‘नेपालवाद’को नारासहित वैकल्पिक राजनीतिक यात्रामा डा. जयवन्त विक्रम शाह
- BFIS News
- 2026 Feb 26 22:26
काठमाडौं। कक्षा ६ देखि नै राजनीतिक चेतका साथ अघि बढेका डा. जयवन्त विक्रम शाहको राजनीतिक यात्रा संघर्ष र वैचारिक खोजले भरिएको छ। अमरसिँह मा.वि.रामघाट पाेखरा अध्ययनरत रहँदा आफूभन्दा ठूला दाजुदिदीसँग आन्दोलनमा सहभागी भएको स्मृति आज पनि उनको मानसपटलमा ताजै छ। कक्षा १० पुग्दासम्म उनले आफूलाई प्रगतिशील विचारधारामा ढालिसकेका थिए।
एसएलसीपछि काठमाडौं आएका शाह त्यतिबेला डा. प्रकाशशरण महत, डा. सुवोध पोखरेल र डा. बसन्त पन्तसँग सहपाठी थिए। पञ्चायत सरकारले गरेका गतिविधिको विरोध गर्दा उनी पक्राउ समेत परेका थिए। २०३६ सालमा उनले पहिलोपटक नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। त्यतिबेला उक्त पार्टीमा सिपी गजुरेल र मोहन वैद्यलगायतका नेताहरू सक्रिय थिए।
मसाल एकता केन्द्र हुँदै २०५२ सालमा उनी नेकपा माओवादीबाट सुरु भएको सशस्त्र द्वन्द्वमा सहभागी भए। उनले १० वर्ष लामो भूमिगत जीवन बिताए। तर माओवादीले सुरु गरेको युद्ध घोषित उद्देश्यअनुसार अघि नबढेको निष्कर्षसहित २०६५ सालमा उनले पार्टीबाट सामूहिक राजीनामा दिएका थिए।
शाह भन्छन्, “पार्टीमा वैचारिक बहस हराउँदै गयो। हामीले नेपाली कांग्रेस र नेकपा एमालेका जुन कार्यशैलीको विरोध गरेका थियौं, उस्तै प्रवृत्ति पार्टीभित्र देखिन थालेपछि हामी बस्न सकेनौं। त्यसैले सात जनाले सामूहिक राजीनामा दिएर निष्क्रिय भयौं।” पार्टीले सन्तोषजनक काम गर्न नसकेको उनको बुझाइ छ।
त्यसपछि उनले नयाँ विचार र सिद्धान्तको खोजीमा लामो अध्ययन सुरु गरे। “नेपालका प्रमुख स्थानहरू र विश्वका विभिन्न मुलुकका अभ्यास अध्ययन गर्यौं,” शाहले भने, “त्यसपछि नेपालवाद, नेपालीतन्त्र र नेपाली राष्ट्रवादलाई केन्द्रमा राख्दै राष्ट्रिय मुक्ति आन्दोलन नेपालको स्थापना गर्यौं।”
राष्ट्रिय मुक्ति आन्दोलन नेपाल
करिब आठ वर्षको अध्ययनपछि स्थापित उक्त दललाई शाह मौलिक राजनीतिक शक्तिको रूपमा प्रस्तुत गर्छन्। २०७० सालदेखि निर्वाचनमा भाग लिँदै आएको यस दलले अहिलेसम्म उल्लेखनीय सफलता भने हात पार्न सकेको छैन।
२०७० सालको संविधानसभा निर्वाचनमा सहभागी भएको दलले प्रत्यक्षतर्फ १६७ मत र समानुपातिकतर्फ ५,२१६ मत प्राप्त गरेको थियो। सो निर्वाचनमा पार्टीको चुनाव चिन्ह ‘पिञ्जडा’ रहेको थियो।
हाल पार्टीका अध्यक्ष जयन्त्रविक्रम शाह हुन् भने केन्द्रीय कार्यालय काठमाडौंको स्वयम्भूमा रहेको छ। करिब ५ हजारभन्दा बढी सदस्य रहेको दाबी गरिएको यो दल २०६४ सालदेखि वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता महसुस गर्दै सक्रिय राजनीतिमा संलग्न हुँदै आएको जनाएको छ।
यस वर्ष ३४ जिल्लामा उम्मेदवार उठाएको दलका अध्यक्ष शाहले अत्यधिक मत प्राप्त गर्ने दाबी गरेका छन्। एमसीसी सम्झौताविरुद्ध सशक्त रूपमा आवाज उठाएको दाबी गर्ने उक्त दलले आफूलाई राष्ट्रिय स्वाधीनता र वैकल्पिक राजनीतिक धारको पक्षधर शक्तिका रूपमा प्रस्तुत गर्दै आएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)







.jpg)









प्रतिक्रिया