बेनी हाइड्रोपावरको आईपीओ चैत १ देखि खुल्दै, प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता
- BFIS News
- 2026 Feb 27 11:08
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड ले आगामी चैत १ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको जनाएको छ।
कम्पनीले जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको थियो। जसमध्ये १० करोड ४० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १० लाख ४० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
यसअनुसार ५ लाख २० हजार कित्ता शेयर आयोजनाको अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. २, ३ र ४ का स्थायी बासिन्दालाई बाँडफाँट गरिनेछ। त्यस्तै, ३ लाख १२ हजार कित्ता वडा नं. ५, ६, ७ र ११ का स्थायी बासिन्दालाई तथा २ लाख ८ हजार कित्ता शेयर सोलुखुम्बु जिल्लाका अन्य क्षेत्रका स्थायी बासिन्दालाई वितरण गरिने कम्पनीले जनाएको छ।
त्यसैगरी, सर्वसाधारण समूहका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात् १ करोड ५ लाख रुपैयाँ बराबरको १ लाख ४ हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिनेछ। यसका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीहरू आवेदन दिन सक्नेछन्।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन छिटोमा चैत १५ गते र ढिलोमा चैत ३० गते बन्द हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने छिटोमा चैत ५ गते र ढिलोमा चैत १५ गते निष्काशन बन्द हुने जनाइएको छ।
आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा इक्रा नेपाल ले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरिरहेको १९.८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड ५१ लाख ७५ हजार २७ रुपैयाँ २० पैसा रहेको छ। प्रतिमेगावाट लागत १९ करोड ४७ लाख ५ हजार ८०९ रुपैयाँ ४५ पैसा रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २४ वर्ष बाँकी रहेको छ।
यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ५.७८ वर्ष रहेको छ भने डिस्काउण्ट आधारमा लगानी फिर्ता अवधि ८.१५ वर्ष रहेको कम्पनीले जनाएको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। साथै एनएमबि बैंकको सल्लेशी शाखा, लक्ष्मी सनराइज बैंकको सल्लेरी शाखा, ग्लोबल आइएमई बैंकको सोलुखुम्बु शाखा तथा प्राइम कमर्सियल बैंकको नेचा सल्यान शाखाबाट पनि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाले आवेदन फाराम प्राप्त गर्न २ रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखा कार्यालयमार्फत सि–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्। साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड द्वारा सञ्चालन गरिएको ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरेर समेत आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)








.jpeg)








प्रतिक्रिया