NIMB Header 2
Nepal Life

नेपालको इतिहासमै पहिलो पटक ८२० रुपैयाँको आइपिओ ३०० रुपैयाँमा कारोबार खुल्ने, प्राथमिक बजारको लुटतन्त्र

National Life
  • BFIS News
  • 2026 Feb 13 19:22
नेपालको इतिहासमै पहिलो पटक ८२० रुपैयाँको आइपिओ ३०० रुपैयाँमा कारोबार खुल्ने, प्राथमिक बजारको लुटतन्त्र
Sanima Reliance

काठमाडौं। नेपालको इतिहासकै सर्वाधिक महँगो आइपिओ निष्काशन गरेको रिलायन्स स्पिनिङ मिल्स का शेयरधनीले सूचिकरणको पहिलो दिनमै नोक्सानीमा शेयर बिक्री गर्नुपर्ने अवस्था सिर्जना भएको छ। आज दोस्रो बजारमा सूचिकृत भएको कम्पनीको पहिलो कारोबारका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज तोकेको छ।

Shikhar
NIMB

जबकि कम्पनीले सर्वसाधारणका लागि प्रति कित्ता ८२०.८० रुपैयाँमा आइपिओ बिक्री गरेको थियो। प्रिमियमसहित तय गरिएको उक्त मूल्यका आधारमा अधिकतम ३०० रुपैयाँमै पहिलो ‘म्याचिङ’ कारोबार भए पनि लगातार ११ दिनसम्म सकारात्मक सर्किट लागेपछि मात्र आइपिओ मूल्य नजिक पुग्ने देखिन्छ। त्यसअघि लगानीकर्ताले शेयर बिक्री गर्दा उल्लेख्य घाटा बेहोर्नुपर्नेछ।

नियामक व्यवस्थामाथि प्रश्न

बजार विश्लेषकहरूले यस अवस्थालाई नियामक निकायको कमजोरीका रूपमा टिप्पणी गरेका छन्। बुक विल्डिङ विधिबाट प्रिमियम मूल्य निर्धारण गर्न दिँदा विद्यमान कानुनी व्यवस्था संशोधन नगरिनु ठूलो त्रुटि भएको उनीहरूको भनाइ छ।

नेपाल धितोपत्र बोर्ड ले प्रिमियम स्वीकृत गर्दा ओपनिङ रेञ्जसम्बन्धी नियम संशोधन नगरेको विषय विवादको केन्द्रमा आएको छ। २०६७ सालमा जारी कानुनी व्यवस्था संशोधन नगरी पछिल्ला वर्षमा विकास भएका बुक विल्डिङ अभ्यास लागू गर्न खोज्दा पहिलो कारोबारमै जटिलता उत्पन्न भएको बजार जानकारहरूको तर्क छ।

यदि अब बोर्ड वा नेप्सेले ओपनिङ रेञ्जसम्बन्धी व्यवस्था संशोधन गरेमा पनि पूर्वाग्रहपूर्ण निर्णय भएको आरोप लाग्न सक्ने सम्भावना रहेको बताइन्छ। यसले कम्पनीको पहिलो कारोबार झन् पेचिलो बन्ने देखिएको छ।

सुरुवातदेखि नै विवाद

बुक विल्डिङ विधिबाट प्रिमियम निर्धारण गर्ने निर्णयकै कारण कम्पनी सुरुवातदेखि विवादमा थियो। लगानीकर्ताले प्रिमियम मूल्य निर्धारणविरुद्ध अदालतसम्म गुहार मागेका थिए। उच्च अदालत पाटनमा दायर रिटमाथि सुनुवाइ गर्दै अदालतले निष्काशन प्रक्रियालाई बाटो खोलिदिएको थियो। तर पनि कम्पनीको वित्तीय अवस्था, प्रिमियम मूल्य र नियामकीय प्रक्रियालाई लिएर लगानीकर्तामा आशंका कायमै छ।

पूँजी संरचना र स्वामित्व

आइपिओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ। कुल १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको आइपिओ जारी गरिँदैछ, जसअनुसार १९ लाख २६ हजार ६०० कित्ता शेयर निष्काशन हुनेछन्। सर्वसाधारणबाट मात्र १ अर्ब ३८ करोड ८६ लाख ९३ हजार २८० रुपैयाँ प्रिमियम संकलन गरिनेछ।

आइपिओपछि स्वामित्व संरचना अनुसार शशिकान्त अग्रवाल को ४४.९३ प्रतिशत, पवल कुमार गोल्याण को २१.९५ प्रतिशत र अक्ष्य गोल्याण को २२.९८ प्रतिशत हिस्सा कायम रहनेछ। अन्यको स्वामित्व न्यून हुनेछ।

जारी गरिएको शेयरमध्ये ४० प्रतिशत संस्थागत लगानीकर्तालाई र ६० प्रतिशत सर्वसाधारणलाई छुट्याइएको छ। सर्वसाधारणतर्फ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५७ हजार ७९८ कित्ता, कर्मचारीका लागि सोही बराबर र बाँकी ९ लाख २४ हजार ७६८ कित्ता सर्वसाधारणलाई छुट्याइएको छ। न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने र बाँडफाँट पनि सोही आधारमा गरिने व्यवस्था छ।

सप्लाइ सीमित गरेर मूल्य उकास्ने रणनीति

कम्पनीको पछिल्लो लेखापरीक्षणअनुसार प्रतिशेयर आम्दानी २.०८ रुपैयाँ मात्र रहेको छ। तर जगेडा कोषमा ५ अर्ब ३२ करोड रुपैयाँ रहेको र आइपिओपश्चात उक्त कोष अझ बढ्ने देखिन्छ।

संस्थापक शेयर तीन वर्ष ‘लकिङ पिरियड’मा रहने भएकाले दोस्रो बजारमा सीमित १९ लाख २६ हजार ६०० कित्ता मात्र कारोबारयोग्य हुनेछन्। कम सप्लाइ देखाएर मूल्य उकास्ने रणनीति अपनाइएको विश्लेषकहरूको आकलन छ।

रेटिङ एजेन्सीका अनुसार कम्पनीले ९ अर्ब ३० करोड रुपैयाँ कर्जाको रेटिङ गराएको छ, जसमा ३ अर्ब ४५ करोड दीर्घकालीन र २ अर्ब ३७ करोड अल्पकालीन बैंकिङ कर्जा समावेश छन्। यसले कम्पनीको वित्तीय अवस्था मजबुत नरहेको संकेत गर्ने विश्लेषकहरू बताउँछन्।

लगानीकर्ताको आशंका कायमै

बुक विल्डिङ विधिका नाममा कमजोर वित्तीय आधार भएको कम्पनीले सर्वसाधारणबाट अर्बौं रुपैयाँ उठाउने अवस्थालाई नियामकले वैधानिकता दिएको भन्दै लगानीकर्ता संघ–संगठनहरूले आलोचना गर्दै आएका छन्।

अदालतको आदेशपछि निष्काशन प्रक्रिया अघि बढे पनि पहिलो कारोबारकै दिन देखिएको मूल्य अन्तरले लगानीकर्तामा थप अन्योल र अविश्वास बढाएको छ। अब कम्पनीको शेयर मूल्य बजारमा कसरी समायोजन हुन्छ भन्ने विषय नै सबैका लागि चासोको केन्द्र बनेको छ।

यो पनि पढ्नुहोस्

रिलायन्स स्पिनिङ मिल्सको पहिलो शेयर कारोबारमै समस्या हुने, रु. ८२०.८० किनेर रु. ५३८.३५ मा कस्ले बेच्ने!

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार