Nepal Life

काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ मा मोक्तान र २ मा आचार्यलाई कांग्रेसको टिकट, दुबै जना बौद्धिक व्यक्तित्व

NMB Bank
  • BFIS News
  • 2026 Jan 19 22:45
काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ मा मोक्तान र २ मा आचार्यलाई कांग्रेसको टिकट, दुबै जना बौद्धिक व्यक्तित्व
United Ajod

काठमाडौं। नेपाली कांग्रेसले काभ्रेपलाञ्चोकका दुईवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि उम्मेदवार टुंगो लगाएको छ। कांग्रेसले काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ बाट गुणराज मोक्तान र क्षेत्र नम्बर २ बाट मधु आचार्यलाई प्रतिनिधिसभा सदस्यका लागि टिकट प्रदान गरेको हो।

Shikhar
Nepal Life
NIMB

काभ्रे–२ बाट टिकट पाएका मधु आचार्य नेपाली कांग्रेस काभ्रे जिल्लाका पूर्व सभापति हुन्। लामो समय पत्रकारितामा सक्रिय रहँदै आएका आचार्य कांग्रेसभित्र स्वतन्त्र धारणा राख्ने नेताका रूपमा चिनिन्छन्। उनी राजनीतिज्ञ, लेखक तथा कांग्रेसभित्र परिवर्तनका पक्षधर व्यक्तिका रूपमा परिचित छन्। पछिल्लो समय विशेष महाधिवेशनमार्फत गगन थापालाई सभापति बनाउने प्रक्रियामा उनी निकट रहेर सक्रिय भएका थिए। 

यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा आचार्य एमालेका गोकुल बाँस्कोटासँग पराजित भएका थिए। काभ्रे–२ मा यसपटक कांग्रेसले केन्द्रीय सदस्यसमेत रहेका आचार्यलाई उम्मेदवार बनाएपछि प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ।

काभ्रे–१ बाट टिकट पाएका गुणराज मोक्तान बौद्धिक व्यक्तित्वका रूपमा परिचित छन्। उनी बागमती प्रदेशको नीति तथा योजना आयोगमा रहेर काम गरिसकेका छन्। सानोठिमी क्याम्पसका उप–प्राध्यापक मोक्तान एसएमसी फेडरेसन नेपालका राष्ट्रिय अध्यक्ष, नाङसाल एसोसिएसन नेपालका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्षका रूपमा समेत काम गरिसकेका छन्। हाल उनी नेपाली कांग्रेस काभ्रे जिल्ला कार्यसमितिका सचिव हुन्। शिक्षा विषयमा एमफिलसम्म अध्ययन गरेका मोक्तानलाई शिक्षाविद् तथा सामाजिक अभियन्ताका रूपमा लिइन्छ।

यसअघि प्रतिनिधिसभा प्रत्यक्षतर्फ कांग्रेस केन्द्रीय सदस्य गणेश लामा, जिल्ला सचिव गुणराज मोक्तान, नेता तीर्थ पसखल, धुलिखेल नगर सभापति विदुरबहादुर बस्नेत र रशिला खनालको नाम जिल्ला समितिबाट सिफारिस गरिएको थियो।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रेपलाञ्चोक–२ मा प्रमुख तीन दलले उम्मेदवार चयन गरिसकेका छन्। अघिल्लो निर्वाचनमा विजयी भएका एमालेका गोकुल बाँस्कोटाले यसपटक टिकट नपाएपछि एमालेले धुलिखेल नगरपालिकाका मेयरसमेत रहेका अशोक ब्याञ्जुलाई उम्मेदवार बनाएको छ। ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीतिर लागेपछि ब्याञ्जु एमालेको केन्द्रीय सदस्य बनेका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काभ्रे–२ बाट बदन भण्डारीलाई उम्मेदवार बनाएको छ। उनी एमाले र नेकपा (एकीकृत समाजवादी) हुँदै रास्वपामा प्रवेश गरेका युवा नेता हुन्। त्यस्तै नेपाली कम्युनिस्ट पार्टीले बसुन्धरा हुमागाईंलाई उम्मेदवार बनाएको छ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काभ्रे–२ बाट एमालेका गोकुल बाँस्कोटाले ४५ हजार ३ सय ४५ मत ल्याएर विजय हासिल गरेका थिए। कांग्रेसका शिवप्रसाद हुमागाईंले ३९ हजार ४ सय ८२ मत प्राप्त गरेका थिए भने रास्वपाका दिनेश हुमागाईंले १० हजार ५ सय ७३ मत पाएका थिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया