NIMB Header 2
Nepal Life

नेपालमा ५७ देशबाट भित्रियो २ खर्ब ६४ अर्ब प्रत्यक्ष वैदेशिक लगानी, ६२.६ प्रतिशत औद्योगिक क्षेत्रमा

National Life
  • BFIS News
  • 2023 Sep 27 17:18
नेपालमा ५७ देशबाट भित्रियो २ खर्ब ६४ अर्ब  प्रत्यक्ष वैदेशिक लगानी, ६२.६ प्रतिशत औद्योगिक क्षेत्रमा
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७८/७९’ सार्वजनिक गरेको छ । प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी आवश्यक तथ्याङ्क सङ्कलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी प्रत्येक आर्थिक वर्षमा स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ ।

Shikhar
NIMB

आर्थिक वर्ष २०७८/७९ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूमध्ये कुल २३१ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७८/७९’ तयार पारिएको राष्ट्र बैंकले जनाएको छ ।

सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात १६ प्रतिशतले वृद्धि भई रु.२६४ अर्ब ३३ करोड कायम रहेको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.७ प्रतिशत, सञ्चिति ३१.७ प्रतिशत र कर्जाको अंश १४.६ प्रतिशत रहेको छ ।

यसैगरी, २०७९ असार मसान्तसम्ममा नेपालमा ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये, भारतबाट सबैभन्दा बढी रु.८८ अर्ब ५९ करोड र त्यसपछि क्रमशः चीनबाट रु.३३ अर्ब ४५ करोड, आयरल्याण्डबाट रु.२० अर्ब ९० करोड, सिङ्गापुरबाट रु.१६ अर्ब ७ करोड र सेन्ट किट्स एण्ड नेभिसबाट रु.१५ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६२.६ प्रतिशत औद्योगिक क्षेत्रमा र ३७.३ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्र अन्तर्गत जलविद्युत क्षेत्रमा ३२.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको छ । यसै गरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २५.६ प्रतिशत सेवा क्षेत्र अन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूमा रहेको छ ।

वैदेशिक लगानीमा सञ्चालित उत्पादनमुलक कम्पनीहरूको क्षमता उपयोग ७१.१ प्रतिशत रहेको पाइएको छ भने समग्रमा वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूको नाफाको दर करिब १४.३ प्रतिशत रहेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया