NIMB Header 2
Prabhu Mahalaxmi

घाम पावरले सार्वजनिक गर्‍यो नेपालको पहिलो सोल्युबल लिड फ्लो ब्याट्री

United Ajod
  • BFIS News
  • 2026 Sep 08 13:04
घाम पावरले सार्वजनिक गर्‍यो नेपालको पहिलो सोल्युबल लिड फ्लो ब्याट्री
IME LIFE

काठमाडौं, ७ सेप्टेम्बर २०२६। घाम पावर नेपाल प्रालिले नेपालको पहिलो सोल्युबल लिड–फ्लो ब्याट्री (Soluble Lead-Flow Battery–SLFB) सार्वजनिक गरेको छ। प्रयोग भइसकेका ब्याट्रीबाट पुनःप्राप्त लिडलाई विद्युत् भण्डारणमा प्रयोग गर्ने उद्देश्यसहित विकास भइरहेको उक्त प्रविधि नेपालमा नवीकरणीय ऊर्जाको भण्डारणका लागि नयाँ विकल्पका रूपमा प्रस्तुत गरिएको हो।

Nepal Life
NIMB

घाम पावरले सेप्टेम्बर ४ मा आयोजना गरेको विशेष प्रेस मिटमा University of Southampton का अनुसन्धानकर्ता प्रोफेसर रिचर्ड विल्सले SLFB प्रविधिको प्रत्यक्ष प्रदर्शन गरेका थिए। उनले सहभागीलाई ब्याट्रीको चार्ज तथा डिस्चार्ज प्रक्रिया, इलेक्ट्रोडमा लिड जम्मा हुने र पुनः हट्ने प्रक्रियाका साथै यसको निर्माणसम्बन्धी जानकारी दिएका थिए।

SLFB प्रविधिको मुख्य विशेषता प्रयोग भइसकेका ब्याट्रीबाट पुनःप्राप्त गरिएको लिडलाई विद्युत् भण्डारणको प्रमुख सामग्रीका रूपमा पुनःप्रयोग गर्नु हो। यसले फोहोरका रूपमा रहेको लिडलाई स्वच्छ ऊर्जा भण्डारणमा प्रयोग गर्ने अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

नेपालमा सौर्य तथा जलविद्युत् उत्पादन क्षमता विस्तार हुँदै गएसँगै उत्पादित विद्युत् प्रभावकारी रूपमा भण्डारण गर्ने प्रविधिको आवश्यकता पनि बढिरहेको छ। यस्तो अवस्थामा SLFB प्रविधिले नवीकरणीय ऊर्जाको प्रणालीमा एकीकरण तथा लामो अवधिसम्म स्थिर रूपमा ऊर्जा भण्डारण गर्न सहयोग पुर्‍याउन सक्ने अपेक्षा गरिएको छ।

प्रदर्शनका क्रममा प्रोफेसर विल्सले ब्याट्रीको कार्यप्रणाली प्रत्यक्ष रूपमा देखाउँदै यसको प्राविधिक पक्षबारे जानकारी दिएका थिए। कार्यक्रममा सहभागी पत्रकार, ऊर्जा क्षेत्रका प्रतिनिधि तथा स्वच्छ ऊर्जा क्षेत्रमा रुचि राख्ने व्यक्तिले प्रविधिको नजिकबाट अवलोकन गर्नुका साथै अनुसन्धानकर्तासँग प्रत्यक्ष प्रश्नोत्तरसमेत गरेका थिए।

SLFB प्रविधिको विकास घाम पावर, University of Southampton, SOLead Energy र Swanbartonबीचको सहकार्यमा भइरहेको छ। अन्तर्राष्ट्रिय अनुसन्धान तथा प्राविधिक विशेषज्ञता र नेपालको स्थानीय आवश्यकता तथा ज्ञानलाई संयोजन गर्दै प्रविधिलाई नेपालको परिस्थितिअनुकूल बनाउने प्रयास भइरहेको कम्पनीले जनाएको छ।

नेपालले स्वच्छ ऊर्जा उत्पादन र प्रयोग विस्तार गर्ने लक्ष्य अघि बढाइरहेको अवस्थामा पुनःप्रयोग गरिएको सामग्रीमा आधारित ऊर्जा भण्डारण प्रविधिले थप सम्भावना सिर्जना गर्न सक्ने देखिन्छ। विशेषगरी सौर्य तथा जलविद्युत्बाट उत्पादित अतिरिक्त ऊर्जा भण्डारण गरी आवश्यक समयमा प्रयोग गर्न सकिने प्रविधिको विकासले नवीकरणीय ऊर्जा प्रणालीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

४ हजारभन्दा बढी आयोजनामा सौर्य क्षमता स्थापना

सन् २०१० मा स्थापना भएको घाम पावर नेपाल प्रालि सौर्य ऊर्जा क्षेत्रमा कार्यरत कम्पनी हो। कम्पनीका अनुसार हालसम्म उसले ४ हजारभन्दा बढी आयोजनामार्फत १८ मेगावाट सौर्य ऊर्जा क्षमता स्थापना गरेको छ।

कम्पनीले आफ्ना आयोजनामार्फत ८८ हजार ६३६ टनभन्दा बढी कार्बन डाइअक्साइड उत्सर्जन घटाएको तथा ३३ हजार ७३ किलोलीटरभन्दा बढी डिजेल विस्थापन गरेको जनाएको छ। साथै, कम्पनीका ऊर्जा परियोजनाले ६० हजारभन्दा बढी मानिसको जीवनमा सकारात्मक प्रभाव पारेको दाबी गरिएको छ।

घाम पावरले सौर्य प्रविधिलाई स्मार्ट डाटा प्रणालीसँग एकीकृत गर्दै उद्योग, ग्रामीण समुदाय तथा कृषि क्षेत्रलाई स्वच्छ ऊर्जा उपलब्ध गराउने क्षेत्रमा काम गर्दै आएको जनाएको छ। कम्पनीले जीवाश्म इन्धनको विकल्पका रूपमा भरपर्दो स्वच्छ ऊर्जा विस्तारलाई आफ्नो प्राथमिकतामा राखेको छ।

SLFB प्रविधिको विकास तथा प्रदर्शनले नेपालमा नवीकरणीय ऊर्जा उत्पादनसँगै ऊर्जा भण्डारण प्रविधिको विकास र पुनःप्रयोग हुने सामग्रीको उपयोगलाई समेत नयाँ बहसमा ल्याएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया