नेपाल लाइफले पायो सबैभन्दा राम्रो 'डबल ए माइनस' रेटिङ, "उच्च सुरक्षायुक्त कम्पनी"
- BFIS News
- 2025 Oct 28 10:07
काठमाडौं, २०८२ कात्तिक १० – देशकै अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई इक्रा नेपालले [ICRANP-IR] AA– डबल ए माइनस रेटिङ प्रदान गरेको छ। यो रेटिङले समयमै वित्तीय दायित्व पूरा गरेका खण्डमा उच्च सुरक्षायुक्त मानिन्छ।
रेटिङले ऋण तथा कुनै पनि दायित्व बहन गर्न सक्ने क्षमता र कुनै पनि वित्तीय दायित्वको जोखिम निकै न्यून हुने अनुमान गरिन्छ। यो रेटिङ कुनै पनि उपकरण नभइ कम्पनीको जोखिम बहन क्षमतासम्बन्धी धारणा मात्रै रहेको इक्रा नेपालले जनाएको छ।
रेटिङको आधारहरू
विसं २०५८ सालदेखि सञ्चालनमा रहँदै आएको नेपाल लाइफले यस अवधिमा लामो अनुभव संगालिसकेको छ। यस अवधिमा देशभरका १९० भन्दा बढी शाखा र अनुभवी व्यवस्थापन टोलीको कारणले बीमा क्षेत्रमा बलियो उपस्थितिलाई कायम राखेको छ। कम्पनीले जीवन बीमा क्षेत्रमा करिब २७% भन्दा बढी बजार हिस्सा कायम राख्दै बीमा बजारको नेतृत्व गर्दै आइरहेको छ।
ठूलो आकार र कार्यदक्षताले सञ्चालन लागत घटाएर नाफा वृद्धिमा सहयोग पुर्याएको इक्रा नेपालले जनाएको छ। प्रथम बीमा शुल्कमा उतारचढाव भए पनि, नवीकरण बीमाबाट आएको आम्दानीले निरन्तर वृद्धिलाई साथ दिएको प्रतिवेदनमा उल्लेख छ।
कम्पनीको लगानी गुणस्तर पनि सन्तोषजनक रहेको इक्रा नेपालले जनाएको छ। स्थिर ब्याज दर भएका साधनहरूमा लगानी (९४%) हुँदा ब्याजदर घट्दा आम्दानीमा केही कमी देखिए पनि औसत ब्याजदर मध्य–अप्रिल २०२५ सम्म ९.३% रहेको छ।
नेपाल लाइफको व्यवसायको झन्डै ९९% हिस्सा सावधिक जीवन बीमामा आधारित भएकाले दीर्घकालीन स्थायित्वमा पनि यसले सहयोग पुर्याएको रेटिङ एजेन्सीको विश्लेषण छ।
साथै, कम्पनीको सॉल्भेन्सी अनुपात १४५ % रहेको छ, जुन नियामक न्यूनतम १३०% भन्दा धेरै उच्च हो। पर्याप्त पुनर्बीमा व्यवस्थापन र विनाशकारी जोखिम आवरण (catastrophic cover) पनि कम्पनीको बलियो पक्ष हो।
चुनौतीहरू र जोखिम पक्षहरू
बीमा बजारमा प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। सन् २०१७ मा नयाँ जीवन बीमा कम्पनीहरूलाई इजाजत दिइएपछि बजार बाडिएको र पछिल्ला वर्षहरूमा केही मर्जर र विस्तारले नयाँ कम्पनीहरू आक्रामक रुपमा बजार विस्तार गरिरहेका छन्।
नेपाल लाइफको सम्पत्ति विगत चार वर्षमा वार्षिक औसत १९% दरले बढेको छ, जसले लगानी आम्दानीलाई स्थिर राख्न चुनौती निम्त्याएको एजेन्सीको विश्लेषण छ। ब्याजदर घट्दो अवस्थामा कम्पनीको कुल लगानीको ९४ प्रतिशतमै प्रभाव पर्ने भएकाले व्याजदरको जोखिमलाई एजेन्सीले सबैभन्दा धेरै चुनौतीका रुपमा लिएको छ।
कम्पनीको लगानीको करिब ६८% बाणिज्य बैंकहरूमा केन्द्रित छ र वैकल्पिक लगानीको हिस्सा करिब ६% मात्र रहेको छ। यस कारण केन्द्रिकृत जोखिम (concentration risk) बढेको छ र आर्थिक वर्ष २०८१/८२ मा औसत लगानी आम्दानी घटेर ९.४% पुगेको छ भने यस भन्दा अगाडी १०.१% थियो। ।
त्यसैगरी, बीमा पॉलिसी नवीकरण दर पनि FY2023 को ८९% बाट घटेर FY2024 मा ६२% मा झरेको छ, जसले कम्पनीको दीर्घकालीन आम्दानीमा असर पारेको छ।
बीमा क्षेत्र नियामक जोखिमबाट पनि मुक्त नरहेको एजेन्सीले उल्लेख गरेको छ। नेपाल बीमा प्राधिकरण (NIA) ले बारम्बार जारी गर्ने नयाँ निर्देशनहरू जस्तै जोखिममा आधारित पूँजी (Risk-Based Capital) आवश्यकताहरू र भविष्य बोनस प्रावधानका नियमले कम्पनीहरूको नाफा र वित्तीय प्रोफाइलमा असर पार्न सक्छ। भविष्यमा IFRS 17 को कार्यान्वयनले पनि कम्पनीको वित्तीय सूचकाङ्कमा प्रभाव पार्ने सम्भावना रहेको ICRA नेपालले जनाएको छ।
रेटिङका सवल पक्षहरु
मजबुत बजार स्थिति र अनुभवी नेतृत्व:
सन् २००१ मा स्थापना भएको नेपाल लाइफ देशकै पुरानो जीवन बीमा कम्पनीहरूमध्ये एक हो। FY2025 मा करिब २७% बजार हिस्सा राख्दै यसले बजार नेतृत्व कायम राखेको छ। कम्पनीको बलियो एजेन्सी सञ्जाल, अनुभवी बोर्ड र व्यवस्थापन टोलीले सञ्चालन कार्यक्षमता बढाएको एजेन्सीले उल्लेख गरेको छ।
पर्याप्त सॉल्भेन्सी र सुदृढ लगानी गुणस्तर:
गएको असार मसान्तसम्ममा कम्पनीको सॉल्भेन्सी अनुपात 145 प्रतिशत रहेको छ, जुन नियामक न्यूनतम स्तर 130 प्रतिशतभन्दा माथि रहेको छ। सॉल्भेन्सी गणनामा भविष्यमा वितरण गर्न सकिने बोनसलाई पनि समावेश गरिएको छ, जुन हालका बोनस दरको ५० प्रतिशतभन्दा बढी बराबर रहेको र भविष्यमा बोनस स्थिर राख्न सहयोगी मानिएको छ।
कम्पनीको लगानी गुणस्तर पनि राम्रो छ करिब ९२ प्रतिशत लगानी स्थायी ब्याज दिने साधनहरूमा (पोलिसी होल्डर ऋण बाहेक) गरिएको छ, जसको करिब ८५ प्रतिशत ‘इन्भेष्टमेन्ट ग्रेड’ रेटिङ प्राप्त संस्थाहरूमा र करिब १५ प्रतिशत AA– वा सोभन्दा माथि रेटिङ भएका संस्थाहरूमा लगानी गरिएको छ। तीमध्ये करिब ८९ प्रतिशत वाणिज्य बैंकहरूमा र करिब ९ प्रतिशत ठूला विकास बैंकहरूमा रहेका छन्। लामो अवधिका फिक्स्ड डिपोजिटहरूले पछिल्ला त्रैमासिक अवधिहरूमा ब्याजदरमा आएको गिरावटका बाबजुद पर्याप्त प्रतिफल कायम राख्न सहयोग पुर्याएका छन्।
नाफामुखी सञ्चालन र सन्तुलित खर्च संरचना:
नेपाल लाइफको नाफा तथा अन्य सूचकहरू, व्यवसायिक आकार, ठूलो लगानी पोर्टफोलियो, स्थिर लगानी आम्दानी, नियन्त्रणमा रहेको सञ्चालन खर्च, र एक्चुरियल सरप्लसको स्थानान्तरणले कम्पनीलाई थप सबल बनाएको एजेन्सीले उल्लेख गरेको छ। कम्पनीको व्यवसाय मुख्यतः ‘सावधिक’ प्रकारको भएकाले भविष्यको नाफा प्रोफाइल एक्चुरियल सरप्लसको गतिशीलतामा निर्भर रहनेछ।
आ.व. २०८०/८१ मा कम्पनीले करिब रू. २ अर्ब १२ करोड ९० लाख खुद नाफा आर्जन गरेको थियो, जसमा जीवन कोषबाट शेयरधनी कोषमा करिब रू. १ अर्ब ८१ करोड ९० लाख स्थानान्तरण गरिएको थियो। यसबाट कम्पनीको इक्विटीमा फिर्ता (RoE) करिब १८ प्रतिशत रहेको छ। त्यसैले, कम्पनीले जीवन बीमा कोषहरूबाट पर्याप्त प्रतिफल आर्जन गर्नसक्ने क्षमताले भविष्यमा प्रतिस्पर्धात्मक बोनस दर र नाफा सूचक कायम राख्न महत्वपूर्ण भूमिका खेल्नेछ।
सन्तोषजनक पुनर्बीमा व्यवस्था:
कम्पनीले नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल सरकारको स्वामित्व, [ICRANP-IR] AA–) र हिमालयन पुनर्बीमा लिमिटेड (HRL) सँग नियमित जीवन बीमा, सूक्ष्म बीमा तथा CAT XL पुनर्बीमा व्यवस्था गरेको छ। नेपाल लाइफको प्रति जीवन बीमा जोखिम धारण सीमा करिब रू. २० लाखसम्म रहेको छ, जुन कम्पनीको ठूलो सम्पत्तिको सन्दर्भमा मध्यम मानिन्छ। साथै, आ.व. २०८१/८२ सम्ममा कम्पनीको विनाशकारी कोष (catastrophic reserve) करिब रू. १ अर्ब ३२ करोड २० लाख रहेको छ, जसले कम्पनीको व्यवसायिक आकारको तुलनामा थप सुरक्षा प्रदान गर्दछ।
आगामी भविष्य
आगामी वर्षहरूमा नेपाल लाइफले आफ्नो बढ्दो सम्पत्ति र लगानी कोषमा पर्याप्त प्रतिफल कायम राख्न सक्ने क्षमता, ब्याजदर उतारचढावको जोखिम सामना गर्न वैकल्पिक लगानी विविधीकरण गर्ने योजना र सॉल्भेन्सी प्रोफाइल सुदृढ राख्ने क्षमतामा यसको रेटिङ निर्भर रहनेछ।
ICRA नेपालले नेपाल लाइफ इन्स्योरेन्सलाई दिएको [ICRANP-IR] AA– रेटिङले कम्पनीको वित्तीय स्थायित्व, बलियो बजार स्थिति, अनुभवी नेतृत्व र सन्तुलित सञ्चालन क्षमतालाई पुष्टि गरेको छ। यद्यपि ब्याजदर घट्दो वातावरण, सीमित लगानी विविधीकरण र तीव्र प्रतिस्पर्धाले भविष्यमा चुनौती निम्त्याउन सक्छ, नेपाल लाइफले आफ्नो स्थिरता र बजार नेतृत्व कायम राख्न सक्षम रहने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)
















प्रतिक्रिया