पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
- BFIS News
- 2026 Feb 27 11:17
काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेड ले फागुन १२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज (फागुन १५ गते) अन्तिम दिन रहेको छ। सर्वसाधारण लगानीकर्ताहरुले आज बैंकिङ समयभित्र आवेदन दिइसक्नुपर्नेछ।
कम्पनीले यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरी बाँडफाँट सम्पन्न गरिसकेको छ। सो बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गरिएको हो।
कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १८ लाख ७५ हजार कित्ता शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र ५ लाख ६२ हजार ५०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्याइएको थियो। त्यस्तै, २ लाख ८१ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि तथा २ लाख ८१ हजार २५० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ।
अब बाँकी रहेको ४५ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४५ लाख कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरिएको हो।
उक्त आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल ले कम्पनीलाई ‘आईआरएन डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ। यस रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।
कम्पनीका अनुसार यसको नेट प्रिजेन्ट भ्यालु १२ अर्ब ९९ करोड ८७ लाख रुपैयाँ रहेको छ भने इन्टरनल रेट अफ रिटर्न १३.७८५ प्रतिशत रहेको छ। साधारण लगानी फिर्ता हुने अवधि ६ वर्ष ८ महिना रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ९ वर्ष १२ महिना रहेको कम्पनीले जनाएको छ।
कम्पनीको उद्योग क्षेत्रफल १० बिघा १३ कठ्ठा १२ धुरमा फैलिएको छ भने खानी क्षेत्रको खुला क्षेत्रफल १७२ रोपनी ११ आना ३ पैसा १ दाम रहेको छ। कम्पनीले २०७६ वैशाखदेखि क्लिंकर र २०७७ वैशाखदेखि सिमेन्ट उत्पादन गर्दै आएको छ। हाल कम्पनीको दैनिक क्लिंकर उत्पादन क्षमता १ हजार ८०० मेट्रिक टन तथा सिमेन्ट उत्पादन क्षमता २ हजार २०० मेट्रिक टन रहेको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड बाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड द्वारा निर्माण गरिएको ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी समेत आवेदन दिन सकिने व्यवस्था रहेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)








.jpeg)








प्रतिक्रिया