८ प्रतिशत रहेको भए पनि ऋणपत्र फिर्ता तथा जगेडा कोषका लागि रकम छुट्याएपछि बाँकी मुनाफाबाट नगद लाभांश वितरण गर्न सम्भव भएको हो। बाँकी मुनाफा भने जगेडा कोषमा सुरक्षित रहने उनले बताए।
उनले बैंकले खर्च तथा पूँजी व्यवस्थापनमा कुशलता कायम राख्न सफल भएको उल्लेख गर्दै तीव्र प्रतिस्पर्धा भएको बैंकिङ्ग वातावरणमा पनि सानिमा बैंकले आफ्नो पृथक र सफल पहिचान बनाइराख्न सफल भएको दाबी गरे। बैंकका कर्मचारी, ग्राहक, शेयरधनी तथा सबै सरोकारवालालाई योगदानका लागि धन्यवाद दिँदै उनले भविष्यमा पनि सहयोग यथावत रहने विश्वास व्यक्त गरे।
चुनौतीका बाबजुद सन्तोषजनक प्रगति
सभामा बोल्दै अध्यक्ष पौडेलले समीक्षा वर्ष २०८१/८२ मा देखिएका विभिन्न आर्थिक चुनौतीहरुप्रति संकेत गर्दै बैंकको व्यवसाय विस्तारमा केही असर परेको बताए। उनले विदेशी मुद्राको संचितीमा वृद्धि भएर बाह्य क्षेत्रमा सुधार देखिए पनि आन्तरिक मागको कमी, सरकारी राजस्वमा दबाव र पूँजीगत खर्चको न्यूनताका कारण बैंकिङ कारोबारमा असर परेको बताए।
तर, यस्तो चुनौतीपूर्ण अवस्थामा पनि सानिमा बैंकको निक्षेप गत वर्षको तुलनामा १३.०९ प्रतिशतले वृद्धि भई २ खर्ब २५ अर्ब ४८ करोड पुगेको छ। त्यस्तै, कर्जा ११.२२ प्रतिशतले वृद्धि भई १ खर्ब ८३ अर्ब ४५ करोड पुगेको छ, जुन दर समग्र बैंकिङ क्षेत्रको औसतभन्दा माथि रहेको उनले जानकारी दिए।
भविष्यको रणनीति
बैंकले आगामी दिनमा जलविद्युत तथा विपन्न वर्गमा केन्द्रित गरी लगानी विस्तार गर्ने योजना अघि सारेको छ। साथै, विदेशी बैंक तथा वित्तीय संस्थाबाट विनिमय कर्जा ल्याउने प्रक्रिया निरन्तर जारी रहेको जानकारी दिए।
सानिमा बैंकले डिजिटल बैंकिङ्ग, सेवा सुधार, प्रविधिमा नविकरण, कर्मचारी व्यवस्थापन तथा जोखिम व्यवस्थापनलाई प्राथमिकता दिने अध्यक्ष पौडेलको भनाइ छ। साथै, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायको दिगो विकासमा योगदान दिइरहेको र यो कार्यलाई भविष्यमा पनि निरन्तरता दिइने उनले उल्लेख गरे।
सभामा उपस्थित शेयरधनी तथा अतिथिहरुप्रति आभार प्रकट गर्दै अध्यक्ष पौडेलले सानिमा बैंकलाई सबल, सक्षम र विश्वासिलो संस्थाका रुपमा अगाडि बढाउने प्रतिबद्धता दोहोर्याएका छन्। साथै, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, स्टक एक्सचेन्ज तथा अन्य नियामक निकायहरुको निरन्तर सहयोगप्रति कृतज्ञता व्यक्त गरे।
प्रतिक्रिया