सहज अवस्थामा बीमा गरियो भने जटिल परिस्थितिमा कसैसँग भिख मागेर हिँड्नु पर्दैन, पेशागत मर्यादा बुझेकी गेल्मु लामाको सफलताको कथा
- गोविन्द राज जोशी
- 2024 Jun 25 05:34
काठमाडौं । विश्वमै जीवन बीमा गराउने कामलाई एकदमै जटिल मानिन्छ । नेपालमा पनि अभिकर्ता पेशा अंगाल्छु भनेर लाइसेन्स लिनेको संख्या धेरै छ तर सफलता पाउने निकै कम छन् ।
केहि वर्ष अगाडिसम्म नेपाली परिवेशमा जीवन बीमा नबुझेका मानिसको संख्या धेरै थियो । तर अहिले जीवन बीमाको विषयमा नबुझ्ने कमै होलान् । अहिलेको अवस्थामा निश्चित आम्दानी हुनेले लगभग जीवन बीमा गरिसकेका हुन्छन् । कुनै समयमा अभिकर्ताको जोडबलमा थोरै बीमाङ्कको बीमा गर्नेहरुमा बीमाको महत्व बुझ्दै जादा 'हैन मैले कम्तिमा पनि यतिको बीमा गर्नु पर्छ है' भन्ने ज्ञान आउन थालेको छ ।
यिनै परिदृश्यलाई नजिकबाट नियालेकी आइएमई लाइफ इन्स्योरेन्स कम्पनीकी बरिष्ठ एजेन्सी म्यानेजर गेल्मु लामासँग बीमा गर्नका लागि जोडिने अधिकांश व्यक्तिहरु आफ्नो क्षमता अनुसारको बीमा गराउनैका लागि राजी हुन्छन् । बजारमा हजारौको संख्यामा बीमा अभिकर्ताहरु बीमाकै लागि सक्रिय छन् । यस्तो अवस्थामा बीमा गर्नु पर्यो भनेर कसैले पनि मान्नेवाला छैन । यसका लागि अभिकर्तामा कन्भिन्स गर्ने क्षमता हुनुपर्छ । यस्तो क्षमता अभिबृद्धिका लागि उच्च स्तरको तालिमको आवश्यकता पर्छ ।

सोलुखुम्बुमा जन्मिएर हाल काठमाडौंमै बस्दै आएकी गेल्मु लामाको न्युरोडमा मोबाइल पसल छ । विगत १५/१६ वर्षदेखि चीनबाट होलसेलमा मोबाइल ल्याएर बिक्री गर्ने व्यवसायमा सक्रिय लामाको सम्बन्ध प्रायः ठुलाठुला व्यापारीसँग हुन्छ । आजको दिनमा व्यापार व्यवसायमा लाग्ने कुनै पनि व्यक्तिले बीमा नगर्ने कुरै आउँदैन । हिजोका दिनमा कुनै अभिकर्ताको करकापमा थोरैथोरै भए पनि बीमा गरिदिउन त भनेर बीमा गरेकाहरुले अहिले आएर मैले त मेरो क्षमता अनुसारको बीमा गराउनु पर्ने रहेछ भन्ने बुझिरहेका छन् ।
यस्तो कुराहरु बुझाउनका लागि सबैभन्दा पहिला अभिकर्ताहरु नै सक्षम हुनुपर्छ । स्नातक अध्ययन गर्दागर्दै जापान गएकी लामाले करिब २ वर्ष काम गरेर नेपाल फर्किइन् । देश-विदेश देखेकी लामालाई पहिला देखि नै बीमा प्रति धेरै रुची हुन्थ्यो । उनी बीमा भन्ने वित्तिकै बुझ्ने पढ्ने गर्थिन् । यहि बानी र रुचीले उनलाई आजभन्दा डेढ वर्ष अगाडि आइएमई लाइफको महाराजगञ्ज शाखासम्म डोर्यायो।

नेपालमा प्राय: अभिकर्ताहरु कसै न कसैको अनुरोधमा बीमा अभिकर्ता बन्छन् । तर गेल्मु लामा आफैं आइएमई लाइफको शाखा कार्यालयमा गएर अभिकर्ता कोड निकालेर अभिकर्ताको काममा होमिएकी हुन् । बीमा गर्नुपर्छ भन्ने सोच बोकेकी उनलाई अभिकर्ताको विषयमा भने जानकारी थिएन । जवकी उनले आफ्नो छोराको आजभन्दा ७ वर्ष अगाडि आइएमई लाइफमै चिनजानको व्यक्तिमार्फत बीमा गराएकी थिइन् । उनले अहिलेसम्म ७ वटा किस्ता पनि भुक्तानी गरिसकिन् । यसबाट पनि थाहा हुन्छ उनी बीमाप्रति कति सजग थिइन् ।
यसरी आइएमई लाइफबाट लाइसेन्स लिएको ६ महिनामै उनले २१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरिन् । सन् २०२५ का लागि एमडिआरटी क्लिफायर्ड भइसकेकी लामाले पछिल्लो ६ महिनामै ५१ लाख भन्दा धेरै प्रथम बीमा शुल्क आर्जन गरिसकिन् । यहि हिसावले अगाडि बढियो भने उनको आइएमई लाइफबाट नेपाल टप तथा सिओटी टिओटीसम्मको टार्गेट पूरा गर्ने लक्ष्यका साथ अगाडि बढेकी छिन् । उनी भन्छिन् ‘लक्ष्य लिँदा त ठूलै लिनु पर्छ । लक्ष्य अनुसार सिओटी टिओटी बन्न नसकिए पनि त्यस हाराहारी पुग्न सकियो भने पनि मेरा लागि राम्रै उपलब्धि हुनेछ।’
परिवारमा श्रीमान र एक छोरा छन् । व्यापार व्यवसायमा व्यस्तताका बाबजुद पनि उनको श्रीमानले उनलाई सक्दो साथ सहयोग गर्दै आइरहेका छन् । यस पेशामा लागेसँगै उनको पसलमा भन्दा धेरै बीमितलाई कन्भिन्स गर्नमै समयमै बित्छ । त्यसमा पनि कोभिडपछि व्यापार व्यवसायमा आएको सुस्तताको राम्रो विकल्पका रुपमा उनले अभिकर्ता पेशालाई बनाएकी छन्।

उनको छोराको बीमा गरिदिने नजिकका व्यक्तिले उनलाई अभिकर्ताको विषयमा अलिकति पनि जानकारी दिएको भए आफूले यस क्षेत्रमा धेरै गरिसक्ने उनी बताउँछिन् । अहिलेको आर्थिक मन्दीमा पनि यति राम्रो काम गर्न सकिरहेकोमा उनी दङ्ग छिन्।
बीमालाई बचत र सुरुक्षाका दृष्टिकोणबाट बुझेकी लामालाई जीवन बीमा आफूले मात्रै होइन अरुको परिवारलाई पनि गराउनु पर्छ भन्ने लाग्यो । सोहि क्रममा अभिकर्ताको लाइसेन्स लिइन् र आफूले चिनेजानेका हरेक व्यक्तिलाई बीमाको बारेमा बुझाउन थालिन् । उनी कहिल्यै पनि सुरुमै बीमा गराउनु पर्यो भनेर उपस्थित हुँदिनन्।
उनको पहिलो उद्देश्य हरेक मानिसलाई बीमाको बारेमा चेतना जगाउनु हो । जबसम्म मानिसहरुले बीमा चाहिन्छ भनेर बुझ्दैनन् तबसम्म बीमा गरानुस् भनेर केहि अर्थ नहुने उनको धारणा छ।

यसका लागि विभिन्न उदाहरण दिएर बीमाको बारेमा बुझाउनु पर्ने उनी बताउँछिन् । आज राम्रो अवस्थामा बीमा गरियो भने भोलिका दिनमा जस्तासुकै जटिल परिस्थितिमा पनि कसैसँग भिख मागेर हिँड्नु नपर्ने भन्दै बीमाको फाइदा बुझाउँछिन्।
उनी आफ्नो कन्भिन्सिङ पावर बढाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा-सम्मेलनमा समेत पुगिसकेकी छिन् । केहि समयअगाडि उनी तालिमकै लागि बैंकक गएर आइन् । उनले यसभन्दा अगाडि पोखरामा सम्पन्न हिमान्सु जोशीको तालिम, प्रज्ञा प्रतिष्ठानमा सम्पन्न सोनु शर्माको मोटिभेशनल कार्यक्रममा समेत सहभागिता जनाइन्। कार्यालयमै बस्दा पनि उनी बीमासम्बन्धि कुनै न कुनै पुस्तक अध्ययन गर्ने, कम्पनीका हरेक पोलिसीका विषयमा अध्ययन गर्ने र जान्ने बुझ्ने काम गरिरहेकी हुन्छिन् । जबसम्म आफूमा ज्ञान हुँदैन तबसम्म बीमित समक्ष कन्फिडेन्सका साथ भन्न नसकिने उनको अनुभव छ ।
उनलाई विगतको सौहार्द सम्बन्धले अहिले अभिकर्ता पेशामा जम्न धेरै मद्दत पुर्याएको छ । उनका साथि सर्कलमा बीमा नगर्ने धेरै कम छन् । बीमा गरिसकेका साथिभाइले पनि बीमा पोलिसी किनिसकेका छन् । उनको अनुभवमा बीमा नगरेका भन्दा बीमा गरिसकेका मानिसलाई बुझाउन धेरै सहज हुने गरेको छ । हिजोका दिनमा सानो बीमाङ्कमा बीमा गरेकाहरुले अझ ठूलो बीमाङ्कको बीमा गराउन रुचाउँछन्।

व्यापार व्यवसायमा संलग्न रहेका मानिसहरुलाई दुई-चार लाख खासै ठूलो रकम होइन । यसरी बीमा गरिसकेकाले अर्को दुई-चारवटा बीमा पोलिसी थप्न सहजै मान्ने गरेको उनको अनुभव छ । नेपालमा अझै पनि धेरै दम्पत्तीहरु आफ्नो भन्दा पनि बालबच्चाको बीमा गराउन बढी राजी हुने गरेको उनी बताउँछिन् ।
नेपालीहरुमा आफूले जति पनि काम गरिराखिएको छ त्यो सबै बालबच्चाकै लागि हो भन्ने बुझाइ छ । तर बालबालिकाको बीमा गर्नु भन्दा अभिभावकको बीमा गर्दा धेरै सुरक्षित रहने उनको सुझाव छ । परिवारमा प्रमुख आम्दानी गर्नेको बीमा गर्दा सबैभन्दा धेरै जोखिम बहन हुन्छ । उनी भनिन्छिन्, ‘जसको परिवारमा कम दायित्व वा छदै छैन भने उहाँहरुको बीमा गराउदा राम्रो हुँदैन ।’
बीमा अभिकर्ता भइसकेपछि बीमाप्रति आम मानिसको सकारात्मक र नकारात्मक दुवै किसिमका धारणाहरु बुझ्नु पर्ने र सोहि अनुसार आफूले कन्भिन्स गर्न सकियो भने मात्रै सफलता हात पर्ने उनी बताउँछिन्। तर, आधाउधि मात्रै ज्ञान बोकेर हिँडियो भने आफूभन्दा धेरै पढेलेखेका बुझेका मानिसहरुसँग डिफेन्स गर्न गाह्रो पर्ने उनको अनुभव छ।

पछिल्ला वर्षमा आफ्नो सम्पूर्ण समय बीमामै समर्पित गर्दै आएकी लामाले हरेक क्षेत्रका व्यत्तित्वसँग सम्बन्ध बनाउने र बीमा गराउने गरेकी छिन् । नेपालबाट वैदेशिक रोजगार तथा अध्ययनका लागि बाहिरिनेको संख्या धेरै रहेको हुँदा अबको ध्यान त्यसतर्फका मानिसमा पनि हुनुपर्ने उनी बताउँछिन्। यसका लागि उनी आफैं साँझ बेलुकाको समय विदेशमा रहेका चिनजानका व्यक्तिलाई सम्पर्क गर्न जुट्छिन्। अहिले बीमाको सबैभन्दा धेरै आवश्यकता वैदेशिक रोजगारमा रहेका मानिसहरुका लागि रहेको उनको विश्लेषण छ ।
विदेशी भूमिमा काम गरेर १२ महिनाको तलबबाट एक महिनामात्रै बीमामा हाल्न लगाउन सकियो भने पनि उनीहरुले ठूलै बीमा पोलिसी खरिद गर्न सक्छन् । जुन रकम पूर्णरुपमा बचत हुनुका साथै बीमा पोलिसी परिपक्व भएपछि राम्रो प्रतिफल पाउन सकिन्छ। उनले थपिन्, ‘यदि उहाँहरुले वर्षको एक महिना पनि बचत गर्न सक्नुभएन भने उहाँहरुले कमाएको कुनै अर्थ रहँदैन। अर्कोतर्फ एकपटक बीमा गरिसकेपछि अर्को वर्ष पनि बीमा शुल्क बुझाउनु पर्छ यसले उहाँहरुको फोर्स सेभिङ हुन्छ ।’
यति भन्दैगर्दा बीमा गराउने भने त्यति जसलो छैन । एउटै पोलिसीलाई दुई-चार महिनासम्म फलोअप गर्छिन्। भन्छिन्, ‘म उहाँहरुलाई निरन्तर सम्पर्क गर्छु। पहिलो महिना मान्नु भएन भने अर्को महिना, त्यसपछि पनि मान्नुभएन भने ३/४ महिनामा त अवश्य पनि उहाँहरुले बीमा गर्नुहुन्छ।’

उनको अनुभवमा १० जना सँग कुरा गर्यो भने तीनजनाको मात्रै बीमा पोलिसी आउँछ त्यसैले उनको अहिलेको काम भनेको धेरै भन्दा धेरै सँग बीमाको विषयमा कुरा गर्ने र बीमाको बारेमा बुझाउने हो । उनले सुरुमा जो सुकै सँग पनि बीमाको विषयमा कुरा गर्छिन् । दोस्रो पटक कुरा गर्दा फाराम भराउँछिन् । तेस्रो पटकमा आवश्यक कागजपत्र जुटाउँछिन्। अनि, चौथो पटकमा मात्रै बल्ल बीमा शुल्क बुझ्छिन् । यसरी सामान्यत: एउटा पोलिसी बिक्री गर्दा पनि ४ पटकसम्म भेट्नु पर्ने उनको भनाइ छ ।
उनको अर्को अनुभवमा कम्तिमा पनि हप्ता दिनमा फलोअप गर्नुपर्छ। यदि हप्तादिन भरिमा फलोअप गरिएन भने उनीहरुले आफूले भनेको कुरा बिर्सिसकेका हुन्छन् । यसले गर्दा हरेक हप्ता बीमितको सम्पर्कमा रहेर कुराकानी गर्नुपर्ने उनको भनाइ छ।
बीमाको विषयमा कन्भिन्स गराइसके पछि भने बीमा गराउन चुक्न नहुने, तत्काल बीमा गराइहाल्नु पर्ने नत्र बीमित अर्को अभिकर्ता समक्ष पुग्ने र आफ्नो हातबाट फुत्कन सक्ने उनको विश्लेषण छ । बीमाको बजारलाई धेरै नजिकबाट बुझेकी लामा आफूलाई सक्षम बनाउन लागिपरेकी छिन् । उनी आफूलाई भेट्नका लागि दिएको समय भन्दा १०/१५ मिनेट अगाडि नै पुगिसक्छिन् । व्यस्त ग्राहकहरुलाई पनि छोटो समयमा आफ्ना कुराहरु भनेर बुझाउने प्रयास गर्छिन् । उनले आगामी दिनमा पनि यस्तै सक्रियतापूर्वक अभिकर्ता पेशालाई समय दिने योजना बनाएकी छिन्।
_1719273872.jpeg)
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया