NIMB Header 2
Nepal Life

सिटिजन लाइफ इन्स्योरेन्सको आठौँ वार्षिकोत्सव : सामाजिक उत्तरदायित्व र व्यावसायिक सुदृढतासँगै अघि बढ्दै

Muktinath Bank
  • BFIS News
  • 2025 Oct 20 09:25
सिटिजन लाइफ इन्स्योरेन्सको आठौँ वार्षिकोत्सव : सामाजिक उत्तरदायित्व र व्यावसायिक सुदृढतासँगै अघि बढ्दै
National Life

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो आठौँ वार्षिकोत्सव देशभरका शाखा तथा उपशाखा कार्यालयहरूमा विविध सामाजिक उत्तरदायित्व कार्यक्रमहरूका साथ मनाएको छ। ‘विविधता र समावेशीकरण दिवस’ लाई वार्षिकोत्सवको मुख्य विषयका रूपमा लिएर मनाइएको यस वर्षको उत्सवले सिटिजन परिवारभित्रको सहअस्तित्व, सांस्कृतिक समृद्धि र परस्पर सम्मानको सन्देश प्रवाह गरेको छ। 

NIMB

सामाजिक उत्तरदायित्वमा सक्रिय सिटिजन

वार्षिकोत्सवको अवसरमा कम्पनीले देशभर १६ स्थानमा रक्तदान कार्यक्रम, ६ स्थानमा बीमा सचेतना र्‍याली तथा घरघरमा बीमा जानकारी अभियान, ३ स्थानमा सरसफाइ तथा डस्टबिन हस्तान्तरण, ११ स्थानमा अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण, एक स्थानमा निःशुल्क स्वास्थ्य शिविर, १० स्थानमा विपन्न बालबालिकालाई न्यानो कपडा वितरण र सात स्थानमा ३५० बिरुवा रोपण कार्यक्रम सम्पन्न गरेको छ। 

कम्पनीका अध्यक्ष प्रदिप जंग पाण्डेका अनुसार, “सिटिजन लाइफले आफ्नो स्थापना कालदेखि नै बीमा सेवासँगै सामाजिक उत्तरदायित्वलाई पनि बराबर प्राथमिकतामा राख्दै आएको छ। हामी समाजसँग नजिक भएर सकारात्मक प्रभाव पार्न विश्वास गर्छौं।” 

स्थापना देखि व्यवसायिक यात्रा

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कम्पनी ऐन २०६३ बमोजिम २०६४ असार १२ गते पब्लिक कम्पनीको रूपमा दर्ता भएको थियो। बीमा ऐन तथा बीमा विनियमावली अनुसार २०७४ भदौ ७ गते नेपाल बीमा प्राधिकरणबाट जीवन बीमा कारोबारको इजाजत पत्र प्राप्त गरी सोही वर्ष कात्तिक २ गतेदेखि आधिकारिकरूपमा बीमा सेवा सञ्चालन गरेको थियो। 

कम्पनीका संस्थापकहरू बैंकिङ, बीमा, जलविद्युत, पर्यटन, कृषि, उद्योग तथा व्यवस्थापन क्षेत्रका अनुभवी व्यक्तित्वहरू हुन्। आठ वर्षको यात्रामा कम्पनीले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका चुनौतीहरूमाझ पनि पारदर्शी, प्रविधियुक्त र ग्राहककेन्द्रित सेवाबाट उल्लेखनीय उपलब्धि हासिल गरेको छ। 

विस्तार, वृद्धि र उपलब्धि

आज सिटिजन लाइफ देशका विभिन्न भौगोलिक क्षेत्रहरूमा १३५ शाखा तथा उपशाखा कार्यालयमार्फत १० भन्दा बढी जीवन बीमा योजनाहरू सञ्चालन गर्दै प्रथम बीमा शुल्क आर्जनमा ६.७ प्रतिशतभन्दा माथिको हिस्सा कायम गर्न सफल भएको छ। कम्पनीको जीवन बीमा कोष २० अर्ब रुपैयाँ नाघिसकेको छ। 

कम्पनीले चुक्ता पूँजी ५ अर्ब पुर्याउन सफल हुँदै मर्जरको बाटो नलिई आफ्नै बलबुतामा अघि बढ्ने प्रतिबद्धता जनाएको छ। बीमा व्यवसायका दीर्घकालीन दायित्व पूरा गर्न कम्पनीले लगानीलाई विविधिकृत गर्दै स्थायित्वमा जोड दिएको छ। 

आर्थिक परिस्थिति र बीमा क्षेत्रका चुनौतीहरू

कम्पनीले देशको आर्थिक तथा वित्तीय असन्तुलनबीच पनि आफ्नो व्यवसाय स्थायित्व कायम राख्न सफल भएको बताएको छ। उच्च मुद्रास्फीति, तरलता असन्तुलन, व्याजदरको उतारचढाव र लगानी जोखिमका बीच जीवन बीमाको आवश्यकता र औचित्यबारे जनचेतना फैलाउनु आजको चुनौती रहेको कम्पनीको भनाइ छ। 

दक्षता विकास र क्रेडिट रेटिङ्ग

सिटिजन लाइफले आफ्ना कर्मचारी र अभिकर्तालाई स्वदेशी र विदेशी तालिममार्फत दक्ष बनाउन निरन्तर तालिम तथा गोष्ठी आयोजना गर्दै आएको छ। कम्पनीले ईक्रा नेपाल लिमिटेडबाट “[ICRANP-IR] BBB” क्रेडिट रेटिङ्ग प्राप्त गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ। 

अभिकर्ता : कम्पनीको मेरुदण्ड

देशभर करिब ३० हजार “सिटिजन लिडर” अभिकर्ताको सञ्जालमार्फत कम्पनीले व्यवसायिक विस्तारलाई गति दिएको छ। बीमा अभिकर्ताको पेशागत विकासका लागि कम्पनीले निरन्तर तालिम, कार्यशाला र गोष्ठी सञ्चालन गर्दै व्यावसायिक अभिकर्ता नेटवर्क निर्माणमा जोड दिएको छ।  

भविष्यका योजना र प्रतिबद्धता

सिटिजन लाइफले आगामी वर्षहरूमा बीमा व्यवसायलाई अझ प्रभावकारी बनाउन डिजिटलाइजेसनलाई प्राथमिकतामा राख्ने, दक्ष जनशक्ति विकास गर्ने, अभिकर्ता सञ्जाल विस्तार गर्ने, तथा ग्राहक सेवा सुधारमा जोड दिने योजना अघि सारेको प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले जानकारी दिएका छन्। कम्पनीले जीवन बीमा क्षेत्रलाई अझ सुदृढ बनाउँदै, बीमित र शेयरधनीहरूलाई दीर्घकालीन प्रतिफल दिने प्रतिबद्धता व्यक्त गरेको छ। 

८ वर्षको यात्रामा सिटिजन लाइफ इन्स्योरेन्सले देखाएको सामाजिक उत्तरदायित्व, पारदर्शिता र व्यवसायिक अनुशासनले यसलाई नेपाली जीवन बीमा क्षेत्रको विश्वसनीय नामको रूपमा स्थापित गरिसकेको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार